Rumpum Advertisement
Dazzu

दसैंमा पायल्स भएकाले कस्ताे परिकार खाने ?

दसैंमा पायल्स भएकाले कस्ताे परिकार खाने ?

विराटनगर, ७ कात्तिक । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा दशैं सुरु भएको छ ।

दसैंमा अत्यधिक मात्रामा मासुजन्य परिकारको प्रयोग हुन्छ । दशैंमा खानपानमा विशेष ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या निम्तिन सक्छ । दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुलगायत अन्य विभिन्न परिकार पाक्छन् । मुखको क्षणिक स्वादका कारणले जीवनभर पछुताउनु भन्दा खानामा ख्याल गर्नु नै बुद्धिमानी हुन्छ ।

स्वास्थ्यमा पुरानो समस्या भएकाले लापरवाही गरे रोग अझ बल्झिन सक्छ । खराब खानपानले पायल्स रोग धेरै मानिसको आम समस्या बन्दै आएको छ ।

पानीको कमी, सागपात नखाने, व्यायाम नगर्ने, धेरै व्रत बस्ने, कब्जियत, दिसा गर्न समस्या हुने, दिसा, पिसाब रोक्दा तथा चिल्लो तथा तेलको प्रयोग बढी गर्नेलाई पायल्स हुने सम्भावना हुन्छ ।

पायल्स हुँदा खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । सावधानी नअपनाए दिसा बसेको समयमा दिसा संगै रगत र मासु समेत खस्न सक्छ । पायल्स पिडितले नुनिलो, चिल्लो, पिरो तथा फास्टफुडको सेवन गर्नु हुदैन । पहिल्यैदेखि पायल्सको समस्या भएकालाई दसैँमा खानामा गरेको लापरवाहीले समस्या झन् बढाउने गर्छ ।

पायल्स पिडितले मैदाले बनेका, राजमा, मसुरोको दाल, प्याकेट र बट्टाका पुराना अचारको सेवन गर्नु हुँदैन । पायल्स भएको बेलामा मासु, मासुको झोल, प्रसोधित मासु, अण्डा, पालिस गरिएको चामल तथा चिउराको सेवन गर्नु हुँदैन ।

त्यस्तै, दुध, दुधजन्य पदार्थ, कोल्ड ड्रिंक, चुरोट, रक्सी तथा सुर्ती जन्य पदार्थको सेवन गर्नुहुँदैंन ।

अत्याधिक मात्रामा खानाले पेटमा समस्या निम्तिन्छ जसले पायल्स रोगीमा झन् समस्या बढाउन सक्छ । सागसब्जी, फलफूल र फाइवरयुक्त खानाको ठिक्क मात्रामा सेवन गरी, झोलीलोको खाना नियमित ब्यायाम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, पानी धेरै पिउने, तनाव कम गर्ने गरेमा पाइल्सको समस्या भएकालाई केहि राहत पाइन्छ ।