Rumpum Advertisement
Dazzu

कान्छाे फ्रन्टलाइनर चन्दन : समाज त्रसित हुँदा फोहोरसँगै शव पनि उठाए

कान्छाे फ्रन्टलाइनर चन्दन : समाज त्रसित हुँदा फोहोरसँगै शव पनि उठाए

विराटनगर, ११ कात्तिक । विराटगर महानगरपालिका २ का चन्दन पोद्दार उमेरले १८ वर्ष पुगे । उनको उमेर पढ्ने र सिक्ने हो । कोरोना महामारीका कारण स्कुल बन्द भएका कारण चन्दनले स्कुलको किताब छाडे, फ्रन्टलाइनर बनेर कोरोनासँग लडिरहेका छन् । कोरोना संक्रमितको व्याथा नजिकबाट हेरिरहेका छन् । आइपर्दा शव बोक्ने काम पनि गर्छन् ।

९ बाट कक्षा १० मा पुगेका उनले पढ्ने अवसर सामान्य बालबलिकाले जसरी पाएनन् । विपन्न परिवारका जेठो छोरा उनी कक्षा ६ मा पढ्दादेखि नै श्रम गर्न सुरु गरे । बिहान १० देखि दिउँसो ४ बजेसम्म स्कूल जान्थे । स्कुल छुट्टी भए लगतै काम गर्थे । घर पुग्दा मध्यरात हुन्थ्यो ।

२०७२ सालको भूकम्प अघिसम्म काठमाडौंमा थिए । त्यसपछि विराटनगर आएका उनी जनता नमुना विद्यालयमा भर्ना भए । स्कुल पढ्दा केही महिना निजी स्कुलको गाडीमा खलासी गरे । डेढ वर्षजती होटलमा भाडा माझ्ने बाहेक सबै काम गरे ।

विराटनगरमा सेन्ट्रल मल्टिप्लेक्स खुलेपछि सरफाई कर्मचारीको जागिर पाए । विहान १० बजे स्कुल आउने र स्कुल छुट्टी भएपछि दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सेन्ट्रल मलमा काम गरे ।कोरोना महामारीका कारण सरकारले स्कुलसँगै फिल्म हल बन्द गर्दा चन्दन बेरोजगार बने ।

भाडामा बस्दै आएका उनको बुबा लक्ष्मण क्याट्रीनमा काम गर्छन् । उनको काम बेला बेला मात्रै चल्छ । आमा सरस्वती अरुको घरमा सरसफाईको काम गर्थिइन् । कोरोनाले बुबा आमाको काम रोकियो ।

गुजारा गर्न समस्या हुने अवस्थामा सेन्ट्रल मल्टिप्लेक्सकै कर्मचारीले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रले सफाई कर्मचारी खोजेको सुनाए । घरमा गुजारा गर्ने आधार साघुरो हुदैथियो । तर बुबाआमाले कोरोना अस्पतालमा काम नगर्न भने । आमाको कुरा काटेर कोभिड अस्पतालमा काम सुरु गरे । सातमहिनायता घरबाहिरै बसेर सात जनाको परिवार धान्न मद्दत गरिरहेका छन् ।

उनले काम सुरु गरेपछि सँगै पढ्नेसाथी राकेश राजबंशी र महेन्द्र माझी सफाई कर्मचारीको रुपमा काम गर्न थालेका छन् ।

कोरोना संक्रमितसँग समाज डराइरहँदा १८ वर्षीय चन्दनले संक्रमित बसेको ठाउ सरसफाई मात्र गरेनन् । उपचारका क्रममा मृत्यु भएका संक्रमितको लास पनि उठाए ।

‘एक महिनाजती अस्पताल बाहिर सरसफाईको काम गरे ।’ उनले भने ‘त्यसपछि दुई दिन तालिम दिएपछि अस्पताल भित्र काम गर्न थाल्यौं ।’

लकडाउन लम्बिदै जाँदा परिवारको खर्च चन्दनले नै धाने । ‘तीनजना भाई बहिनी, आमा बुबा र हजुरआमा हुनुहुन्छ ।’ उनले भने ‘आफ्नो घर छैन्, भाडामा बसेका छौं, यहाँ काम नगरेको भए त गाह्रो हुनेरहेछ ।’

फ्रन्टलाइनमा खट्दाको अनुभव उनले यसरी सुनाए : ‘जीवनको लक्ष्य छैन, हेर्दै जाउ


मेरो घर छैन् । विराटनगरको दुर्गा चोकमा भाडामा बसेका छौं । हाम्रो परिवारमा सातजना हुनुहुन्छ । भाई बहीनी सानै छन् । गरिब परिवारको भएर सानै देखि काम गुर्न पर्याे । २०७२ सालको भुकम्पसम्म काठमाडौंमा बसेर पढ्दै थिए ।

