Rumpum Advertisement
Dazzu

नेपाली खेलाडीको दसैँ : परिवारसँग मनाउने तयारी तर मनमा छैन हर्ष

नेपाली खेलाडीको दसैँ : परिवारसँग मनाउने तयारी तर मनमा छैन हर्ष

शिवहाङ राई

विराटनगर, ८ कात्तिक । खेलाडीले कमैमात्र परिवारसँग समय बिताउने मौका पाउँछन् । खेल्न विभिन्न देश र देशभित्रैका पनि भिन्न–भिन्न स्थान गइरहनु पर्ने भएकाले उनीहरुले न त पारिवारिक जमघट भन्न पाउँछन् न त चाडपर्व नै । तर यसपालिको स्थिति भने केही फरक छ ।

१३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी भएका खेलाडी त्यसपछिका केही प्रतियोगितामा सहभागी भए पनि विगत ६ महिनादेखि घरभित्रै थुनिएका छन् । लकडाउन खुकुलो भएसँगै अन्य क्षेत्र केही चलायमान भए पनि सरकारले अनुमति नदिएका कारण खेलकुद क्षेत्र अझै ठप्प छ ।

खेलकुद गतिविधि केही हुन नपाउँदै हिन्दू धर्मावलम्बीहरुको महान चाड विजयादशमी सुरु भइसकेको छ । कोरोना महामारीका कारण फरक परिस्थितिमा यस वर्षका चाडपर्व मनाउनु पर्ने सबैलाई बाध्यता छ ।

परिवारसँगै बसेर वर्ष २०७७ का चाडपर्व मनाउन पाए पनि खेलाडीहरु मनैबाट भने हर्षित छैनन् । नेपाली नागरिकहरुले विषम परिस्थितिको सामना गर्दै चाडपर्व मनाउनु हर्षको विषय नरहेको उनीहरु बताउँछन् । सुरक्षित रहेर स्वस्थ तरिकाले यसपालिको चाडपर्व मनाउनु पर्ने अवस्था रहेकाले सबैले सरकारले तोकेको स्वास्थ्य सावधानी अपनाउँदै चाडबाड मनाउन खेलाडीहरुले आग्रह गरेका छन् ।

कोरोनामाझ यसपालिको चाडबाड कसरी मनाउने तयारी गरिरहनुभएको छ भनेर हामीले केही खेलाडीलाई जिज्ञासा राखेका छौं ।

सौजन याख्खा, फुटबल खेलाडी, नेपाल पुलिस क्लब

नेपाल पुलिस क्लबका खेलाडी हुन् सौजन याख्खा । अरु वर्षको जस्तै चाडबाडको समयमा मोफसलमा गोल्डकपहरु नभएकाले उनी लकडाउन भएयता घरमै बसिरहेका छन् । परिवारसँग चाडपर्व मनाउन पाउने अवसर पाए पनि कोरोना नभइदिएको भए अझ रमाइलो हुने उनी बताउँछन् । ‘त्यस्तो खासै योजना केही पनि छैन ।

अरु वर्षझै यसपालि पनि घरमै परिवारसँग दसैँ मनाउँछु’ दसैँंको तयारीबारे याख्खा भन्छन्, ‘संक्रमण सबैतिर भएकाले अघिल्लो वर्षजस्तै घुम्न गइदैन ।’ खेलकूद गतिविधि बन्द हुँदा खेलाडीहरुलाई आर्थिक संकट परिरहेकाले पनि यस वर्षको चाडपर्व खल्लो हुने उनी बताउँछन् । ‘एकातिर कोरोनाको डर छ अर्काेतिर हामी खेलाडीको गोजी खाली छ’ याख्खा भन्छन्, ‘तर पनि अहिलेसम्म स्वस्थ छु, परिवारमा पनि हालसम्म कसैलाई संक्रमण देखिएको छैन । सबै सँग बसेर दसैँं मनाउन पाइरहेको छौ त्यसमै खुशी छु ।’

दिपेश कंडेल, क्रिकेट खेलाडी, प्रदेश नं १

दिपेश कंडेल बायाँहाते अर्थोडक्स बलर हुन् । घर सुर्खेत भएपनि कंडेलले विभिन्न प्रतियोगितामा १ नं प्रदेशबाट प्रतिनिधित्व गरिसकेका छन् । उमेरले भर्खर १६ लागेका यिनले एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सबाट खेल्दै अनुभव बटुलिसकेका छन् । दसैँ मनाउन आफ्नो घर सुर्खेत पुगिसकेका यीनलाई पनि कोरोनामय चाडपर्व कस्तो हुने होे भन्न पीर छ ।

‘गाडी खुलेकाले घर आउन पाएँ, नभए विराटनगरमा दसैँं मनाउनु पथ्र्यो’ दसैँं मनाउने विषयमा कंडेलले भने ‘पहिलेको वर्षजस्तै परिवारसँग बसेर दसैँ मनाउछौं तर कोरोनाले गरेर अलि रमाइलो नहोला कि भन्ने भइरहेको छ ।’ जहीँतहीँ कोरोना संक्रमण फैलिरहेकोले घरमा आफन्त, मान्यजनको आउजाउ नहुने भएकाले यसपालिको दसैँं कस्तो हुने हो भन्ने भइरहेको कंडेल बताउँछन् ।

प्रवेश बस्नेत, फुटबल खेलाडी, सातदोबाटो युथ क्लब

नेपालमा कोरोना संक्रमण यस्तो व्यापक रुपमा नफैलिएको र शहीद स्मारक ‘बी’ डिभिजन लिग स्थगित नभएको नभए प्रवेश बस्नेत लगायत सातदोबाटो युथ क्लबको यो वर्षको दसैँं खुबै रमाइलो हुन सक्थ्यो । १२ टिम सहभागी लिगमा उनको टोली आफ्नो ६ खेलसम्म अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा थियो । लिग जारी रहेको र सातदोबाटोको प्रदर्शन उस्तै चुस्त रहन सकेको भए यस वर्षको दसैँंपछि उनीहरु ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा हुने थिए ।

तर यतिबेला भने बस्नेत क्लबको अनिश्चित भविष्यसहित कोरोना महामारीबीच दसैँं मनाउने तयारीमा छन् । ‘दसैँं यसरी मनाउने प्लान गर्दैछु भन्ने त त्यस्तो केही छैन । परिवारसँग घरमा नै दसैँं मनाउने तयारीमा छु,’ बस्नेतले भने, ‘कोरोनाले गरेर माहोल त्यति रमाइलो चाहिँ छैन तर परिवारसँग दसैँं मनाउन पाउँदा खुसी छु ।’

मिनस थापा, क्रिकेट खेलाडी, प्रदेश नं १

पोखरा प्रिमियर लिगका दुवै संस्करण विराटनगर टाइटन्सबाट खेलेका थापा दायाँहाते ब्याट्सम्यान हुन् । विराटनगर स्थायी घर भएका थापा कोरोना महामारीले विराटनगरलाई ज्यादै प्रभावित पारिरहेकाले एकदमै सुरक्षित भएर दसैँं मनाउने तयारीमा छन् ।

‘घरमा सबैलाई डर छ । त्यसैले यसपालि आफन्तकोमा जानेआउने हुँदैन । घरभित्रै नै दसैँ मनाउने तयारी गरिरहेका छौं’ दसैँ मनाउने विषयमा मिनस भन्छन्, ‘अवस्था यस्तो छ सबैले सुरक्षित तरिकाले चाडपर्व मनाउन अत्यन्त आवश्यक छ ।’