Rumpum Advertisement
Dazzu

पर्यटनग्रन्थ हो, एक दिन

पर्यटनग्रन्थ हो, एक दिन

पत्रकार तीर्थ सिग्देलद्वारा लिखित यात्रा संस्मरण एक दिन (समय कथा) बजारमा आएको छ ।

यो उनको चौथो कृति हो । दक्षिण एसियाका आधा दर्जन देशहरुको भ्रमण पश्चात तयार भएको यो कृतिले एउटा सन्देश दिने प्रयास गरेको छ । खास गरेर १४ बटा च्याप्टरमा लेखकले दुबई, श्रीलंका, भारत, कतार, बंगलादेश, सिंगापुर, मलेसियाजस्ता देशहरुले गरेका प्रगतिका कथा र हाम्रो देशले भोगेका पीडा समेटिएको छ ।

मुलुक बनाउन कति समय लाग्छ ? देश बनाउने कसम खाएर आएको नेतृत्वले चाह्यो भने मुलुक सिंगापुर बन्न सक्छ, मलेसिया बन्न सक्छ । त्यति मात्र होइन, आजको कतार र दुबईले गरेको प्रगतिलाई नियाल्ने हो भने हाम्रो मुलुक बनाउन केवल प्रतिबद्धता मात्र चाहिन्छ । आँट, धैर्यता र त्याग चाहिन्छ । लेखकले यस्ता धेरै विषयमार्फत् यो पुस्तक बजारमा ल्याएका छन्, जसले खासगरेर पूर्वको बजारमा बहस चलाएको छ भन्दा फरक पर्दैन ।

भ्रमणलाई केबल घुमफिरको रुपमा र मजा लिने माध्यम मात्र बनाएका नेपालीहरुका लागि यो पुस्तक एउटा गाइड बन्ने छ । अझ यसलाई पर्यटनग्रन्थको रुपमा लिने पनि छन् । पुस्तकको बारेमा लेख्ने दमक क्याम्पसका नेपाली विषयका प्राध्यापक शिव रेग्मी प्रणतले भनेका छन्, यो एउटा पर्यटनग्रन्थ हो र यो पुस्तकले पाठकलाई यात्रा गराउँछ । उनकै टिप्पणीलाई आधार मान्ने हो भने पनि यो पुस्तकले सफलता प्राप्त गर्ने छ ।

जहाँसम्म लेखक तीर्थ सिग्देललाई नजिकबाट नियाल्ने हो भने उनी एउटा राम्रा पत्रकार हुन् । आजसम्म चारबटा किताब लेखे पनि उनले आफूलाई कहिल्यै लेखक हुँ भन्न रुचाएनन् । मूलतः आफूलाई पत्रकारकै रुपमा चिनाउन चाहने उनले यसअघि कथासंग्रह मनोनेट निकाले । त्यसअघि पूर्वको राजनीति र जीवनको गति पुस्तक लेखे ।

भ्रमणलाई मनोरञ्जनको आधारको रुपमा मात्र लिनुहुन्न भन्ने लेखकको मान्यता छ । उनले सुरुमै लेखेका छन्, म घुम्नु वा भ्रमण गर्नुलाई सिकाइको रुपमा लिन्छु । खास गरेर नेपालसँग त्यहाँको अवस्थाको बारेमा तुलना गर्छु । यो किताब त्यही अवस्थाको प्रतिविम्ब हो ।

हाम्रा देशका नेताहरुले नेपाललाई कहिले सिंगापुर त कहिले अमेरिकाजस्तो बनाउँछु भने तर त्यस अनुरुपको काम गरेनन् । यो पुस्तकले मुलुक समृद्ध बनाउने सूत्र दिएका छन् ।

कसो गर्दा देश बन्छ र त्यसका लागि देखेका र भोगेका कुराबाट पाठ सिक्नुपर्छ । आफैंले भोगेको यथार्थ हुन्छ । अरुकै गल्तीबाट पाठ सिकेर अगाडि बढ्नु नै श्रेयस्कर हुन्छ, किन भने आफ्नो गल्तीले उठ्न दिँदैन, लेखकले भनेका छन् ।

एक दिन (समय कथा) नामक यो पुस्तक मिडिया रिसर्च सेन्टरले छापेको हो । यसको मूल्य तीन सय रहेको छ ।