Rumpum Advertisement

दृश्य–अदृश्यहरु

दृश्य–अदृश्यहरु
सागर तिमिल्सिना

दृश्य–१
समय : बिहान ९ बजे

पात्र : लेखक र सडकको दृश्य

यहाँ एउटा सानो बजार छ । र, त्यसको नाम हो सुन्दर बजार ।

– लघु उद्योगहरु (मसला, नुडल्स, चिउरा, धानलगायत)
– हार्डवेयर
– किराना
– कपडा र रेडिमेड
– रेष्टुरेन्ट, होटल, सेकुवा पसल
– पान पसल
– चिया पसल

लगायत अन्य पसल तथा व्यवसायसमेत छन् । घरायसी सामान खरिद, रोजगारी, चिया गफ, बजार घुमफिर र बेलुकी भट्टीमा रौनकता बढाउन नजिक गाउँबाट आएका मान्छेहरुबाट यो बजारको अस्तित्व कायम छ ।

कोरोना महामारी र लकडाउनले विश्वमा पर्न गएको प्रभावबाट यो बजार पनि अछुतो छैन । जसले गर्दा मानिसहरुको आवतजावत र बजारको चहलपहल घटेको छ । बिहान–बेलुका थोरै संख्यामा मान्छेहरु देखिएता पनि दिउँसो बजार सुनसान हुन्छ ।

***

दृश्य–२

स्थान : सुन्दर बजार

समय : बिहान १० बजे

पात्रहरु : मलगायत बजारमा हिँड्ने र किनमेल गर्ने मान्छेहरु ।

म कोठाको झ्यालबाट चोक र सडकको दृश्य हेरिरहेको छु । बिहानैदेखि सडकमा एउटा मानिस निरुद्धेश्य हिँडिरहेको देखिन्छ । ऊ कहिले हिँड्दै बजारको पल्लो छेउमा पुग्छ । र, पुनः फर्किएर यतै ठिक मेरो झ्यालअगाडिको सडक पेटीमा उभिन्छ । ऊ बाटोका मान्छेहरुसँग उभिएर केही कुरा गर्छ र फेरि अगाडि बढ्छ । तर उसले के कुरा गर्छ र मानिसहरुले के उत्तर दिन्छन् टाढा झ्यालबाट चियाइरहेको मलाई थाहा हुँदैन । लाग्दछ, त्यो मानिस कुनै कारणले भौंतारिरहेको छ । दुःखी छ, अथवाहतास ।

ऊ पसल–पसल र होटलतिर समेत पस्छ, तर त्यहाँबाट तुरुन्त निस्कन्छ । सडकमा हिँड्ने मानिसलाई रोकेर हात जोडेर नमस्कार गर्दै केही भनिरहेको हुन्छ, तर ती मानिसहरु एकछिन रोकिएर उसको कुरा सुन्छन् र हातले छैनको संकेत गर्दै अगाडि बढेको म देख्छुु । धेरै समयको सडक, पसलको परिक्रमा र मान्छेहरुसँगको सोधपुछ प्रक्रियापश्चात ऊ ठिक मेरो झ्यालको पल्लोपट्टी सडक पेटीमा उभिएर के–के सोच्न थालेको दृश्य देखिन्छ । ऊ निकैबेर त्यहाँ उभिएर घोत्लिरहन्छ । बाटामा हिँड्ने हरेक मान्छेलाई हेर्छ । तर, कसैसँग केही नबोली एक्लै टोलाइरहन्छ ।

***

दृश्य-३

स्थान : सुन्दर बजार

समय : मध्यान्ह १० बजे

पात्रहरु : मलगायत अरु धेरै मान्छेहरु ।

बाटाको छेउमा राखेको साइकल उसले डोर्‍यायो ।

साइकल डोर्‍याउनुअघि ऊ त्यहीँ घोरिएर उभिरहेको थियो । उसले पल्याकपुलुक चारैतिर हेर्‍यो, वरिपरि कसैलाई नदेखेपछि उसलाई हिम्मत बढेको हुन सक्छ । त्यसैले साइकल डोर्‍याउने आँट गर्‍यो ।

म झ्यालबाट त्यही दृश्य हेर्दै थिए । एकछिनअगाडि त्यो साइकल अर्कै मानिसले त्यहाँ राखेर छेवैको घरमा पसेको थियो ।

‘चोर … चोर, साइकल चोर्‍यो … ए, चोर … समात् … समात् चोर …’