भुकम्प पछि विराटनगर आए । जनता स्कुलमा कक्षा ६ मा भर्ना भएर पढ्न थाले । यहाँ पढ्दै काम गर्न थाले । पढाई खर्च निकालेर घरमा पनि खर्च दिए । सुरुमा एउटा बोडिङ स्कुलको गाडीमा खलासी गरे । स्कुलको गाडीको काम सकिएपछि स्कुल आउथे ।

गाडीको काम छोडेर होटलमा पनि काम गरे । होटलमा काम गर्दा भाडा माझ्ने एकजना हुनुहुन्थ्यो । मैले अरु सबै काम गरे । डेढ वर्ष होटलमा काम गरेपछि पढ्दै सिनेमा हलमा काम गर्न सुरु गरे । हलमा दिउँसो २ बजेदेखि १० बजेसम्मको डिउटी थियो । तर एकजना साथीलाई दुई घण्टा ओभरटाइन गर्न लगाएर म ४ बजे काममा आउथे । तर हल बन्द भएपछि बेरोजागार भएर घरमै बसेको थिए ।

सेन्ट्रल मलको एकजना सरले काम गर्नु भनेपछि कोभिड अस्पतालमा जोडिए । बैशाखदेखि कोभिड अस्पतालमा काम सुरु गरे । सुरुमा त धेरै डर लाग्यो । तर डराएर मात्र भएन् । पीपीई लगाएर काम गर्न थाले । दुई दिनको तालिम पनि दिइयो । हाम्रो काम कोभिड अस्पताल भित्र र बाहिरको सरसफाई हो ।

उपचार केन्द्र भित्रकाे डसबिनको सामना उठाउने अस्पताल छेउमै बनाएको खाल्डोमा बिर्सजन गर्ने काम गरे । म एक्लै थिइन् अरु साथी पनि थिए काम गर्ने । उपचारका क्रममा संक्रमितको मृत्यु भएपछि शव उठाउने काम पनि गर्नु पर्याे ।

मैले कहिलै लास छोएको थिइन् । कोभिडमा काम गर्न थालेपछि लाश बोक्नु पर्याे । सुरुमा बोक्नु पर्छ भन्दा मानिन् । धेरै डर लाग्यो । तर अरु मान्छे नभएपछि अरु साथीसँग मिलेर शव बोक्न सुरु गर्याै । अस्पतालमा दश जनाको जति शव बोके होला । पीपीई लगाएर शव बोक्दा सुरु सुरुमा त धेरै डर लाग्यो । शव छुदा हात खुट्टा लगलगी कामे । तर गर्दिन भन्ने बिकल्प थिएन् । विस्तारै बानी पर्न थाल्यो ।

कोरोना भाइरस नयाँ थियो । सुरुमा काम गर्दा धेरै डर लाग्यो । तर आर्थिक स्थीतिका कारण काम गर्नुपर्ने बाध्यता भयो । अरु काम पनि पाइएको थिएन् । यहाँ काम गर्दा पीसीआर नगरी घर जान पाइएन् । कहिले काही घर जादा बाहिरैबाट गफ गरेर फर्किए । घरबाट बाहिर बस्दा परिवारबाट टाढा बस्दा नरमाइलो लाग्थ्यो ।

घरको अवस्था पनि कमजोर भएकाले कक्षा ६ मा पढ्दादेखि नै काम गर्दै खर्च जुटाउथे । घरमा पनि खर्च दिन्थे । नौं कक्षा पढ्दै गर्दा कोरोना सुरु भयो । अहिले १० कक्षामा पढ्छु । यो पाली एसईई पनि हो । तर स्कुल बन्द भएकाले टेनसन छैन् । सँगै पढ्ने तीनजना साथी यहीँ काम गर्छाैं । स्कुल खुल्यो भने हामी सल्लाह गर्छाै । खुलेपनि सायद जान्न होला । यहीँबाट पढ्न मिल्यो भने चाहीँ जान्छु । मिलेन भने आफै पढेर परीक्षा दिन्छु ।

परिवारमा दुःख भएकाले खर्च जुटाउदै पढ्ने बानी बस्यो । सरकारी स्कुलमा पढेकाले जीवनमा ठूलो लक्ष्य केही राखेको छैन् । पढ्दै जाने हो । हेरै कहाँसम्म पुगिन्छ ।