Rumpum Advertisement
Dazzu

कविका सिर्जनामा दसैंको सुख–दुःख

कविका सिर्जनामा दसैंको सुख–दुःख


सुविद गुरागाई
‘नेपाली घरका ढोका खुल्न लागे रमाउँदै
नयाँ वस्त्र, नयाँ रङ र मालसिरि गाउँदै ।’

जताततै आनन्द, खुशी र भेटघाटको वातावरण छ यतिबेला । त्यसैबीचमा कतै–कतै देखासिकी, तनाव र अव्यवस्थापनका ऐंजेरु पनि छन् । सुखको सुनाखरी फुलेको वनका काइ–झ्याउ सँगसँगै हुन्छन् र त सुनाखरीको महत्व उज्यालिन पाउँछ भन्छन्, जीवनधर्मीहरू । कविहरू त्यसमा विशिष्ट हुने नै भए । कविहरू पहिले–पहिले सकारात्मक टिप्पणी गरेर सामाजिक आनन्द प्राप्तिको अभ्यास र वातावरणलाई अझ सजिलो बनाइदिन्थे । आसन्न दसैंको उल्लासमा कवि हेमराज पाण्डेको ‘विजया दशमीको शुभकामना’ थपौं :

‘हुँदैनन् निमुखा कोही व्यर्थै कल्पेर निर्धन
सन्तोषी मनमा रम्छन्, हँसिलो जगमा जन ।’

दसैं सम्झिने, दसैंलाई मान्ने–नमान्ने सबैका आ–आफ्नै तरिका छन् । कविहरू कसरी सम्झिन्छन् दसैंलाई ? यही जिज्ञासाको तहमा पाएसम्म खोतल्दै जाँदा दसैंसँग जोडिएको सुख–दुःख र अपेक्षाका अनेक पत्रहरू सार्वजनिक हुँदै जान्छन् । खासगरी चालीसको दसकसम्मको पुस्ता दसैं र त्यससँग जोडिएको सनातन आनन्दसँग निकै नजिक रह्यो । तर, २०५२ सालमा माओवादी द्वन्द्व मच्चिनुभन्दा अघिसम्म हुन्थ्यो, गाउँ–गाउँमा लिङ्गे पिङ हाल्ने होडबाजी । मान्यजनबाट आशीर्वाद थाप्नेको विशुद्ध लर्को । साथीभाइसँग भेटघाटको उल्लास । र, पढ्दै रमाउँथे नानीहरू किताबमा कवि–शिरोमणि लेखनाथ पौड्याल :

‘हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जता जाउँ उतै भन्छन्, दसैं आयो, दसैं आयो,
यही आनन्द चर्चाले सबै सङ्कष्ट बिर्सायो..!’

अचेल भने यो शिक्षा परम्परा नै हटाइएको छ, पाठ्य–पुस्तकबाट । भनिन्छ, लेखनाथबाहेक धेरैले दसैंलाई छोए, तर दुःखको आँखाले छोए । दसैंलाई विम्ब–प्रतीक बनाएर अनेक लेखिए, लेखिँदै छन् तर अभिव्यक्ति शैली बदलिएको छ अचेल । तथापि, व्यक्तिको जीवनशैलीमा जति नै परिवर्तन आएको भनिए पनि माया र सम्झनाको तरेली त उस्तै छ, सनातनदेखि । तीर्थयात्री पौडेल गजलका शेरहरूबाट सम्झिन्छन्, गाउँघर, साथीभाइ र दसैंको उल्लासलाई ।

‘दसैं आयो लिङ्गे–पिङमा झुल्दै होलान् गाउँका साथी ।
रङ्गी–बिरङ्गी कपडामा खुल्दै होलान् गाउँका साथी ।
देश–विदेशबाट पनि आए होलान्, चाड मनाउन,
हाट–बजार रोदीतिर डुल्दै होलान् गाउँका साथी ।’

यता, लेखनाथ बाबैको ‘हट्यो सारा हिलो–मैलो, हरायो पानीको वर्षा,’ पढेर हुर्केका मान्छेको मनमा सधैं एउटा जिज्ञासा रहने गर्छ, के दसैंको उल्लासको चर्चा गर्नु भनेको ‘बिरालो बाँध्ने परम्परा’को निरन्तरता ठहर्छ ? होइन भने समकालीन अधिकतर कविहरूले दसैंको राम्रोपनको चर्चा र प्रशंसा गरेर लेखेको पढ्न पाइँदैन किन होला ? के ऊ बेलामा दुःख थिएन ? कि, अचेल कविहरू सकारात्मक, मन आनन्दित हुने शब्द खेलाउनु तुच्छ ठान्छन् ? केही बुझ्नै सकिएन ।

