Rumpum Advertisement
Dazzu

आईपीएल : पञ्जाब ‘गर या मर’ को स्थितिमा, चेन्नईको लक्ष्य सुखद अन्त्य

आईपीएल : पञ्जाब ‘गर या मर’ को स्थितिमा, चेन्नईको लक्ष्य सुखद अन्त्य

विराटनगर, १६ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आजबाट अन्तिम चरणका खेलहरू सुरु हुँदैछन् । सबै टोलीले आ–आफ्नो १४ खेल खेलेसँगै शीर्ष चारमा रहने टोलीले आईपीएल प्लेअफ खेल्ने अवसर पाउनेछन् ।

प्रतियोगितामा सहभागी आठमध्ये शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्स प्लेअफका लागि छनोट हुनु र पुछारको चेन्नई सुपर किंग्स छनोट चरणबाट बाहिरिनुबाहेक प्लेअफमा रिक्त रहेका तीन स्थानका लागि ६ टोलीको प्रतिस्पर्धा हेर्न लायक छ ।

जारी आईपीएलमा आज दु्ई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे किंग्स एलेभेन पञ्जाब र चेन्नई सुपर किंग्स भिड्दैछन् भने दोस्रो खेलमा बेलुकी ७ः४५ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स एकअर्काविरुद्ध आमनेसामने हुँदैछन् ।

चेन्नईबाहेक अन्य तीनै टोली प्लेअफ पुग्न आतुर छन् । समान अंक भए पनि पञ्जाब पाँचौं, राजस्थान छैटौं र कोलकता आईपीएल अंकतालिकाको सातौं स्थानमा छ । त्यसैले आजको खेलमा जित निकाल्दै यी तीनै टोली कम्तिमा चौथो स्थानमा उक्लने दाउमा हुनेछन् ।

तर यी तीनमध्ये आजका दुई खेलबाट को सफल हुने हो त्यसको लागि हामीले दुवै खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

शेख जायेद रंगशालामा हुने आजको पहिलो खेलमा पञ्जाबले प्लेअफबाट बाहिरिसकेको टोली चेन्नईको सामना गर्दैछ । अघिल्लो संस्करणको उपविजेता चेन्नई यस संस्करणमा भने उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

आईपीएलका १३ खेल खेलिसकेको चेन्नईले पाँच खेलमा मात्रै जित निकालेको छ । पहिलो राउण्ड रोबिनका सातमध्ये दुई खेलमा जित निकालेको चेन्नईले दोस्रो राउण्ड रोबिनमा खेलेका ६ मध्ये तीन खेलमा जित निकाल्न सफल भएको छ ।

पछिल्ला दुई खेलमा लगातार जित निकाल्न सफल भएको चेन्नई आजको खेल जित्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

यता, पञ्जाब भने आजको खेलमा ‘गर या मर’ को स्थितिमा हुनेछ । अंकतालिकाको पाँचौ स्थानमा रहेको पञ्जाबलाई आजको खेलमा जित्नै पर्ने दबाब छ । प्लेअफमा छनोट हुन प्रतिस्पर्धा गरिरहेका ६ टोलीमध्ये ऊ पनि एक हो ।

चौथो स्थानको हैदराबाद, छैटौं स्थानको राजस्थान र सातौं स्थानको कोलकतासँगै पाँचौ स्थानमा रहेको पञ्जाबको पनि समान अंक छ । १३ खेलबाट १२ अंक बनाउन सफल यी चारमध्ये हैदराबाद नेट रन रेटको आधारमा अघि छ । त्यसैले आजको खेलमा चेन्नईलाई विशाल अन्तरले हराउनु पञ्जाबको मुख्य लक्ष्य रहने छ ।

हुन त पहिलो राउण्ड रोबिन लिगका सात खेलको समाप्तिसम्म पञ्जाबलाई प्रतियोगिताको सबैभन्दा कमजोर टोलीको रूपमा हेरिन थालिएको थियो । सुरुआती सातमध्ये एक खेलमा मात्रै जित निकाल्न सफल बनेको पञ्जाबले तालिकाको पुछारमा रहँदै दोस्रो राउण्ड रोबिन लिगका खेलहरू सुरु गरेको थियो ।

तर आफूले खेलेका पछिल्ला ६ मध्ये एक खेलमा मात्रै पराजय भोगेको पञ्जाबको ‘कमब्याक’ स्टोरी साँच्चिकै लोभलाग्दो छ । बैंग्लोरलाई हराउँदै प्रतियोगितामा पुनरागमन यात्रा सुरु गरेको पञ्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा, दिल्लीलाई पाँच विकेट, हैदराबादलाई १२ रन र कोलकतालाई आठ विकेटले हराएको छ ।

