Rumpum Advertisement
Dazzu

दसैंपछि कोरोना संक्रमण बढ्दै

दसैंपछि कोरोना संक्रमण बढ्दै

काठमाडाैं, १३ कात्तिक । दसैंपछाडि फर्कनेहरूबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन भइराखेको छ ।

यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्यविद्हरूले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।


दसैं सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरूको भीड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्चदर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरूको संख्या बढेसँगै स्वभाविक रूपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ ।

सार्वजनिक यातायातमार्फत उपत्यका भित्रिनेहरूमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्वतयारी गरिसकेको बताए ।

हाइ डिपेन्डेन्सी युनिट र आइसोलेशन वार्डको तयारी गरिसकेको उनले बताए ।

संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कमगर्न सक्दैन ।

यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए ।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दसैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरूबाट संक्रमण फैलनेभन्दा उपत्यकाभित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए ।

गाउँभन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरू नै जोगिनुपर्ने उनले बताए ।

काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रूपमा मास्क लगाउने, दूरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ । जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

जोखिम समूहमा पर्ने व्यक्तिहरूलाई जोगाउनका लागि घरभित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिए । आफूबाहेक अरु सबै संक्रमित छन् भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ ।

यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाइ छ । 

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराएपनि जनता स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढिरहेको छ । युरोपियन मुलुकहरूमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र जनता दुवैले हेरेर सतर्कता अपनाउनुको विकल्प छैन ।