Rumpum Advertisement
Dazzu

विराटनगरमा एक सय बेडको आइसोलेसन निर्माणकाे काम तीव्र

विराटनगरमा एक सय बेडको आइसोलेसन निर्माणकाे काम तीव्र

विराटनगर, १५ कात्तिक । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर परिसरमा रहेको गोदाममा एक सय बेडको अक्सिजनसहितको आइसोलेन निर्माणको काम तीव्र बनाइएको छ ।

नेशनल ट्रेडलिङको पुरानो गोदाममा अक्सिजनसहितको एक सय बेडको आइसोलेसन केन्द्र निर्माणको काम तीव्र बनाइएको हो । निजी क्षेत्रको अगुवाइमा आइसोलेसन केन्द्र निर्माणका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताए । निजी क्षेत्रसँगको सहकार्यमा निर्माण भइरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले केही दिनभित्र आइसोलेसन निर्माण सकिने बताए । संक्रमित बढेसँगै अस्पतालको क्षमता बिस्तारको काम गरिरहेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम सुरु गर्दा छिटो हुने बताए । अक्सिजनसहितको वेड तत्काल आवश्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम सुरु गरिएको उनले बताए ।

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहारअगावै अक्सिजनसहितको वेड सञ्चालनका लागि काम भइरहेको बताए ।