Rumpum Advertisement

यी तीन चिजलाई दैनिक सफा गर्दा बिरामी हुनबाट बच्न सकिन्छ

यी तीन चिजलाई दैनिक सफा गर्दा बिरामी हुनबाट बच्न सकिन्छ

विराटनगर, १६ कात्तिक । कोरोना भाइरसको महामारीले मानिसलाई आफूसहित आफू बस्ने ठाउँ तथा प्रयोग गर्ने कुरा सफा राख्नुपर्ने जस्ता राम्रा चीज सिकाएको छ ।

घरको प्रत्येक सतह र प्रयोगमा आउने चिजलाई किटाणुमुक्त गरी संक्रमणको जोखिमबाट बच्न राम्रोसँग सफा गरिरहेका छौं । सुरुमा, धेरै सुरक्षा अपनाए पनि समय बित्दै जाँदा मानिसहरूले कोरोनालाई हल्कारूपमा लिन थालेका छन् । तर, जाडो र फ्लूको मौसम नजिकिँदै आएको बेला कोभिड संक्रमणको जोखिम थप बढ्न सक्ने हुँदा सुरक्षित रहनका लागि सावधानी अपनाउनु महत्वपूर्ण हुँदै आएको छ ।

हामीले दैनिक प्रयोग गर्दै आएका केही चीजमा धेरै किटाणु बस्न सक्छन्, जसले संक्रमणको जोखिमलाई बढाउन सक्छ । त्यसैले, संक्रमणको जोखिम कम गर्न प्रायः यी सामानहरूलाई सफा राख्नु वा गरिरहनु पर्छ । स्मार्टफोन, विभिन्न प्रकारको रोग पैदा गर्ने किटाणु र ब्याक्टेरियाको घर हो । मानिसहरू धेरैजसो सबै ठाउँमा मोबाइल बोकेर जाने गर्छन् ।

मोबाइलमा ई–कोलाई, स्टेफाइलोकोकस र स्ट्रेपट्रोकोकससहितका विभिन्न किटाणु पनि हुन्छन् । मोबाइलमा शौचालय सिटभन्दा १० गुणा बढी ब्याक्टेरिया हुने अध्ययनले देखाएको छ । संक्रमणबाट बच्न मास्क निकै महत्वपूर्ण भएको छ । मास्कले श्वासप्रणालीमा ब्याक्टेरिया र भाइरसको प्रवेशलाई रोक्न मद्दत गर्छ । तर, बाहिर जाँदा मास्कमा फोहोर टासिनेदेखि विभिन्न प्रकारका किटाणुको सम्पर्कमा पर्दछन् ।

नधोई प्रयोग गरिएको मास्कबाट नै फोहोर र कीटाणु स्वास प्रणालीमा प्रवेश गर्छ, जसकारण मानिस बिरामी पर्ने सम्भावना बढ्दै जान्छ । त्यसैले हेरक पटकको प्रयोगपछि मास्क सफा गरेर लगाउनु महत्वपूर्ण मानिन्छ । यी दुईका साथै, ढोकाका ह्यान्डललाई पनि नियमितरूपमा सफा गरिरहनु पर्छ । विशेष गरी मुख्य ढोका एक दिनमा धेरै मानिसले छुन सक्छन् ।

साथै, बाहिरबाट आउँदा फोहोर हातले ढोका खोलेर घरभित्र पसिन्छ । हातमा रहेका सबै कीटाणु हात धुनुअघि नै ढोकाको ह्यान्डलमा टाँसिन्छन् । त्यसैले ढोकाको ह्यान्डललाई पनि दिनको धेरै पटक सफा गर्नु महत्वपूर्ण हुन्छ । यति मात्र नभएर दैनिक प्रयोगमा आइरहने सामानहरूलाई पनि दिनमा पटक–पटक सफा गरिरहँदा संक्रमणबाट बच्न सकिन्छ ।