Rumpum Advertisement
Dazzu

आईपीएल : छैटौं स्थानको राजस्थान र सातौं स्थानको हैदराबाद भिड्दै

आईपीएल : छैटौं स्थानको राजस्थान र सातौं स्थानको हैदराबाद भिड्दै

विराटनगर, ६ कात्तिक । १३औं आईपीएलको ४०औं खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बेलुकी ७ः४५ बजे मैदान उत्रँदैछन् । दुबई रंगशालामा हुने यी दुईबीचको खेलमा आज राजस्थानले आफ्नो एघारौं खेल खेल्दै छ भने हैदराबादको जारी आईपीएलमा आजको खेल दशौं हो ।

लगातार दुई जित निकाल्दै आईपीएल यात्रा सुरु गरेको राजस्थानले आफूले खेलेका दशमध्ये चार खेलमा मात्रै जित निकाल्न सफल भएको छ । यता राजस्थानको प्रतिद्वन्द्वी हैदराबादले भने प्रतियोगिता लगातार दुई हार भोग्दै सुरु गरेको थियो । त्यसपछिका सात खेलमा तीन जित मात्रै निकाल्न सफल भएको हैदराबाद अंकतालिकाको सातौ स्थानमा छ ।

हैदराबादभन्दा एक खेल बढि खेलेको राजस्थान भने आठ अंकसहित आईपीएल अंकतालिकाको छैटौं स्थानमा छ । यदि आजको खेलमा राजस्थानले हैदराबादलाई हराउने हो भने राजस्थान चौथो स्थानमा उक्लने छ । हाल चौथो स्थानमा रहेको कोलकता हेड–टु–हेडमा राजस्थानभन्दा पछि रहेको कारण आज खेल जित्दै राजस्थान शीर्ष चारभित्र अट्न प्रयासरत हुनेछ ।

यदि आजको खेल हैदराबादले जित्ने हो भने उ राजस्थान र पञ्जाबलाई पछि पार्दै पाँचौ स्थानमा उक्लनेछ । पञ्जाब र राजस्थानले हैदराबादभन्दा एक–एक खेल बढि खेलिसकेकोले र नेट रन रेटमा पछि रहेकाले पनि आजको खेल जित्दै हैदराबाद अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

यी दुईले आईपीएल ईतिहासमा एकअर्काविरुद्ध १२ खेल खेलिसकेका छन् । समान ६–६ पटक जितेकाले पनि आज दुवै टोलीलाई जित निकाल्दै हेड–टु–हेडमा अग्रता लिने सुवर्ण अवसर छ । २०२० आईपीएलको नतिजा बाहेक यी दुईले खेलेका पछिल्ला तीन संस्करणको ६ खेलेका नतिजाले राजस्थानविरुद्ध हैदराबादलाई बलियो स्थितीमा देखाउँछ । खेलेका ६मध्ये चार खेल जितेको हैदराबाद आजको खेल जित्दै जारी प्रतियोगितामा भोगेको हारको बदला लिँदै हेड–टु–हेड र आईपीएल अंकतालिकामा राजस्थानलाई उछिन्न चाहन्छ ।

जारी प्रतियोगिताको पहिलो भेटमा हैदराबादलाई पाँच विकेटले स्तब्ध बनाएको राजस्थान भने आजको खेलमा पनि विजयी हुँदै आफ्नो स्थान सुधार गर्न चाहन्छ । तर यी दुई मध्ये आजको खेलमा को सफल हुने हो त्यो थाहा पाउन हामीले खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

एकअर्काविरुद्धको पहिलो खेलमा टस जित्दै हैदराबादले पहिले ब्याटिङ गरेको थियो । २० ओभर पूरै खेल्दै पाँच विकेट गुमाएको हैदराबादले राजस्थानसामु एक सय ५९ रनको चुनौती पेश गरेको थियो । हैदराबादका लागि जोनी बेयरस्टो १६ रनमै पेभिलियन फर्किए पनि कप्तान वार्नर र मनिष पाण्डेले इनिङ्स सम्हालेका थिए । कप्तान वार्नर ४८ र पाण्डे ५४ रनमा आउट भएपछि केन विलियमसन र प्रियम ग्रागले हैदराबादको ब्याटिङको जिम्मेवारी पाएका थिए । विलियमसनले २२ र ग्रागले १५ रन बनाउन सफल भएपछि राजस्थानसामु हैदराबाद मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो ।