सायद उसले थाहा पाएन । उसका गतिविधिहरुलाई मैलेजस्तै अरु कसैले पनि नियालेको रहेछ । ऊ एक्कासी ‘चोर … चोर’ भनेर कराउँदै बाहिर निस्कियो । परबाट वल्लोपल्लो छेउबाट बाटामा हिँड्दै गरेका मानिसले दौडदै आएर उसालई पक्रिए । हल्लाखल्ला सुनेपछि अघि त्यहाँ साइकल राखेर घरभित्र पस्ने मानिस पनि निस्कियो ।

‘साले चोर ! दिउँसै चोरी गर्छस् ।’ एउटाले कस्सेर मुड्कीले हिर्कायो ।

‘यत्रा पाखुरा छन् । काम गरेर खानु नि ! चोर्न लाज लाग्दैन !’ अर्काेले झापड लगायो । जम्मा भएका सबै मानिसले उसलाई एक–एक गर्दै हिर्काउन थाले । बाटोमा हिँड्दै गरेकाहरुले पनि फर्किएर चड्कन बजाउन थाले ।

– कसैले मुखै–मुखमा कुटे

– कसैले लात्तै–लात्तले जीउमा भकुरे

– कसैले कपाल समाएर भुत्ल्याए ।

उसको मुख र नाकमा निकै चोट लागेछ क्यार ! मैले परैबाट रगत निस्किएको देखिरहेको थिएँ । सायद, धेरै मान्छेको कुटाइ थाम्न ऊ असमर्थ भयो । तर, ऊ भागेन बरु त्यही भुँइमा लडिदियो । उसलाई कुटन् जम्मा भएकाहरु पनि एक–एक गर्दै पाखा लागे । अघि त्यहाँ साइकल राख्ने मान्छे पनि आफ्नो साइकल चढेर त्यहाँबाट हिँड्यो । अन्त्यमा, सडकको पेटीमा त्यही मान्छेमात्र लडिरहेको दृश्य देखियो ।

***

दृश्य–४

स्थान : सडक पेटी

समय : साँझको ६ बजे

पात्रहरु : म, अनि त्यही मान्छे ।

म टाल्सटायको ‘कज्जाक’ पढिरहेको थिए । साँझ परिसकेकाले पुस्तक थन्काएर झ्यालबाट सडकको दृश्यलाई नियाले । सडक सुनसान भए पनि त्यो अघिको मान्छे त्यहीँ देखियो । सडकको पेटीमा हातलाई घुँडामा राखी त्यसमाथि टाउको अड्याएर टुक्रुक्क बसिरहेको थियो । घाम डुबिसकेकाले बाहिर अँध्यारो छिप्पिने तरखरमा थियो । तर, त्यति धेरै मानिसको कुटाइ खाएर रगताम्य भएको त्यो मानिसलाई अहिलेसम्म त्यहीँ बसिरहेको देख्दा मलाई आश्चर्य लाग्यो । म कोठाबाट निस्किएर सडकपार गर्दै त्यो मानिसको नजिक पुगेँ ।

कालो वर्णको छाला, लामो जिङरिङ्ग परेको कपाल । कुम, बाउला र घेरा च्यातिएको कमिज । धेरै दिनदेखि नधोएर मैलाले कटकट्टिएको थोत्रो पाइन्ट र खालीखुट्टा । उदास र निरिह अनुहार समग्रमा यी सबैले उसको विपन्नता र निरीहता प्रदर्शन हुन्थ्यो । मानिसहरुले कुटेर निस्किएको रगत उसको नाकको प्वाल र ओठमा नै सुकेर टाँसिएको थियो । म त्यसरी फटाफट उसैतिर आएको देखेर भयभित हुँदै उसले हात जोडेर भन्यो–

‘होइन दाइ । मलाई नकुट्नुस् । म चोर हैन, काम गरी खाने मान्छे हुँ । मैले कहिल्यै पनि चोरी गरेको थिइनँ । आज बाध्यताले गर्दा मेरो होस हरायो । मैले कुनै कर्म गरे कि कुकर्म त्यो समेत मलाई थाहा छैन । कुनै उपाय नलागेपछि आज मैले एउटा अपराध गर्न खोजेकै हो । तर …

ऊ भन्दै गइरहेको थियो । र, म सुनिरहेको थिएँ । जब उसले आफ्ना सबै कुरा भनिसक्यो । म भावविह्वल र निरुत्तर भएँ । मभित्रको दयाको बाँध फुटेर एक्कासी आँखामा छचल्किन आइपुग्यो । उसका शब्दहरुको मार्मिकता अनुभूति गर्ने मेरो क्षमतामा ह्रास भयो । त्यसैले मैले उसलाई वारिपट्टि आफ्नो घरमा लिएर आएँ ।

