Rumpum Advertisement
Dazzu

यस कारण हुनसक्छ दीर्घ कोभिडको जोखिम

यस कारण हुनसक्छ दीर्घ कोभिडको जोखिम

विराटनगर, १६ कात्तिक । धेरै उमेर र संक्रमणको सुरुमै थुप्रै लक्षण देखिएका संक्रमितमा ‘दीर्घ कोभिड’ वा लामो समयसम्म स्वास्थ्यमा समस्या देखा परिरहने वैज्ञानिकहरू बताउँछन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार प्रत्येक बीसजना संक्रमितमध्ये एकजनालाई कम्तीमा आठ सातासम्म कोभिडको असर रहिरहने अनुमान गरिएको छ । कोभिड लक्षण अध्ययन एपमा लक्षण देखिएका बिरामी र उनीहरूको परीक्षण नतिजा राखेर गरिएको अनुसन्धानको उद्देश्य सुरुमै कुन बिरामीहरूमा दीर्घ कोभिडको धेरै जोखिम छ भन्ने पत्ता लगाएर सोहीअनुरूप उपचार गराउनु रहेको छ ।

पहिलो सातामै पाँचभन्दा धेरै लक्षण देखिनु भनेको पनि एक किसिमको जोखिम रहेको किङ्स कलेज लण्डनकी डा. क्लेर स्टिभ्सको भनाइ छ । खोकी, थकान, टाउको दुखाइ, पखाला तथा गन्ध हराउनु जस्ता सबै लक्षण देखिएका संक्रमितमा केवल खोकीमात्र लागेकाभन्दा दीर्घ कोभिड हुने जोखिम बढी हुन्छ । र, यस्ता जोखिम उमेरसँगै बढ्दै जान्छ ।

५० वर्षभन्दा बढी उमेर भएका र महिला बढी जोखिममा हुने अध्ययनले देखाएको हो । पहिलाका अध्ययनले पुरुष गम्भीर कोभिडको शिकार हुने वा ज्यान गुमाउने गरेको पाइएको थियो । तर, अहिले दीर्घ कोभिड हुने जोखिममा महिला धेरै रहेको पाइएको छ । किङ्स कलेज लण्डनले गरेको अध्ययनमा महिला, अधिक तौल भएका तथा दमका रोगीलाई धेरै जोखिम हुने पाइएको छ ।

तर, दम तथा फोक्सोको रोगबाहेक दीर्घ कोभिड गराउने जोखिम बढाउने अन्य शारीरिक अवस्था देखिएको छैन ।