Rumpum Advertisement
Dazzu

तेह्र वर्षीया छोरीलाई गोली हान्ने बुबा कारागार चलान

तेह्र वर्षीया छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुंगा, ७ कात्तिक । ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् ।

भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका-७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए ।

बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दामाथि बन्दुकको छर्रा लागेर घाइते भएकी बालिकाको उपचार भइरहेको छ ।

के कारणले छोरीलाई गोली हानेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।