Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणका कारण दाजुभाइको मृत्यु, बुबाको वार्षिकी रोकियो

कोरोना संक्रमणका कारण दाजुभाइको मृत्यु, बुबाको वार्षिकी रोकियो

विराटनगर, १४ कात्तिक । कोरोना संक्रमणका कारण झापामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोराको मृत्यु भएको हो ।

स्वर्गीय भट्टराई जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छाेरा ३० वर्षीय योगेश्वरको चार महिनाको अन्तरमा मृत्यु भएको हो । भाइ रविन भट्टराईका अनुसार दयारामको शुक्रबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई १२ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

दीर्घरोगको समस्या नभएका ३८ वर्षीय भट्टराईमा निमोनियाको समस्या देखिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

दयाराम कान्छा भाइ योगेश्वरको वैदेशिक रोजगारीका क्रममा कोरोना संक्रमणका कारण कतारमा मृत्यु भएको थियो । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका योगश्वरको १५ असारमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्युपछि उनको कतारमै अन्त्यष्टि भएको थियो । आफन्तले अन्तिम अवस्थामा शव हेर्नसमेत पाएनन् ।

झापाकाे दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । अवस्था जटिल भएपछि १२ कात्तिकमा उनलाई नोबेलमा भर्ना गरिएको थियो । सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ । उनकाे शुक्रबार साँझ झापाकाे कनकाइ नदीमा अन्त्यष्टि गरिएकाे आफन्तले जानकारी दिए ।

२०७६ असार २७ गते ६३ वर्षकाे उमेरमा मृत्यु भएका चुणामणिका चार छाेरा थिए । चार छोरामध्ये जेठा र कान्छा छाेराकाे चार महिनाको अन्तरमा मृत्यु भएकाे हाे । दुई छाेराकाे मृत्यु पछि उनकाे वार्षिक तिथिको काम पनि रोकिएको छ ।

आफन्तका अनुसार कान्छा छाेराकाे मृत्यपछि यस अघिकाे वार्षिक तिथीलाई शनिबारका लागि सारिएकाे थियाे । तर शुक्रबार नै उपचारका क्रममा जेठा छाेरा दयारामको मृत्यु भएकाे हाे ।

काेराेना संक्रमणका कारण ज्यान गुमाएका दयाराम र याेगेश्वरका श्रीमती र एक–एक जना सन्तान छन् ।