Rumpum Advertisement
Dazzu

रानीपोखरीको बाँकी काम चरणवद्धरुपमा हुने

रानीपोखरीको बाँकी काम चरणवद्धरुपमा हुने

काठमाडौ, ६ कात्तिक । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्धरुपमा अगाडि बढाउने भएको छ ।

महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकाले चरणवद्धरुपमा निर्माण गरिने बताए । रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पार्टीलगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ ।

त्यस्तै गुरुयोजनाअन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिबाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए । यी कामहरु एकैसाथ गर्नेभन्दा पनि चरणवद्धरुपमा अगाडि बढाउने रणनीतिअनुसार काम भइराखेको पनि उनले बताए ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझावअनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको कामबाहेक महानगरपालिकाले बनाएको गुरुयोजनाअनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ । मेयर शाक्यका अनुसार रानीपोखरी बिस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकका लागि खुला हुनेछ । तर पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।