Rumpum Advertisement
Dazzu

दिल्लीमाथि जित निकाल्दै मुम्बई क्वालिफायरमा

दिल्लीमाथि जित निकाल्दै मुम्बई क्वालिफायरमा

विराटनगर, १५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा प्रवेश गरेको छ ।

शनिबार दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १११ रनको लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मुम्बईलाई जिताउन इशान किशनले अविजित ७२ रनको अर्धशतकीय इनिङ्स खेले भने क्विन्टन डी ककले २६ रन जोडे । सूर्यकुमार यादव १२ रनमा अविजित रहे ।

दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले २५ रन बनाउँदा रिषव पन्तले २१ रन बनाए । यसैगरी शिम्रन हिटमायरले ११ रन जोड्दा रचिन्द्र आश्विनले १२ तथा पृथ्वी शले १० रन बनाए ।

मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३–३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १–१ विकेट लिए ।

जितसँगै मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत छ ।
यता, दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । ऊ तेस्रो स्थानमा रहेको छ ।

जितसँगै मुम्बई क्वालिफायर्समा पुगेको छ भने दिल्लीले प्लेअफमा पुग्नका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ ।