Rumpum Advertisement
Dazzu

फ्रन्टलाइनरमा छैन दसैँको रौनक : घर छाडेर ड्युटीमै ब्यस्त

फ्रन्टलाइनरमा छैन दसैँको रौनक : घर छाडेर ड्युटीमै ब्यस्त

अंकिता ताम्राकार

विराटनगर, ८ कात्तिक । नेपालीहरूको महान चाड दसैँको चहलपहल सुरु भइसकेको छ । तर, कोरोना महामारीका कारण दसैँको चहलपहल विगतको जस्तो छैन ।

परिवार तथा साथीभाइसँगको भेटघाट, मिठो खानेदेखि विभिन्न कार्यक्रम गरेर मनाइने दसैँ कोरोना महामारीका कारण प्रभावित बनेको हो ।

अन्य पेशामा आवद्ध पेशाकर्मीभन्दा स्वास्थ्यकर्मीको दसैँ योजना अलिक फरक हुन्छ । चाडपर्व छाडेर उनीहरु काममा सधैं तयार हुन्छन् ।

स्वास्थ्यकर्मीलाई चाडपर्व चुनौतीपूर्ण हुन्छ । परिवारमा बसेर चाड मनाउने सबैको चाहना हुन्छ । तर कोरोना महामारीमा संक्रमितको उपचारमा खटिएका अग्रपंक्तीका स्वास्थ्यकर्मी घरपरिवारसँग रमाइलो गर्न पाउने छैनन् ।

डा. बन्धना झा, छाला विशेषज्ञ क्युटिज केयर क्लिनिक

कोभिडको कारणले पछिल्लो ८ देखि ९ महिनामा नभेटेका कारण हामी दसैेँको क्रममा आफ्ना अभिभावकसँग भेट्न काठमाडौंमा जान चाहन्थ्यौं । तर, संक्रमण थप भयवाह हुँदै गएको हुँदा दसैँ भए पनि हामीले काठमाडौं नजाने निर्णय गर्यौं । हामी दुवै (म र मेरो श्रीमान्) धेरै मानिसको प्रत्यक्ष सम्पर्कमा आइरहेका कारण दसैँको समयमा परिवारलाई भेट्नु उचित लागेन । त्यही भएर योपालिको दसैँमा सबै सुरक्षा उपायहरू र सामाजिक दुरीको साथ घरमा मनाएर बस्ने योजना बनाएका छौँ ।

रेशिका चौधरी, नर्स, सञ्जीवनी अस्पताल

यसपालिको दसैँमा ड्युटी परेको र कोरोनाको कारण पहिलाजस्तो हुँदैन । हामीले जुनसुकै समयमा पनि बिरामीको सेवामा रहिरहनुपर्ने हुन्छ । यही कुरालाई आत्मसात् गर्दै समय मिलाएर, आलोपालो गरेर घर जाने व्यवस्था मिलाएको छु । दसैँमा बिदा नहुनेका लागि तिहारमा बिदा दिने व्यवस्था मिलाइएका हुन्छ ।

त्यसैले तिहारमा बिदा मिलाउनका लागि दसैँमा डबल ड्युटी गर्ने भएको छु । ड्युटीपछि आफ्नै घरमा मनाउने छु । साथै, यसपालिको दसैँमा कसैको घर जाने वा कसैलाई आफ्नो घर नआउन सुझाव दिइरहेको छु ।

नेपालीहरूका लागि दसैँतिहार महान चाड भए पनि कोरोनाबाट बचेर स्वास्थ्य रहन सके अर्को वर्ष रमाइलो तरिकाले चाडपर्व मनाउन सकिन्छ । त्यसैले यो पालिको चाडपर्वमा आफूलाई मात्र नभएर अरूलाई पनि सुरक्षित राखेर दसैँ मनाउन आग्रह गर्छु ।

डा, शैलेन्द्र श्रेष्ठ, नेफ्रोलोजिस्ट र रेनल ट्रान्सप्लान्ट फिजिसियन नोबेल शिक्षण अस्पताल

