Rumpum Advertisement

नाफामा मेची आयुर्वेद औषधालय

नाफामा मेची आयुर्वेद औषधालय

इलाम, १५ कात्तिक । इलामको आइतबारेस्थित मेची आयुर्वेद औषधालयले उपचारात्मक सेवा विस्तार गरेपछि पहिलो पटक नाफा आर्जन गरेको छ ।

प्रदेश नम्बर १ सरकार, सामाजिक विकास मन्त्रालयले सेवा विस्तार गरेको औषधालयमा गत आर्थिक वर्षमा औषधि र उपचारात्मक सेवाबाट पाँच लाख नाफा आर्जन भएको हो । मेची आयुर्वेद औषधालयको स्तरोन्नतिपछि एक वर्षमा १० हजार ३९ बिरामीले सेवा लिएका छन् ।

प्रदेश नम्बर १ सरकारले अस्पताल स्तरोन्नति गर्न सेवा विस्तार गरेपछि नेपाल र भारतका जटिल रोगीको औषधालयमा उपचार हुँदै आएको छ । न्यून शुल्कमा सेवा प्रदान गर्दै आएको औषधालयमा ढाड, कम्मर, घुँडा, नसा च्यापिएको, पेट, टाउकोसम्बन्धी उपचार सेवा विस्तार भएको थियो ।

तेइस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयमा १० प्रतिशत छुटमा सशुल्क औषधि खरिदको व्यवस्था पनि गरिएको छ ।

औषधालय व्यवस्थापन समितिले आव २०७६/०७७ मा छुटमा औषधि बिक्रीबाट एक लाख ३३ हजार र उपचारात्मक सेवाबाट तीन लाख ५० हजार नाफा गरेको प्रमुख तीर्थ आचार्यले बताए । पञ्चकर्म, निःशुल्क औषधि, अकुपञ्चर, प्रयोगशाला, आकस्मिक सेवालगायत विस्तारमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।

औषधालयमा इलाम, पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ जिल्लाबाट उपचार गर्ने बिरामीको भीड लाग्छ । कोरोना महामारी सुरु हुनुअघि औषधालयमा दैनिक आठ–दश बिरामी भारतका विभिन्न क्षेत्रबाट आउने गरेका थिए । प्रदेश सरकारलाई औषधालय हस्तान्तरण गरिएपछि हालसम्म सेवा विस्तारका लागि मन्त्रालयले ८८ लाख लगानी गरेको छ ।

पछिल्लो समय बिरामी आयुर्वेदतर्फ आकर्षित भएका छन् । प्रदेश सरकारको लगानीमा मेची आयुर्वेद औषधालयको स्तरोन्नति र सेवा सुविधा थपपछि बिरामी आयुर्वेदमा आकर्षित भएका हुन् । रासस