Rumpum Advertisement

१८ वर्षपछि बार्सिलोनाको खराब सुरुआत, मेस्सी पनि गोल गर्न संघर्षरत

१८ वर्षपछि बार्सिलोनाको खराब सुरुआत, मेस्सी पनि गोल गर्न संघर्षरत

विराटनगर, १६ कात्तिक । बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा माथि उक्लन संघर्षरत रहेको छ । डच प्रशिक्षक रोनाल्ड कोइम्यान नेतृत्त्वमा रहेको बार्सिलोना हाल अंक तालिकाकाे १२औं स्थानमा छ ।

शनिबार राति अल्भेससँग १–१ गोलको बराबरीमा रोकिएको उसले ६ खेलबाट मात्र ८ अंक जोडेको छ । अल्भेसको मैदानमा एन्टोइन ग्रिजम्यानले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको थियो ।

३१औं मिनेटमा लुइस रोजाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएको अवस्थामा ग्रिजम्यानले ६३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सो बराबरीसँगै बार्सिलोना र अल्भेसले १–१ अंक बाँडे ।

पछिल्लो १८ वर्षयता ला लिगामा बार्सिलोनाले पुनः खराब सुरुआत गरेको हो । २००२–३ को सिजनमा अर्का डच प्रशिक्षक लुइस भान गालको नेतृत्त्वमा यस्तै प्रदर्शन गरेको थियो ।

बार्सिलोनाको मात्र नभएर कप्तान लियोनल मेस्सीको पनि यो खराब सुरुआत हो । मैदानमा ८७७ मिनेट रहँदा मेस्सीले गोल गर्न सकेका छैनन् । मेस्सीले पछिल्लोपटक च्याम्पियन्स लिगअन्तर्गत अगस्टमा नापोलीविरुद्ध गोल गरेका थिए ।

तथापि, उनले पेनाल्टीमा भने तीन गोल गरिसकेका छन् ।

बार्सिलोना साविक विजेता रियल मड्रिडभन्दा ८ अंकले पछि परेको छ । उसले ६ मध्ये २ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा पराजय भाेगेकाे छ ।

रियलले बार्सिलोनाभन्दा एक खेल बढी खेलेकाे छ । पाँच खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहाेरेकाे रियल १६ अंकसहित शीर्ष स्थानमा छ ।