Rumpum Advertisement
Dazzu

घरमै यसरी प्रयाेग गर्न सकिन्छ अक्सीजन

घरमै यसरी प्रयाेग गर्न सकिन्छ अक्सीजन

विराटनगर, ११ कात्तिक । कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेहरूको संख्या पनि बढिरहेको छ ।

सरकारले संक्रमितको उपचार गर्नबाट हात उठाएको छ । बेड अभाव भएका कारण लक्षण भएका संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्न थालिएको छ । तर निजी अस्पतालकेा शुल्कका कारण आर्थिक अवस्था कमजोर भएका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य छन् ।

संक्रमणका कारण सास फेर्न समस्या देखिए वा अक्सिजनको स्तर घटे संक्रमितलाई तुरुन्तै अस्पताल पुर्याउनु पर्ने हुन्छ । बेड अभाव र अस्पताल पुर्याउँदा ढीलो भएका कारण केही संक्रमितले ज्यान समेत गुमाएका छन् ।

स्वास्थ्य विज्ञहरूले मानिसलाई कोभिड संक्रमित भएमा ज्वरो आउने, खोकी लाग्ने, थकान, निमोनिया, सास फेर्न गाह्रो हुने, स्वाँ स्वाँ हुने जस्तो संकेत देखिने बताउँदै आएका छन् ।

संक्रमितमा निमोनिया र सास फेर्न गाह्रो भएको कारण वा स्वास्थ्यमा पुरानो समस्या भएका बिरामीमा अक्सिजनको स्तर कम हुने जाेखिम हुन्छ ।

होम आइसोलेसन बसेका संक्रमितलाई अक्सिजनको गति नाप्न पल्स अक्सिमिटर किन्न र अक्सिजनको मात्रा कम हुने बित्तिकै प्रयोग गर्नका लागि अक्सिजन सिलिन्डर घरमा राख्न उपयुक्त हुने विराटनगर स्तिथ न्यूरो कार्डियो एण्ड मल्टी स्पेसालिटी हस्पिटलका मेडिकल अफिसर तथा जनरल फिजिसियन डा. एमएस अन्सारी बताउँछन् ।

संक्रमितमा निमोनिया देखिएमा, सास फेर्न गाह्रो भएमा अक्सिजको स्तर कम हुन सक्छ । वृद्ध, मधुमेह, रक्तचाप, किड्नीको समस्या, मुटुको समस्या, दम, क्षयरोग तथा पहिला देखी नै श्वासप्रश्वासमा समस्या भएका बिरामीमा अक्सीजनको स्तर घट्ने सम्भावना धेरै रहन्छ ।

यस्तो संकेत देखाउँदा पल्स अक्सिमिटरको प्रयोग गर्न सकिन्छ । पल्स अक्सिमिटरले घरमै अक्सिजन स्तर निगरानी गर्न र अवस्थाको पहिचान गर्न मद्दत गर्छ ।

सजिलै सुपुथ मुल्यमा बजारमा पाइने पल्स अक्सिमिटर सरल उपकरण हो जसले रगतमा भएको अक्सिजनको मात्राको गणना गर्छ । पल्स अक्सीमीटरले ९८ प्रतिशत सही परिणाम दिन सक्छ ।

औंला भित्र राखेर क्लिप थिचेको केही सेकेन्डमा यसले नतिजा दिन्छ । नतिजाले रगतमा भएको अक्सिजनको प्रतिशत देखाउँछ, जसलाई एसपिओ २ स्तर भनिन्छ । अक्सिमिटरले मुटुको दर पनि देखाउँछ । प्रायः स्वस्थ्य व्यक्तिमा सामान्य अक्सिजनको स्तर ९५ प्रतिशत हुन्छ । तर, अक्सीजनको मात्रा ९० वा सो भन्दा तल भएको खण्डमा तुरून्त डाक्टरसँग सल्लाह गरेर अक्सीजन लगाउनुपर्ने हुन्छ ।

घरमै अक्सीजन लगाउँन पनि खासै गाह्रो हुँदैन । चिकित्सकको सल्लाहमा सामान्य फेस मास्क लगाएजसरी नै प्लस्टिकको मास्क लगाएर अक्सिजन सिलिन्डर अन गरेर मात्रा मिलाउनु पर्ने हुन्छ ।तर, घरमा अक्सिजन नभएको अवस्थामा अस्पताल लैजानुपर्छ ।

प्रतिक्रिया

  1. अति राम्राे सुझाव , याे अक्सिजन सिलेण्डर भाडामा किन्न काहा कतिमा पाईन्छ भन्ने जानकारिपनि प्रकाशन गरिदिए धेरैै राम्राे हुनेथियाे ।

Comments are closed.