Rumpum Advertisement
Dazzu

संक्रमणबाट झापामा थप तीनको मृत्यु

संक्रमणबाट झापामा थप तीनको मृत्यु

झापा, १६ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट आज बिहान झापामा थप तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एकजना पुरुष रहेका छन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिबार मात्रै उपचारका लागि नोबेल पुर्‍याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै संक्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

कमल गाउँपालिका–५ मंगलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गएराति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएको उनको घरैमा उपचाररत थिए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए ।

शनिबार पनि झापामा तीनजनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।