Rumpum Advertisement
Dazzu

दसैँमा दस

दसैँमा दस

१. घाँटी हेरी हाड निल्नु :

समयसँगै युवापुस्तामा फेसन, जमघटको लत बढ्दै गएको छ । जसका लागि उनीहरू बढी पैसा खर्च गर्न उद्यत् हुन्छन् । ऋण गरेरै भए पनि चाड पर्व मनाउनुपर्छ भन्ने सोचका कारण उनीहरूले तत्कालको सुखका लागि भविष्यको समस्या उठाउँछन् । साथीभाइलाई देखाउन र आफ्नो रहर पूरा गर्नका लागि अभिभावकलाई पैसा मागेर हैरान लगाउने मात्र होइन, चोर्नेसमेत गर्छन् । आफू त खर्चालु र गैरजिम्मेवार बन्छन् नै, अभिभावकलाई समेत समस्यामा पार्छन् । त्यसैले चाडपर्वलाई जति पैसा छ, त्यति नै खर्च गरेर मनाउनु उपयुक्त हुन्छ ।

२. थोरै खानु :

दसैं भन्नेबित्तिकै मासु खाने पर्वका रूपमा समेत परिचित छ । अरू बेला कहिलेकाहीं मात्र मासु खाने परिवारले पनि दसैंको समयमा चाहिँ तीन–चार दिनसम्म कुहाएर भए पनि मासु थुपारेर खाने चलन छ । जसले रोग मात्र निम्त्याउँछ । धेरै र अपच हुने गरी खानु राम्रो होइन । त्यसमा पनि मदिराको सेवन गर्नेहरूको स्वास्थ्य बिग्रने मात्र होइन, सामाजिक र पारिवारिक सम्बन्ध समेत बिग्रिन्छ । त्यसैले खान हुने कुरा थोरै मात्रामा खाए स्वास्थ्य र समाज दुवैलाई राम्रो हुन्छ ।

३. पहिरनमा ध्यान :

पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ । युवतीहरूले छोटा पहिरन लगाउने र युवकहरूले ‘रफ’ बनेर हिँड्दा समाजले उनीहरूलाई हेर्ने नजर राम्रो बन्दैन । उत्ताउला मानिसले लगाउने जस्तो महँगा र ज्यादै झिल्के–मिल्के लुगा लगाउनु पनि ठिक होइन । हुन त पोशाक लगाउने कुरा व्यक्तिको स्वतन्त्रताअन्तर्गतको कुरा हो । तर, पोशाक यस्तो हुनुपर्छ, जसले उसको सौन्दर्य निखार्नुका साथै सभ्य, असल र मिलनसारसमेत देखाओस् ।

४. सद्भाव साटासाट :

जसले जसरी बुझे पनि दसैं सद्भाव साटासाट गर्ने मुख्य पर्व हो । ठूलालाई आदर गर्ने र आशीर्वाद थाप्ने पर्व हो । त्यसैले यो समयमा खान, लाउन र रमाइलो गर्नभन्दा पनि आपसी सद्भाव, मेलमिलाप साटासाटलाई प्राथमिकता दिनु राम्रो हुन्छ । यसर्थ संस्कृति र संस्कारले सिकाएका ज्ञानलाई सिकेर आफ्नो जीवनमा लागू गर्न सके सुनमा सुगन्ध हुन्छ ।

५. अरूको सम्मान :

मानिसले आफ्नो सुख, सुविधा र मनोरञ्जनका लागि काम गर्दा अरूको अधिकारमा असर पर्छ कि भनेर सधैं ख्याल राख्नुपर्छ । जस्तो कि सार्वजनिक बसमा यात्रा गर्दा अरू यात्रुहरूलाई असजिलो हुने गरी बसिदिनु हुँदैन । मादक पदार्थ खाएर होहल्ला गर्ने, रमाइलो गर्ने भन्दै ठूलो आवाजमा गीत घन्काएर अरूलाई बाधा पु¥याउने गर्नु हुँदैन । मै खाउँ मै लाउँ प्रवृत्तिलाई दुरुत्साहन गर्नुपर्छ ।

६. जुवातास बाइबाइ !

जुवातासको लतले मानिसलाई करोडपतिबाट रोडपति बनाउँछ । परिवारमा मिलेर खेल्दा त केही छैन, तर साथीभाइको जमघटमा खेल्दा लहडै–लहडमा धेरैले घरबार गुमाएका छन् । त्यसैले तासजुवामा भुल्नुभन्दा पिङ खेल्ने, चङ्गा उडाउनेलगायतका रमाइला खेल खेल्न सकिन्छ । साथै गाउँ–ठाउँमा छुट्टै सानोतिनो प्रतियोगितात्मक कार्यक्रम गरेर पनि रमाइलो गर्न सकिन्छ ।

७. सावधानी :

दसैं–तिहार जस्ता पर्वको समयमा चोरी–डकैती धेरै हुन्छन् । त्यसैले हरदम सावधानी अपनाउनुपर्छ । बाहिर जाँदा छिमेकीलाई खबर गरी ढोकामा ताला लगाउने, मोटरसाइकल, साइकलको सुरक्षामा ध्यान दिने, धेरै गहना लगाएर नहिँड्ने गर्नुपर्छ । पिङ खेल्दा हुनसक्ने दुर्घटनाप्रति सावधानी अपनाउनुपर्छ ।

८. अन्नको सुरक्षा :

दसैंमा टीकाको रूपमा धेरै मात्रामा अन्न खेर जान्छ । त्यसलाई रोक्न अबिरको टीका प्रयोग गर्न सकिन्छ । चामलकै टीका प्रयोग गरे पनि निधार भरिने गरी होइन, थोरै लगाउँदा अन्नको बचत हुन्छ । भोकमरीले नेपालकै कैयौं ठाउँमा मानिसहरूको मृत्यु भइरहेको समयमा हामी नयाँ पुस्ताले अन्न बचाउन आफ्नै घर–गाउँबाट अभियान सुरु गर्नुपर्छ ।

९. बलिप्रथा उन्मूलन :
दसैंमा जनावरलगायतको बलि दिएमा धर्म कमाइन्छ भन्ने अन्धविश्वास व्याप्त छ । कसैलाई मारेर पनि धर्म कमाइन्छ र ? हिन्दू संस्कृतिअन्तर्गतको एउटा विकृति बलिप्रथा पनि हो, जसलाई उन्मूलन गर्न नयाँ युवापुस्ताले अभियान थाल्नुपर्छ ।

१०. दक्षिणा होइन, आशीर्वाद :
दसैंमा कसले कति दक्षिणा दियो, चासोको विषय बन्ने गरेको पाइन्छ । झन् केटाकेटीहरू त दक्षिणा पाउनेबित्तिकै खुसी हुन्छन् । तर, दक्षिणाभन्दा पनि आशीर्वाद, शुभेच्छा र माया आदानप्रदानको पर्वका रूपमा दसैंलाई मनाउन सक्नुपर्छ । किनकि आशीर्वाद, शुभेच्छा र माया पैसाले प्राप्त हुने कुरा होइनन् ।