कवि रमेश क्षितिजका शब्दमा भन्दा, ‘अहिलेको कविता बढी सामाजिक अन्यायको विषयवस्तु र राजनीतिको पछि हिँडेको देखिन्छ । सायद त्यसैले हो कि !’ यता, उनले पनि एक साल सम्झे दसैंलाई आफ्ना शब्दमा, जसको फलोअप आज पनि भइरहेछ ।

‘दसैं सम्झें, तिहार सम्झें, सम्झें अरू चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्ला–अग्ला पहाडहरू !
गाउँभरि रङ्गीचङ्गी खेले होलान् देउसी–भैलो
यसपालि त फेरुँ भन्थे चौबन्दीको धूलो–मैलो
रोपी होलिन् बहिनीले आँगनमा सयपत्री
बिर्स्यो भनी रोई होली मैले सम्झें कति–कति !’

दसैं मुख्यतः दुई पुस्ताको चाड हो । २५ वर्षअघि र पछिको पुस्ताको । अगाडि हाँसो, उल्लास र खुसीको परम्परा छ । पछाडि चिन्तन, पीडा र व्यवस्थापनको समस्या । त्यसैबीच, आफ्ना रचनाहरूमा सधैं खस्किँदो मानवीयताप्रति जन–बोलीमा तीखो टिप्पणी गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा ‘दसैंताक’ मानवीयता निकै खस्किने कुराले निकै दिक्क भए । पशुत्व प्रवृत्तिको उत्कर्ष र चर्किंदो उत्सवप्रति चिन्तित ।

‘त्यो बोकाले खाइरहेछ खास घाँस
हामीहरूको अर्कै यहाँ छ अनाज,
त्यो कालो छ हामीहरूको रङ सेतो छ
गाढा गाढा !
क्या मात्तेको मोटो पशु छ छाडा !
आउला दसैं ! यसको बलिदान !
हाम्रो उत्सव !’

दसैं वा कुनै पनि सांस्कृतिक उत्सवमा बलिप्रथाको विशेष महत्व देख्छन्, पण्डाहरू । बुद्धको देश भन्न पनि लाज लाग्नेगरी आँगनभरि लिपिन्छ रगत र हुन्छ, कतै नौला, कतै देवीको भयङ्कर पूजा । रमितेहरूलाई रति घिन लाग्दैन, विस्मित हुनेगरी । तर, प्राध्यापक शिवगोपाल रिसालको कवित्व खोतलखातल गर्न चाहन्छ, ‘दुर्गा पूजा र बलिको रहस्य ।’ र, कुप्रथाको अवशेषविरुद्ध घृणा जगाउन चाहन्छ, रमिते सनातनीहरूका मनमा ।

‘बोकादि काट्नु नै धर्म यदि साँच्चै हुने भए
बगरेजति धर्मात्मा धरामा नहुने थिए ।
काटियो जब त्यै बोको, पुण्यात्मा भो, पवित्र भो,
भान्सामा उक्लियो मासु के यो वैदिक धर्म हो ?’
दसैंमा यदि कुनै कुराले कविहरूको चित्त बढी रोएको छ भने, त्यो हो बलि–प्रथा । कवि किशोर पहाडी पनि त्यही लहरका उल्लेख्य अभियन्ता हुन् । पशु भनिएको प्राणिको हत्यामा समवेदना आत्मसात छ, पहाडीको ।

‘सबैलाई आज दसैं लागेको छ,
खुसी नै खुसीको आभा छाएको छ,
म यो दसैंमा काटिन लागेको बोको
खुसी छैन बरु आँसु आएको छ ।’

यस्तोमा कवि जगदीश घिमिरे ‘दसैं आयो, दसैं आएन’ भन्दै थाहा नभएको रहस्य विशेष रहस्य उद्घाटित गर्छन् । भन्छन्, पशुको त नाम मात्रै हो, यथार्थमा नरबलिको उत्सव भइरहेको छ, बर्सेनि ।

