Rumpum Advertisement
Dazzu

महामारीकाबीच विहारमा विधानसभाका लागि मतदान सुरु

महामारीकाबीच विहारमा विधानसभाका लागि मतदान सुरु

विराटनगर, १२ कात्तिक । कोरोना महामारीका बीच भारतको बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ ।

बिहार विधानसभाको २४३ सिटमध्ये पहिलो चरणमा ७१ सिटका लागि मतदान सुरु भएको हो ।

कोरोना महामारीका बीच पहिलो पटक बिहारमा मतदान भएको हो । नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए)का तर्फबाट ७१ सिटमध्ये मुख्यमन्त्री नितीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिट, भारतीय जनता पार्टी (बीजेपी) २९, पूर्व मुख्यमन्त्री जीतनराम माझीको पार्टी हम–एस ६ र मुकेश सहनीको भीआइपीले एक सिटमा उम्मेदवारी दिएको छ ।

राष्ट्रिय जनता दल (आरजेडी) ले ४२, काँग्रेस आईले २१ र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादीले ८ सिटमा उम्मेदवारी दिएको छ ।

तेस्रो ध्रुवका रुपमा लोक जनशक्ति पार्टीले ४१ सिटमा उम्मेदवारी दिएको छ । यो दल एनडिएबाट अलग भएर चुनाव लड्दैछ ।

पहिलो चरणको मतदानमा २ करोड १४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्छन् ।

मतदानका लागि ३१ हजार ३७१ मत केन्द्र तोकिएका छन् ।

बिहारमा दोस्रो चरणको मतदान ३ नोभेम्बर र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुँदैछ । मत परिणाम भने १० नोभेम्बरमा एकसाथ सार्वजनिक गरिनेछ ।