Rumpum Advertisement
Dazzu

डा. नूतन डिमरी गैरोलाका चार कविता

डा. नूतन डिमरी गैरोलाका चार कविता
डा. नूतन डिमरी गैरोला

अन्तिम पात

रुखबाट
जहिले झर्दा
अन्तिम पात ।

शिशिर ऋतुमा
हाँस्दै
आशाहरूको उत्सव
मनाउँछ रुख ।

फेरि
नयाँ कोपिलाहरू पलाउँछन्

आइहाल्छ वसन्त ।
*

र खोज जारी छ

भत्कियो पहाड धर्मराउँदै
बाढी बन्यो
मन्दाकिनी, असिगंगा, अलकनंदा ।
अनुहारहरू हराएर गए
सदाका लागि ।

तस्बिरहरू हातमा लिएर
निराशाका पहाड
पार गर्छन् मानिसहरू
थाक्छन् उनका खुट्टाहरू
आशाहरू छन् कि थाक्दै थाक्दैनन् ।
*

अग्ला पहाड

जति अग्ला हुन्छन् पहाड
त्यति नै पथरिला
त्यति नै चिसो
त्यति नै निर्जन
र अगम्य ।
जहाँ पुग्नुअघि हरियालीले दम तोड्छ ।

अग्ला पहाडहरू कहिल्यै झुक्दैनन्
तिनले आफ्नो पछाडि
लुकाएर राखेका हुन्छन्
सबैभन्दा हरियो र सुन्दर
पहाडी जंगल ।
*

यहाँ लोग्ने मान्छेहरूको खतरा छ

महिलाहरू
गइजान्छन् अन्जान जंगलहरूबाट
गाईवस्तुको भरमा
जसको सत्य उनीहरूलाई थाह छ ।

सडकको छेउमा काठको पट्टीमा लेखिएको हुन्छ–
सावधान, यहाँ हात्तीको खतरा छ
तर पनि उनीहरूले पार गरिसकेका हुन्छन् सारा जंगल ।
तर पार गर्न सक्दैनन्
अँध्यारो रातमा या दिनको उज्यालोमा
सडक या बस्तीहरूबाट एक्लै ।

काप्छ उनीहरुको आत्मा
कि काठको पट्टीहरूलाई
उनको विश्वासको बाटोमा
रातो रङमा झुण्डयाइदिएका छन्
खबरदार !
यहाँ लोग्ने मान्छेहरूको खतरा छ ।

अनुवाद : चन्द्र गुरुङ