Rumpum Advertisement
Dazzu

लागू भयो क्लिन फिड, अटेर गर्ने विदेशी च्यानलकाे प्रसारण रोकियो

लागू भयो क्लिन फिड, अटेर गर्ने विदेशी च्यानलकाे प्रसारण रोकियो

विराटनगर, ८ कात्तिक । शनिबार बिहानबाट नेपालमा प्रसारण हुँदै आएका विदेशी च्यानलमा क्लिनफिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शनिबार बिहान १२ बजेबाट क्लिन फिड लागू गरेको हो ।

क्लिन फिड लागू भएसँगै अब विदेशी च्यानल विज्ञापनमुक्त भएका छन् । मन्त्रालयलाई यसअघि क्लिन फिडको म्याद सार्न दबाव परेको थियो । तर मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिनफिड लागू भएको हो ।

भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघले क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेको थियो ।

तर ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ मा उल्लेख भएअनुसार व्यवस्था लागू भएको हो ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

क्लिन फिड लागू भएपछि तत्काल ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ । ती च्यानल क्लिन फिडमा नआएसम्म प्रसारण राेकिने छ ।