आफ्नो तेह्रौं खेलमा राजस्थानसँग सात विकेटले पराजित नभएको भए सायद आजको खेलमा पञ्जाबलाई यति धेरै दबाब नहुन सक्थ्यो ।

उत्कृष्ट खेलाडी छनोट, गेल आएसँगै बनेको बलियो ब्याटिङ लाइन–अप, बलिङ र फिल्डिङमा भएको सुधार र खेलाडीहरूबीच मजबुत तालमेलका कारण फर्म देखिएको पञ्जाबले आजको खेलमा जित निकालेर मात्रै भने पुग्दैन ।

नेट रन रेटमा राजस्थान र कोलकताभन्दा अघि रहे पनि हैदराबादभन्दा पछि रहेका कारण उसले आजको खेलमा विशाल अन्तरको जित निकाल्न आवश्यक रहन्छ । यदि आजको खेलमा पञ्जाब विजयी हुने हो र मंगलबार हुने मुम्बईविरुद्धको खेलमा हैदराबाद पराजित हुने हो भने मात्रै पञ्जाबको प्लेअफसम्म पुग्ने भाग्य चम्किन सक्छ ।

यति मात्रै नभई आजै हुने दोस्रो खेलको नजिता र बैंग्लोर र दिल्लीको बाँकी रहेको एक–एक खेलको नतिजाले २०२० आईपीएलमा पञ्जाबको प्लेअफसम्मको यात्रा निर्धारण गर्नेछ ।

समान अंक भएका राजस्थान र कोलकताबीचको खेलको नतिजाले पनि पञ्जाबको आईपीएल यात्रामा असर पुर्‍याउनेछ । प्लेअफमा पुग्न संघर्षरत दुवै टोलीमध्ये कुनै एक आजको खेलमा भारी अन्तरले विजयी हुँदै नेट रन रेटमा पञ्जाबलाई पछि पार्ने हो र आजको खेलमा पञ्जाब चेन्नईसँग पराजित हुने भने पञ्जाबको २०२० आईपीएलको प्लेअफसम्म पुग्ने सपना लगभग समाप्त हुनेछ ।

निकै रोमाञ्चक बनेको आईपीएलको प्लेअफ यात्रामा कुन–कुन टोली सफल हुने हो त्यसका लागि मंगलबारसम्मको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । आज हुने पञ्जाब र चेन्नईको यो भेट आईपीएलमा २३औं हो । यसअघि भएका २२ खेलमा चेन्नई १३ र पञ्जाब नौ पटक विजयी भएका छन् ।

२०२० आईपीएलमा बाहेक यी दुईले खेलेका पछिल्ला तीन संस्करणको ६ खेलको नजिताले चेन्नईलाई बलियो स्थितिमा देखाउँछ । ६ मध्ये चार खेल जितेको चेन्नईले यसै संस्करणमा भएको भेटमा पनि पञ्जाबलाई दस विकेटको हार चखाइसकेको छ ।

आईपीएलको १८औं खेलमा यी दुई पहिलो पटक दुबई रंगशालामा आमनेसामने भएका थिए । टस जित्दै पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभर पुरै खेल्दै चार विकेटको क्षतिमा एक सय ७८ रन बनाएको थियो । उत्कृष्ट ओपनिङ गरेको पञ्जाबका लागि कप्तान राहुलले ६३, अग्रवालले २६, सिंहले २७, पूरनले ३३, म्याक्सवेलले ११ र खानले १४ रनको योगदान दिएका थिए ।

बलिङमा खासै जम्न नसके पनि चेन्नईका लागि सरदुल ठाकुरले दुई, रविन्द्र जडेजा र पियूस चावलाले समान एक–एक विकेट भने लिन सफल भएका थिए ।

जवाफी ब्याटिङका लागि आएको चेन्नईले १७.४ ओभरमा नै विजयी लक्ष्य हासिल गरेको थियो । ओपनिङका लागि आएका ब्याट्सम्यानद्वय सेन वाट्सन र फाप डू प्लेसिसले नटआउट रहँदै टोलीलाई जित दिलाएका थिए ।

५३ बलको सामना गरेका वाट्सनले ८३ र समान ५३ बल नै सामना गरेका डू प्लेसिसले ८७ रनको अर्धशतकीय पारी खेलेपछि पञ्जाब चेन्नईंलाई दुई अंक सुम्पिन बाध्य बनेको थियो ।

पछिल्ला खेलहरूबाट निकै फर्ममा देखिएका यी दुवै टोलीमध्ये आज जित कसले आफ्नो नाममा लेखाउन सक्ने हो त्यो त खेलको नतिजाले पक्कै बताउला तर यी दुईबीचको आज हुने खेल निकै प्रतिस्पर्धात्मक हुने कुरामा भने दुई मत छैन ।