Rumpum Advertisement
Dazzu

विराटनगरका उद्योगीहरुद्वारा अत्याधुनिक प्रयोगशाला सञ्चालन

विराटनगरका उद्योगीहरुद्वारा अत्याधुनिक प्रयोगशाला सञ्चालन

विराटनगर, ६ असोज । पीसीआर परीक्षणको रिपोर्ट पाँच घण्टामा दिने गरी विराटनगरमा आधुनिक ल्याब सञ्चालनमा आएको छ ।

कोरोना महामारीको समयमा सर्वसुलभ सेवा दिने गरी विराटनगरका चार व्यवसायीले ‘बि–सियोर ल्याब’ सञ्चालनमा ल्याएका हुन् ।

करिब पाँच करोडको लागतमा सञ्चालनमा ल्याइएको ल्याबको बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे । उद्घाटनअघि मन्त्री कार्कीले प्रयोगशालाको रिपोर्ट फरकफरक आउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै शतप्रतिशत नतिजा आउनु पर्ने बताए । उनले अहिले पनि पीसीआर परीक्षणमा प्रयोगशाला चुक्दा धेरै सर्वसाधारण पीडीत भइरहेको उनले बताए ।

उद्घाटन कार्यक्रममा ल्याबका अध्यक्ष प्रकाश मुन्दडाले अहिलेको महामारीको समयमा केही सहयोग पुर्‍याउने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याएको बताए ।

प्रयोशालाका प्रबन्ध निर्देशक नवीन रिजालले पूर्वाञ्चलकै उत्कृष्ट ल्याब भएको दावी गरे । उनले काठमाडौपछि ‘ए’लेभलको पहिलो ल्याब पूर्वमा सुरु गरेको बताए । प्रयोगशाला शुभारम्भको अवसरमा छुटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

ल्याबमा सरकारी दररेटमै पीसीआर परीक्षण गरिने बताइएको छ ।

प्रयोगशालामा पीसीआर मात्र नभएर अन्य सबै प्रकारका रोगहरुको परीक्षण हुन्छ ।

प्रयोगशाला सञ्चालनमा उद्योगी महेश जाजु, प्रकाश मुन्दडा, नवीन रिजाल र अनिल साहको लागानी रहेको छ ।