‘नौरथाका नवै रङ बोकेर
नौदुर्गाका नवै बैंस टिपेर
नौरत्नका नवै जुहार सिउरेर
के–के न खाउँला, के–के न लगाउँला
भन्दै दसैं आयो
जनावर मात्र होइन,
निर्धा, निमुखाहरूको समेत बलि खायो ।’

दसैंमा चेलीहरूको छुट्टै सामाजिक पीडा छ । कवि विनय रावल ‘फूलमायाको दसैं’ बारे जिज्ञासु र स्वयम् विस्मित छन् । भन्छन्, ‘परार साल मुङलिङमा फूलमाया भेट हुँदा मैले सोधेको थिएँ– यसपालिको दसैं कसरी बित्यो ? तिनले बडो मलिन अनुहार लाएर भनिन्, राम्रो लुगा लाउने रहर मेट्न सकिनँ दाइ ! यो वर्ष म बम्बै पुगें । बम्बैमा बाटोमा हिँड्दै गर्दा एकदिन टाढाबाट कसैले इसारा गरिन् । अनुहार परिचित लाग्यो । अनायास मुखबाट निस्क्यो– ‘फूलमाया !’ फूलमायाले रुँदै भनिन्– दाइ ! यसपल्ट तपाईंले किन सोध्नुभएन, दसैं कसरी बित्यो ?

हिन्दू सनातनीहरूले दुर्गा र रामको विजयोत्सवको मिथकका रूपमा वाचन गरिने कथा र दस दिनसम्म मनाइने चाड खासमा घटस्थापनाबाट सुरु हुन्छ । परिस्थितिसँग सापेक्षित हुँदै जाने क्रमको पछिल्लो संस्करणमा २०४७ सालको दसैंताका मेरो किशोर मनसमेत न निकै उद्देलित भयो । ‘घटस्थापना’कै दिन कुल–पितृ, भाकल बुझाउनुपर्ने अन्धविश्वास र बहानाहरूबाट आजित थियो, समय पनि ।

‘प्रत्येक वर्ष आँगनमा बोकाहरू ढालिने परम्पराले
अक्लान्त छन् मान्छेहरू
के थाहा भोलि घटस्थापनाका जमराहरूले
सिर्जना उमार्न नसकेर
जिन्दगीबाट वञ्चित हुनुपरोस् !
नानीहरू बन्द गर दसैं आयो खाउँला–पिउँला
पुराना धूनका मुक्तकहरू
अब आँगनमा रगत पोखिनुहुन्न
रगतमाथि चाड मौलाउनुहुन्न ।’
यता, तिनै दिनमा कवि मनु मन्जिलले सोधे ‘बेखबर’हरूसँग के छ खबर ? ‘दसैंबाट दसैं हराएको खबर छ–छैन अखबारमा ? शरद भुइँमा ओर्लेको छ, स्कुल मावल गैसकेको छ । केही आएन भन्न असजिलो छ । तथापि दसैं नआएको कुरा कतै छ–छैन सहरमा ?

०००

‘दसैं आयो, पाती फुल्यो, खाउँला पिउँला, कहाँ पाउँला ?, चोरी ल्याउँला !, धत् पापी ! छुट्टै बसौंला !’ लोक जीवनमा घन्काउँछ, कट्वालले दसैं सूचना । दसैंसँग जोडेर विवेकको प्रश्न पनि आउँछ । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई !’ ‘धनीलाई दसैं, गरिबलाई दशा !’ ‘हुनेलाई दसैं, नहुनेलाई बसैंं !’ प्रचलित नेपाली उखान बोल्छन्, नेपाली समाजको वर्ग विभेद । आडम्बर । यथार्थ । चोरेर पनि दसैं मनाउन चाहन्छ, मनको एउटा कुनो । अर्को कुनोमा छ विवेक । खबरदार ! घाँटी हेरेर हाड निल्नुपर्छ । दुर्घटनाको जोखिममा समाजलाई किन लाने । ‘औंलामा दसैं’ गन्छन्, कवि फणिन्द्र नेपाल, जसलाई दसैंबारे बाल–सुलभ प्रतिक्षाले निकै जिज्ञासु र भावुक बनाएको छ ।

‘दसैं नजिक आउन लाग्दा हातलाई के सुझ्यो
औंला गनेर औंला उफ्रिन थाले
औंला भाँचेर औंला रमाउन थाले
दसैंको कुरा गर्दा हातले के बुझ्यो ?
औंला आफू–आफू गाउन थाले–
दसैं आयो, खाउँला–पिउँला, कहाँ पाउँला ?’

