Rumpum Advertisement
Dazzu

सुन्धारास्थित मस्जिदमा तोडफोड

सुन्धारास्थित मस्जिदमा तोडफोड

काठमाडौ, ८ कात्तिक । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ ।

शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गरेका हुन् ।

एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारोसमेत बन्ने गरेको छ ।

निर्माणाधीन धरहराको ठिकपछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए ।

यस अघि पनि पटक–पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए ।

यस्तै, मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् ।

आजको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए ।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायीरुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।