Rumpum Advertisement
Dazzu

दुई कोरोना संक्रमितको मृत्यु

दुई कोरोना संक्रमितको मृत्यु

बाँके, १५ कात्तिक । बाँके र प्युठानमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उनको आज बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित ती पुरुषलाई रोगको प्रकृतिअनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरे पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको आज बिहान मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने संक्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्थाअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पोखरेलले बताए । योसँगै प्युठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । रासस