‘दसैं आएछ’ कवि नेत्र दाहाल सूचना दिन्छन् । सुन केवरा सुन जस्तै फुलिरहेछ । दूध केवरा दूध जस्तै रमिरहेछ । वर्षाद्, बादल र हिलो पनि त छैन । त्यसैले हिमाल हामीलाई हेरिरहेछ । बाबा ! अब त दसैं आएछ ।’ दसैं अभिव्यक्त गर्ने सन्दर्भमा छोराको जिज्ञासामा बाबुको आफ्नै तर्कना छ, परिवेश भित्रभित्रै निरास छ । दाहाल भन्छन्, ‘तर, बाबाले, फूल र हिमालको आकर्षण छैन । न त मालाश्री र बाजाले उमङ्ग ल्याएको छ । विवश छ आर्जन बक्यौताले थिचिएर, खरानीको थुप्रो शीतले थिचिए जस्तै । भन्न सक्तैन छोरा ! दसैं आएछ ।’

‘फेरि दसैं आयो’ कवि विधान आचार्य पनि स्वर खाप्छन् । तर, उनलाई आशङ्का छ, विगतको अनुभव दोहोरिएर कतै चाड–पर्व खल्लो हुने त होइन । उठीबास लाग्ने पो हो कि ! दसैं दशा हुने पो हो कि ?

‘पोहोर साल दसैं आयो रुवाएर गयो
उठीबास गर्न हो कि अहिले फेरि आयो
छातीभित्र भर्भराउँदो आगो बाली आयो
बर्सैपिच्छे दसैं आयो दशा बनी गयो ।’
कवयित्री झमक घिमिरे पनि ‘विवशताभित्रको दसैं’सँग साक्षात्कार छिन् । प्रत्येक वर्ष नवीन उमङ्ग बोकेर घर–आँगनमा भित्रिने दसैं घिमिरेलाई ‘विचरो’ लाग्छ । अब आइ हालेपछि जसो–तसो स्वागत गर्नै पर्‍यो ।

‘समयले नयाँ दसैंको उद्घाटन गर्दै छ
स्वास्नीको थोत्रो फरियाको प्वालबाट
एउटा नयाँ दसैंले च्यामेको घरसम्म चिहाइरहेछ
प्रत्येक वर्ष नवीन उमङ्ग बोकेर
घर–आँगनमा भित्रिन्छ विचरो दसैं
एक लहर खुसी बोकेर ।’

यस्तोमा मन नलागी–नलागी शुभकामना दिन्छन् कवि रमेशचन्द्र राई ।
‘अहिले मान्छेहरूको बस्तीमा, दुःखको ग्रेटवाल तेर्सिएको छ । तब त म
शुभकामना बाँड्न सकिरहेको छुइनँ । तर, पनि अवस्थाको थकित पयरहरूलाई
मेरो सहानुभूति छ । आँसुको ज्वारले डुबाएको जिन्दगीहरूलाई, मेरो शुभकामना छ । विजया दशमीको शुभकामना ।’ कवि देवान किराती दसैंलाई युगौंदेखि घिस्रिरहेको चिप्लेकीरा ठान्छन्, शुभकामना भन्दै गर्दा । उनलाई लाग्छ, हाम्रो दिलको बीच बाटोबाटै एकोहोरो घस्रिरहेछ चिप्लेकीरा दसैं ।

‘सुदूर कथाको विजयी आत्मरतिमा हामी
निधारभरि छापिरहेका छौँ शुभ–मङ्गलम् !
र, पनि हामी वर्तमान हारिरहेका छौँ
चिच्याएर पनि चुपचाप मरिरहेका छौँ
जसरी चिप्लेकीरा ।
युगौंदेखि बिनागति/बिनागन्तव्य
हाम्रो दिलको बीच बाटोबाटै एकोहोरो घस्रिरहेछ
दसैं यो वर्ष पनि त्यसरी नै घस्रिरहेको छ
र घस्रिरहनेछ युगौंसम्मै जसरी चिप्लेकीरा ।’