***

दृश्य-५

स्थान : मेरो घरको आँगन ।

समय : साँझको ७ बजे

पात्रहरु : म, मेरी श्रीमती अनुराधा र त्यही अघिको मान्छे ।

मैले अनुराधालाई बाहिरबाटै बोलाएँ । उनी भान्सामा खाना पकाइरहेकी थिइन् । सायद, खाना पाकिसकेको थियो । ‘एकछिन है’ भन्दै उनी केही समयपछि बाहिर निस्किन । मैले आफूसँगै रहेको मानिसलाई देखाउँदै ‘यिनलाई साह्रै अप्ठयारो रहेछ । यिनको कुरा सुनिदेऊ त !’ मैले उसको कुरा उसैलाई आफैं भन्न लगाएँ । उसले अनुराधालाई आफ्नो व्यथा सुनाउन लाग्यो–

‘कोरोनाले गर्दा कसैले काम दिँदैनन् । परैबाट छि–छि र दुर–दुर गर्छन् । लकडाउन लागेर हिँडनसमेत पाइएको छैन । पहिला एउटा ठेकेदारसँग लेवरको काम गर्थें । अहिले उसको समेत काम छैन । कति ठाउँमा काम माग्दै पुगे । दोकान, फ्याक्ट्री, मानिसको घर सबैतिर काम मागेँ । तर, कोरोना सर्छ भनेर कहीँ–कसैले काम दिएन । ऋणपान गरेर खाने ठाउँ पनि छैन, हामीजस्तालाई कस्ले पत्याउने ? घरमा तीनवटा बच्चाबच्ची र श्रीमती छ । श्रीमती पनि काम गथ्र्यो, उसले पनि अहिले काम पाएन, हामीले दुई दिनदेखि पानीसिवाय केही खाएको छैन । खानेकुराहरु सबै सकियो । बच्चाहरुलाई केही खानेकुरा नलिई घरमा जाने आँट छैन । कसरी जानु उनीहरु, दुई दिनदेखि भोकै छन् । दिनभर काम खोज्न हिँडिरहेको छु, कतै पाइँदैन । अब हामीहरु भोकले नै मर्छु होला । मलाई यस्तै लाग्न थालिसक्यो । के गर्नु के नगर्नु म केही सोच्न सक्दिनँ । धेरै अप्ठयारो भयो ।’

उसले आफ्ना वेदनाहरु पोख्दै गयो । अनुराधाको अनुहारमा पनि उसका दुःखको बाछिटाहरु परेको अनुमान लगाउन सकिन्थ्यो । उनका आँखामा झरी बोकेको बादल सल्बलाइरहेको थियो । अझ उसले कुटाइ खाएको घटना त मैले अनुराधालाई भनेकै छैन । उनी सरासर भान्सा कोठामा पसेर दाल, भात र तरकारीको थाल बोकेर आइन् । र भातको थाल उसलाई दिँदै बाहिर राखेको खाटमा बसेर पहिला भात खान भनिन् । उसले दुईपल्टसम्म थपेर भात खायो, अनुराधा उसलाई सोध्दै भात थपिरहेकी थिइन् । दुईपल्ट थपिसकेपछि उसलाई अझै थप्न लाज लागेछ क्यार, केही उत्तर नदिई थाल पखालेर राखिदियो अनुराधाले ४/५ केजीजति चामल, अलिकति दाल र गुन्द्रुक पोको पारेको झोला यो केटाकेटीलाई पकाएर खानदिनु भन्दै उसको हातमा राखिदिइन् । र, छामछुम गरेर साथमा भएको ३५० रुपैयाँसमेत उसैको हातमा थमाइदिइन् । ऊ कृतघ्न हुँदै हामीसँग बिदा मागेर हिँड्यो । उ गएको बाटोलाई हेर्दै अनुराधा भन्दै थिइन्–

‘यो कतिबेला घर पुगेर केटाकेटीले पकाएर खाने हुन, कमसेकम अलिकति तातो खाए भने राम्ररी निदाउन त सक्छन् ।’

र, म मनमनै सोच्दै थिएँ, यो त दृश्यमा देखिएको सानो घटनामात्र हो, अदृश्यमा योभन्दा बढी पीडा भोग्ने यो देशमा कति छन्, कति ? तिनीहरुलाई कसले सहयोग गर्ने, र कति दिनसम्म गर्ने ? अहिले कोरोनाको कारणले मात्र होइन, अरु बेला पनि यिनीहरुको दुःख अदृश्यमा छ । यी पहुँच नभएर पिछडिएका मान्छेहरु सधै दुःख र पीडामा हुन्छन् । यी आवाजविहीनहरुको आवाज कसले सुन्ने ? र कसरी सुनाउने ? अनि यिनीहरुले भोकबाट कहिले मुक्ति पाउने ?