Rumpum Advertisement
Dazzu

तातोपानी नाका सञ्चालनमा

तातोपानी नाका सञ्चालनमा

काठमाडौ, १५ कात्तिक । पटकपटक बन्द हुँदै–खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सुचारु भएको छ ।

कोरोना महामारी र बाढीपहिरोका कारण पटक–पटक बन्द भएको नाका बिहीबारबाट खुलेपछि नेपालतर्फ समान आयात हुन थालेको छ ।

२०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो । बीचमा खुलेको नाका पछिल्लो पटक कोरोना संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो ।

तर अहिले भने कोरोना संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ व्यापारीले अलपत्र परेको नेपाली व्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् । अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पु¥याउन आउने गरेको छ ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात सुरु भएको बताए । श्रमिकहरुलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड–अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताए ।

अहिले मितेरी पुल वारिसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ ।

लामो समय नाका सञ्चालन नहुँदा स्याउलगायतका खाद्यसामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफूहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरुको माग छ ।

नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरुले बताएका छन् । सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वारेन्टाइनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपालतर्फका सवारीसाधनहरु सामान लिन जानका लागि अनिवार्य निर्मलीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाका खुलेसँगै दैनिक चारदेखि छवटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले बताएको छ ।