शुभकामनाको शाब्दिक–मानसिक वातावरण जतातातै फिँजारिएको यस्तै दिनमा एक साल कवि विवश पोखरेलले उद्घोष गरे, ‘यसपालि हामीले दसैं मनाएनौं’ । उनले देखे तराईको खेतमा दसैं, सनपाटको बालीमा लहराएको । सनातनी बाबुले यस्तै सोच्यो । पुर्खाको बिडो थाम्नुथियो । तर, खेतमा आशाका जुटहरू सप्रिएनन् जुन वर्ष, त्यो वर्ष दसैं विलिनो भयो ।
‘हो, यसपालि हामीले दसैं मनाएनौं
केही घामले झुक्यायो
केही पानीले झुक्यायो
अलिकति त बाको लिँडे बानीले झुक्यायो ।’

०००

परिवेश जस्तो भए पनि दसैंको आकर्षण घटेको हवोइन । कविता, गीत, गजल, मुक्तक, कथा, निबन्ध, नाटक जे–जेमा जसरी सादृश्य भए पनि दसैंछेक आफ्नो संस्कृति सम्झेर भुतुक्क हुनेहरू कम छैनन् । गजल गो रोहित राना दसैंको मोहनीमा सम्झन्छन् मामाघर, सम्झन्छन् इष्ट–मित्र । दसैंको चुड्कामा नाच्ने रहर अझै उस्तै छ । भन्छन्, ‘यसपालि दसैंमा मामाघर जाइन्छ क्यारे । सबै मिली मिठामिठा परिकार खाइन्छ क्यारे । हर्ष–उल्लास सबैका मनमा इष्ट–मित्र जुटाउँछ, बारुली यो कम्मर पनि नाचदै मर्काइन्छ क्यारे ।’ यही बेला कवि नवराज सुब्बा अन्तर्क्रिया गर्ने मुडमा हुन्छन्, प्रिय दसैंसित । ‘मलाई सुटुक्क दसैंसित, एउटा कुरा सोध्न मन लाग्छ । केवल पाहुना भएर मात्र आउँछौ तिमी । के यो लालबाबुको घरमा सदा बस्न मिल्दैन ?’

कवि हेमन यात्रीलाई लाग्छ, दसैं उनीसँग रिसाएको छ । भन्छन्, ‘दसैं रिसाएर फर्कियो होला मसित । बोलाउन सकिनँ आँगनमा । र, सकिनँ नयाँ दुलही झैं सिँगारी
घरभित्र हुल्न । यो वर्ष पनि । दसैं दुखिरहन्छ घरको आँगनमा । सिकुवामा । र, दुखिरहन्छ, आफ्नै नानीहरूको शरीरमा । अझ दुखाइरहन्छ, बर्साउँदै ढुङ्गाहरू । यही दिलमा ।’ पृष्ठभूमिमा कवि दुबसु क्षेत्री ‘दसैं’लाई ‘दशा’ ठान्छन् । सम्झँदै मथिङ्गल रिङ्गन्छ, आडम्बर परम्पराको भुमरीमा । भन्छन्, ‘जति–जति समाधानका रामहरू निकाल्छु । उति–उति समस्याका रावणहरू भेष बदल्दै आउँछन् ।’

‘गरिबलाई दसैं–तिहार कहिल्यै नआओस् । प्रत्येक साल रिनको भारी बोकाउने यी चाड गरिबका लागि किन आउनु ?’ कवि अच्युत घिमिरेको यस्तो प्रश्नको जवाफ यो देशको संसद्सँग पनि छैन । संसद् त दसैंमा महँगी र ऋणको भारी जनतालाई बोकाएर, व्यङ्ग्य गरिनलायक बनेको छ । कवि गजेन्द्र बुढाथोकी यस्तै कटाक्ष कस्छन्, बहुमत प्रक्रियाको माला पहिरिएर सुरुका केही दिन जनप्रिय र पछि धनप्रिय भएकाहरूलाई । आर्थिक पत्रकारसमेत रहेका बुढाथोकी दसैंको लयमा रिमिक्स भर्सन पोस्ट गर्छन्, अहिले सबैभन्दा टड्कारो यथार्थ : ‘दसैं आयो, नेपाल जाउँला, गफ दिउँला, मिडियामा छाउँला, फेरि फर्कौंला, सब चिज बिर्सौंला, खर्च छैन छुट्टै बसौंला ।’

यता, कवयित्री दीपा राई पुन दसैंलाई अहिले चलिरहेको पहिचानको मुद्दामा जोडेर बुझाउन चाहन्छिन् । भन्छिन्, हाम्रा संस्कारहरूलाई पहिचानको अर्थबोध र सत्यको अनावरण हुन बाँकी छ ।
‘फरक पहिचानले स्थापित
आत्मा–गर्वका संस्कारहरू
अर्थबोध भएर अर्थान्तर होस्
दोष–रोस भुलेर समग्रमा
आफ्नो आफन्त सौहार्दताले
रमाइलो रमझम दसैं होस् !’