कोभिडका कारण यसपालिको दसैँमा खासै कुनै योजना छैन । कसैलाई पनि घरमा आउन आमन्त्रित नगर्ने भएको छु । मेरो घरमा वृद्ध उमेरका आमाबुबा हुनुभएका कारण संक्रमण छिट्टै हुन सक्ने डर छ ।

त्यसैले सबैलाई यो पालिको दसैँमा म पनि आउँदिन र मेरो घर पनि नआउनु भनेर आग्रह गरेको छु । जसरी संक्रमितको संख्या बढ्दैछन्, विश्वास गर्नुस्, गम्भीर बिरामीका अब अस्पतालमा बेड पनि उपलब्ध छैनन् । चाँडै नै हामी इटाली जस्ता परिस्थितिहरू भोग्नेछौं जहाँ बिरामी अस्पतालका प्यसेजमै ज्यान गुमाउने छन् ।

केवल कडाइँका साथ अपनाइएका सामाजिक दुरी, मास्क र हात धुने बानीले संक्रमण हुन र फैलिनबाट रोक्न सक्दछ । मान्छे सबैलाई थाहा छ । तर, दुर्भाग्यवस सबैले यी साधारण रोकथामका उपायलाई समेत अनुशरण गरिरहेका छैनन् । त्यसैले सबैले आआफ्नै घरमा मात्र दसैँ मनाउनुपर्ने र अरूलाई भेट्न नहुने कुरामा जोड दिनुपर्छ ।

अन्जना उप्रेती, नर्स, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल

अस्पतालको कोभिड वार्डमा काम गर्ने क्रममा आफू पनि संक्रमित भएका कारण यो पालिको दसैँ मनाउने खासै कुनै योजना बनाएको छैन ।

संक्रमणले निकै गाह्रो बनाएको थियो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुका साथै इन्जेक्सन रेम्डेसिभिरसमेत प्रयोग गर्नुपर्ने भएको थियो । केही दिनअघि मात्र संक्रमण निको भएको छ ।

अस्पतालबाट डिस्चार्ज भएको धेरै समय नभएको हुँदा यो पालिको दसैँ घरमै स्वास्थ्यमा ध्यान दिएर, आराम गरेर बिताउने भएको छु । पहिलेको तुलनामा धेरै रिकभर भए पनि घरमा मात्र टिका लगाउने छु । शरीर अलिक कमजोर महसुस भएका कारण ड्युटी पनि केही समयपछि मात्र जाने सोच बनाएको छु ।

दसैँमा अन्या आफन्त तथा बाहिरसमेत जाने छुइन । सामाजिक दुरी अपनाई, मास्क लगाएर र हातलाई सफा राखी दसैँ मनाउन र सक्दो आफ्नै घरमा दसैँ नमाउन सुझाव दिनेछु ।

डा. पुरु कोइराला, प्लमोनोलोजिष्ट तथा क्रिटिकल केयर फिजिसियन विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल

म कोभिड वार्ड र ओपीडीमा समेत ड्युटी गरिरहेको हुँदा योपालिको दसैँमा खासै केही योजना छैन । घरपरिवार बसेर चाड मनाउने सबैको चाहना हुन्छ । दसैँजस्तो पर्वमा सबैजना बिदामा बस्न चाहन्छन्, तर त्यो सम्भव हुँदैन । योपालिको दसैँमा मैले परिवारलाई प्राथमिकतामा राखेको छु । अस्पतालमा भएको ड्युटी सकेर घर फर्केपछि सबै समय परिवारसँग बिताउने छु ।

कोभिड वार्डमा काम गरेर घर फर्कदा एकदम डर हुन्छ । तर, परिवारका सदस्य भने डराउन छोडेका छन् । सबैले बुझ्न थालेका छन् । घरमा पनि सामाजिक दुरी अपनाएर माक्स लगाई समय बिताउने छु । साथै, यो वर्षको समय र कामलाई समीक्षा गरेर कसरी अगाडि बढ्ने र भोलिका दिनमा कसरी आफ्नो कामको समयलाई कम नगरी आफ्नो परिवारलाई कोभिडको संक्रमणबाट बचाउन सकिन्छ भनेर योजना बनाउने छु ।