Rumpum Advertisement
Dazzu

न गोजीमा पैसा न दसैंको रौनक

न गोजीमा पैसा न दसैंको रौनक

बबिता लिम्बू
विराटनगर, १० कात्तिक । जताततै दसैंको माहोल छ । तर पनि विराटनगर–१ का चन्द्र राजवंशी सबेरै ठेला लिएर घरबाट निस्किनछन् । उनले ठेला चलाएर परिवारको छाक टार्न थालेको २२ वर्ष भयो ।

ठेलासँग घरबाट निस्कियो, हार्डवेयर छेउतिर ग्राहक पर्खेर बस्यो अनि कमाई भयो भने एकदुई पैसा लिएर घर फर्किनु उनको दैनिकी हो । तर चैतमा लकडाउन भएयता सात महिनामा उनी धेरै पटक खाली हातै घर पुगेका छन् । हुन त परिवारमा कमाउने उनी मात्रै भने होइनन् । २९ वर्षीय उनका छोरा सफारी चलाउँछन् । तर छोराको पनि लकडाउनयताको कमाई बुबाको जस्तै लगभग शून्य छ ।

कोरोना महामारी आउनुअघिसम्म पाँच जनाको परिवार पाल्न राजवंशी बाबुछोरालाई खासै समस्या थिएन तर अहिले बिहान–बेलुकीको छाक टार्नै मुस्किल परेको राजवंशी बताउँछन् ।

कमाई नभएको बेला दसैं, तिहार र छठ जस्ता पर्व सुरु भइसकेकाले उनलाई झन् बढी पीर परेको छ । ‘पैसा छैन भन्ने हामी त बुझौँला तर सानी नातिनी छे उसलाई कसरी बुझाउने ?,’ राजवंशी दुखेसो पोख्छन्, ‘छाक टार्न नै मुस्किल परेको बेला यी चाडबाड कसरी मनाउनु ?’ बेखर्ची भएका बेला यसपालिको दसैंको रौनक आफ्नो परिवारमा खासै नलागेको राजवंशीले मलिन स्वरमा बताए ।

सप्तरी प्रिपाका राधेश्याम रामले विराटनगरलाई आफ्नो कर्मभूमि बनाएको तीन दशक बढी भइसक्यो । विराटनगरको मुटु मानिने ट्राफिक चौकमा उनको जुत्ता–चप्पल मर्मत एवम् पालिस गर्ने पसल छ । दसैं, तिहार खासै नमनाउने भए पनि उनी हरेक वर्ष छठ मनाउने खर्च लिएर परिवारलाई भेट्न दसैंअघि नै प्रिपा पुग्थे । तर लकडाउन भएयता कमाई नभएकाले उनी तिहारपछि मात्रै घर जाने योजनामा छन् ।

‘लकडाउन सुरु भएपछि कमाई बन्द भएको छ,’ आफ्नो आम्दानीबारे राम भन्छन्, ‘पहिले खर्च कटाएर दिनको पाँच सयसम्म बच्थ्यो तर आजभोलि काम नै हुँदैन ।’ आफूहरूले छठलाई भव्य तरिकाले मनाउने भएकाले दसैं, तिहारमा केही आम्दानी गरेर मात्रै घर जाने उनी बताउँछन् ।

‘गोजीमा पैसा नभएपछि चाडबाड खासै नलाग्ने रहेछ,’ राम भन्छन्, ‘अघिल्लो वर्ष मसँग अलिअलि भए पनि पैसा थियो, आम्दानी राम्रै भएको थियो । यतिबेला त म घर पुगिसकेको थिएँ । तर यसपालि आम्दानी जिरो छ, पसलमा नै छु । चाडबाड हो जस्तो लागेकै छैन ।’