फरक बुझाइको अनन्त यात्रा सकिएको छैन, दसैंबारे । जिज्ञासको महासागर छिचोल्न सजिलो साधन उपलब्ध छैन । गजलगो कल्पना पौडेल जिज्ञासु पनि दुखेकी छन्, संस्कारका नाममा गरिने हत्या–हिंसाबाट । अनपेक्षित कुसंस्कार झाँक्री–नाच कहिलेसम्म हेरिरहनुपर्ने होला ?

‘अझै कति राँगा–खसी यो दसैंमा मर्ने होलान् ।
मानवरूपी दानवले आफ्नो पेट भर्ने होलान् ।
चाड–पर्वको निहुँ पारी प्राणीहरूको हत्या गर्दा,
सृष्टि रच्ने प्राणदाता तीन–छक्क पर्ने होलान् ।’

दुर्घटना, बाढी–पहिरोमा पर्ने विस्थापित, बेपत्ता हुनेको पीडा बेग्लै छ । दसैंको मुखमा अभाव बिझाउँछ, कथित राम–राज्यको राहत बाणले छिया–छिया हुन्छ, पीडित आस्था । कवि रामचन्द्र थापा कामना गर्छन्, कमसेकम दसैंमा नहोस्, यस्तो अनपेक्षित ।

‘आयो आयो दसैं ढोल बजाई
नजाओस् दसैं ऋण बोकाई
नजाओस् दसैं जुवा खेलाई
कसैलाई हँसाई कसैलाई रुवाई ।’

कवि हरिहर दाहाल पनि क्षुब्ध छन्, ‘दसैं, ब्याज र नरपिसाचहरू’देखि । परदेशबाट घर आउन नपाउनुको पीडा त छँदै छ, गाउँमा भएका आफन्तहरूको दसैं पनि ऋणको दलदलमा परेर सुरक्षित नहोला कि भन्ने पिरलो छ । परदेशबाट दसैंमा घर सम्झेर लेख्छन्, ‘बालीनालीहरू थन्क्याउन थाले होलान् गाउँघरतिर । मकैका थाङ्ग्राले बारीका पाटाहरू सजिएका हुन् । लिङ्गेपिङ र रोटेपिङ तयारी समिति बन्यो रे ! रानीवनबाट दरिला खम्बाहरू ल्याउनू । भरपर्दा पिर्काहरू बनाउनू । भाँचिन सक्छन् हुइँकिँदा । डोरेपिङका पोयाहरू कसेर बनाउनू । चुँडिन सक्छन् मच्चिँदा । अरु खै के लेखौं र ! हजुरबा र हजुरआमासँग बिन्ती छ । अर्को साल जागिर छोडेरै भए पनि आउँछु बरु । मलाई ‘पराधिन जीवनबाट मुक्त’ हुने आशीर्वाद दिनू । मेरा नाममा जमरा र टीका सेलाइदिनू ।’

त्यसमाथि ‘प्रवासीको दसैं’ कति पीडा र रहर मिश्रित हुन्छ, आचार्य प्रभालाई राम्ररी थाहा छ । दसैंमा घर–गाउँ सम्झनुको आनन्द बयान गरी साध्य हुन्न । त्यही आनन्दको मानसरोवरमा निर्लिप्त हुन चाहन्छिन् उनी । भन्छिन्, ‘उता घर, आँगनमा दसैंको जमरामा सरर हावा बयेली खेल्दै मनोरम उच्छवासको आनन्द लिँदै होला । घर, आँगन लिप्नमा छोरी, बुहारी व्यस्त होलान् । लालाबालाहरू आँगनभरि दसैंको रमझममा उफ्रँदै, कुद्दै होलान् । यता, प्रवासी मनहरू भने केवल सम्झना, कल्पनामा हर प्रहर बिताउँदै उही पुराना दसैंकै दृश्यहरू आँखाभरि पालेर क्यालेन्डर पल्टाइरहेछन् । घर–आँगनका रमाइला तस्बिरहरू मनमा सजाइरहेछन् ।’ यही मेसोमा ‘मेरो आँगनमा दसैं पर्व’ आयो है भन्दै कवि पुरुषोत्तम सुवेदी पुलकित हुन्छन् । मनको पीर मनलाई थाहा त छँदै छ । हरेक दसैंमा बेपत्ता घाउ बल्झिन्छ, कि लास देऊ कि सास देऊ !