राजस्थानका लागि आर्चर, त्यागि र उनाडकटले समान एक–एक विकेट लिए पनि अन्य बलरहरुले भने हैदराबादका ब्याट्सम्यानलाई पेभिलियन फर्काउन असमर्थ रहे ।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन । कप्तान स्मिथ र स्टोक्स समान पाँच, बटलर १६, उथप्पा १८ र सामसन २६ रनमै आउट भएपछि धर्मराएको राजस्थानको इनिङ्स अन्तिममा ब्याटिङका लागि आएका राहुल टेवाटीया र रियान परागले गतिलो साझेदारी गर्दै सम्हालेपछि राजस्थान पाँच विकेटको जित निकाल्न सफल भयो ।

२६ बलको सामना गरेका पराग ४२ रन र २८ बल सामना गरेका टेवाटीया ४५ रनमा नटआउट रहँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाउन सफल भए । हैदराबादका लागि खलिल अहमद र राशिद खानले समान दुई–दुई विकेट लिए पनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

एन्ड्रयू म्याक्डोनाल्डको प्रशिक्षण र स्टिभ स्मिथको नेतृत्वमा आईपीएल खेलिरहेको राजस्थानको टोलीमा बेन स्टोक्स्, सन्जु सामसन, राहुल टेवाटीया, जोस बटलर, जोफ्रा आर्चर, श्रेयस गोपाल, कात्र्तिक त्यागी जस्ता भरपर्दा खेलाडीहरु छन् । सुरुवाती गतिलो गरे पनि तेस्रो खेलबाट सफल हुन नसकिरहेको राजस्थानले आफ्नो दशौं खेलमा चेन्नईलाई सात विकेटले हराउदै खेलमा फर्किएको संकेत गरे पनि आजको खेलमा कस्तो नतिजा निकाल्ने हो त्यसले उसको आईपीएल यात्रा निर्धारण गर्नेछ ।

राजस्थानका लागि बटलर, कप्तान स्मिथ, सामसन र टेवाटीया दुई सय भन्दा बढि रन बनाएर आईपीएल खेलिरहेका छन् । त्यसतै बलिङको जिम्मेवारी पाएका आर्चर १३, गोपाल सात, त्यागी ६, उनाडकट चार र कुरानले तीन विकेट लिएर राजस्थानलाई योगदान दिइरहेको भए पनि पाँचौ जित दिलाउन सकिरहेका छैनन् ।

उत्कृष्ट प्रदर्शन गर्नबाट चुकिरहेको हैदराबादले दोस्रो राउण्ड रोबिन लिगमा दुई खेल खेले पनि सफल हुन सकिरहेको छैन । पछिल्लो खेलमा कोलकतासँग सुपर ओभरमा पराजित भएकाले पनि हैदराबाद आज थप दबाबमा हुनेछ । हैदराबादका लागि ओपनिङ ब्याट्सम्यानद्वय वार्नर र बेयरस्टो तीन सय बढी रन बनाएर आईपीएल खेलिरहेका छन् । यी दुई बाहेक मनिष पाण्डे दुई सय १२, केन विलियमसन एक सय ८१ र प्रियम ग्रागले एक सय ६ योगदान टोलीलाई दिईसके पनि जित दिलाउन असमर्थ भइरहेका छन् ।

हैदराबादको बलिङ पनि जारी आईपीएलमा खासै चल्न सकिरहेको छैन । नौ खेलमा राशिद खान र टी नटराजनले समान ११ विकेट लिनुबाहेक अन्य खेलाडीले आठ विकेटभन्दा बढि लिन सकेका छैनन् । खलिल अहमद आठ, सन्दिप शर्मा चार, अभिसेक शर्मा र सिद्धार्थ कौल समान दुई र अब्दुल समाद एक विकेट लिएर आईपीएल खेलिरहेका छैन ।

खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेका यी दुवै टोलीलाई आजको खेलको दुई अंक निकै महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल जित्ने लक्ष्य लिएर मैदान उत्रने हैदराबाद र राजस्थानमध्ये सफल को हुने हो ? त्यसको नतिजा थाहा पाउन दुबई रंगशालामा हुने आजको खेलको नतिजा पख्र्नु पर्ने हुन्छ ।