‘पोहोर साल झैं अहिले पनि हजुर बाको हातको टीका लाउने हो ।
पाखाबारीको पिङमा साथीभाइसँग टीका–जमरा लगाई रमाउने हो ।
भाइ गोरे पनि घरमा भए त रमाइ–रमाई खेलिन्थ्यो होला ।
बेपत्ता पारेकै चार वर्ष भो खबर दिए त किरिया गरिन्थ्यो होला ।’
कवयित्री कविता शर्माका विचारमा दसैं धेरै दिनसम्म मनलाई सकस हुने गरी आउँछ । कताकति उनलाई दसैं एउटा औपचारिक र मूल्यहीन प्रक्रिया जस्तो लग्छ । भन्छिन्, ‘हाम्रा कित्ताभित्रका बुकुराहरूमा बिनामूल्यको आँसु भई आएको छ । बस्, यहाँ दसैं आएको छ । मान्यजनका आशीर्वाद पनि मुटु छिचोल्ने उपहार भइदिन्छ । सयपत्री फुल्ने पत्थरहरूमा बम फुलिरहेको बेला यो । खै कुन हैसियतले दसैं मनाउँछ मान्छेले ? ताल र बेतालसँग आएको छ दसैं ।’
‘यसपालिको दसैं’मा कवि मीनकुमार नवोदितका गुनासा आफ्नै छन् । के गर्ने ? नखाउँ भने दिभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार । २०६१ कात्तिकअघिको अनुभूति । दसैं मान्ने कि नमान्ने, अप्ठेरो सर्त छ । छटपटी जेलिएको छ, निरुत्तरित ।
‘हिंसाको जमरा सिउरिएर
आँसु र रगतमा मुछिएको टीका
खै ! के लगाउनु आमा यसपालिको दसैंमा ।
गाउँमा पिङ पनि नलाग्ने भएको छ ।
देउराली पनि खुसीले नहाँस्ने भएको छ
पोहोरको दसैंमा थुप्रै शुभकामनाका
आसिक दिँदै टीका नलगाएको छोरो नहुँदा
त्यो आमाबाबुको घरमा दसैं कसरी आउला ?’

दसैंमा कविका आशा–अपेक्षा पनि निकै छन् । कवि खड्क भलञ्जा छन्त्याललाई लागिरहेको छ, परिवर्तन बुझ्ने जमातको अभाव घटाउनुपर्छ । आगोलाई उज्यालो र तापको अर्थमा बुझ्दा आनन्द आउँछ, डढेलो मात्र ठानिरहँदा न पीडा हुने हो ! आवश्यकता छ सकारात्मक सोचको ।
‘दसैं तिमी आफ्नै महत्व र परिभाषा लिएर आऊ ।
परम्परा र संस्कृति जगेर्नाको जागृति लिएर आऊ ।
चाडपर्वसँगै भित्रिने विकृति, विसङ्गति नअँगालीकन ।
पारस्परिक मेलमिलाप र एकताको भावना लिएर आऊ ।
विकासका निम्ति ज्ञान र चेतनाको लहर लिएर आऊ ।
परिवर्तनका लागि सकारात्मक सोच र विश्वास लिएर आऊ ।’

दसैंमा आइरोनी पनि कम हुँदैन । बालकदेखि वृद्धसम्मलाई छुन्छ हास्य–व्यङ्ग्यले । माछा–माछा भ्यागुतो हो कि भन्ने त्रास उस्तै छ सेरोफेरोमा । कुरी–कुरी हुनेगरी आडम्बरीहरूलाई कवि अभयराज जोशी घोचपेच गर्छन् । दार्जिलिङतिर प्रचलित हम जायगाको चुटकिलाजस्तो चस्स मन छुने भावमा जोशी भन्छन्, ‘दसैं आयो, दसैं आयो ! रामले जुवा खेल्दा सबैलाई हरायो । आफू हारेको देख्दा हरि करायो । तिनीहरू कराएको सुन्दा । एउटा बूढा बा सोच्न थाले, हैन ! यिनीहरूको बुद्धि कता हरायो ?’

त्यसैमा स्वर खाप्छन्, कवि प्रेम ओली । ‘पोहर पनि आयौ । परार पनि आयौ । यसपालि त कुनै हालतमा नआउनु भनेको थें । तिमी त यसपालि झन्, गर्वका साथ गड्गडाहट आयौ । अब आइहाल्यौ आँगनमा । सके खसी–बोका, नसके ठुलो खसी भए पनि ल्याउनू । र यो पालि ससुराल जाँदा कमसेकम बस भाडा उठ्ने गरी खल्तीमा छाउनू ।’

केही वर्षदेखि दुःख–पीडाको अभिव्यक्ति निरन्तर छ, हाम्रो साहित्यमा । तर, दुःख–सुख, दिन–रात, अँध्यारो–उज्यालो, घाम–छाया त दुवै सँगसँगै रहने अनुभूतिहरू हुन् । कुरा बुझ्दा–बुझ्दै पनि रात, अँध्यारो, छाया र दुःखको चर्चा बढी छ, विमोचित अभिव्यक्तिमा । त्यसले नै छुन्छ, त्यसैमा जीवन हुन्छ भन्छन्, भावुकहरू । त्यही लहरमा, ‘आकास हेर्दै दोबाटोमा’ उभिएका गीतकार गायत्री लम्साल पनि हरेक दसैंमा गुन्गुनाउँछन्, मनमा रहर र आँखामा पीडा भरिएको गीत ।

‘कसले तोक्यो होला कठै गरिबीको सीमा ?
दसैं कहिले झुल्किएन मेरो मझेरीमा ।
अरूले झैं दसैं मान्ने दिन कहिले आउला ?
शिरमाथि जमरा र टीका कहिले लाउँला ?
यसै जाने हो कि जीवन आउँछ घुमीफिरी
पर्खिएर बसेको छु पूर्वतिर हेरी ।’

भनिन्छ, एक माघले जाडो जाँदैन । कुमालेको चक्र घुमिरहन्छ । भविष्य त अनिश्चित छ । वर्तमान बनाऊ, भविष्य आफैं बन्छ । नकारात्मक सोच्दा पानी माछाको जुठो हो, सकारात्मक सोच्दा गङ्गाजल । तीन सय ६५ दिनमा दुःखी हुनका लागि हामीसँग तीन सयभन्दा बढी दिनहरू छँदै छन् । खुसी हुन पाइने उपलब्ध अवसरहरू कमै हुन्छन् । त्यसैले दसैं उल्लासको एउटा राम्रो अवसर बनोस् । आशा–निराशाको समीक्षा र विशेष टिप्पणी समयले गर्ला । बाबु त्रिपाठीका शब्दमा भन्दा :
‘यो दसैं जसोतसो टर्‍यो
एउटा सम्झना भएर
नानीहरूको आस भएर
गयो दसैं, ठिकै भयो ।’

यस्तै हो, चाड–पर्वहरू आउँछन्–जान्छन् । जीवन यात्राका अनेक मोडमा व्यक्तिका अनुभूतिहरू फरक–फरक हुने नै भए । अभिव्यक्तिमा भने दुःखकै बाहुल्यता छ । सापेक्षताको सिद्धान्तअनुसार समाजको दुःख सार्वजनिक गरेर कविहरू आफूलाई बढी नै दुखाइरहेका पनि छन् । तर, के कविले भइरहेको दुःखमा अरू दुःख थपेर दुःखको पहाडलाई अझ अग्लो बनाउनु उचित हो ?

यो दुखी सिलसिला कहिलेसम्म चल्छ ? के हामी उल्लासको उत्सव पनि मन खोलेर मनाउन असमर्थ छौं ? यस्ता कतिपय गुम्फनलाई सम्बोधन गर्दै कवि स्वागत नेपाल भन्छन्, ‘अनुभूत गरेर होइन, कल्पना गरेर मात्र संस्कृति र समाजलाई रचनामा उतार्ने सिकलाइ गर्न थालेपछि यस्तो हुन्छ । सिर्जनामा त्यही कारणले दुःखको बाहुल्यता देखिएको हो । त्यसो त अचेल दुःख देखाउँदा पनि कृत्रिम दुःख देखाइएको छ । तर, यो बहिस्करणमा पर्छ एकदिन ।’