Rumpum Advertisement
Dazzu

समयमा नै मल नपाए पनि प्रदेशमा धान उत्पादन सन्तोषजनक

समयमा नै मल नपाए पनि प्रदेशमा धान उत्पादन सन्तोषजनक

विराटनगर, ६ कात्तिक । समयमा वर्षा भएका कारण यो वर्षको धान उत्पादन राम्रो हुने संकेत देखिएको छ । धान रोप्ने समय र बाला लाग्ने बेलामा आकाशे पानीले साथ दिएका कारण धानको उत्पादन बढ्ने देखिएको हो ।

समयमा पर्याप्त पानी पर्दा अघिल्ला वर्षहरुभन्दा यसपालि बढी क्षेत्रफलमा रोपाइँ भएको छ । तर समयमा नै युरिया मल नपाएका कारण किसान निरास भएका थिए ।

मौसमले पनि साथ दिएका कारण धानको बाली सन्तोषजनक रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले बताए ।

आकाशे पानीमा भरमा हुने खेतमा पनि धान बाली सप्रेकाले प्रदेश १ मा चिन्ताजनक अवस्था नरहेको उनले बताए । किसानले समयमा रोप्न पाएको र धानले पर्याप्त पानी पाएकाले धानको उत्पादन घट्ने अवस्था भने नरहेको उनले बताए ।

धान पाक्न सुरुवात मात्र भएकाले बास्तविक तथ्याङ्कका लागि अझै एक महिना लाग्ने उनले बताए ।
प्रदेश १ मा मल अभाव हुँदा धानको उत्पादनलाई लिएर फैलाएको निरासाजस्तो धानको बाली नभएको उनले बताए । धानको विज्ञसमेत रहेको डा. उप्रेतीले स्थालगतरुपमा अध्ययन गर्दा धानबाली राम्रो देखिएको बताए ।

‘धान रोपाइँ अघिल्ला वर्षभन्दा करिब २० हजार हेक्टर बढी भएको छ,’ उनले भने, ‘धानका लागि मौसम पनि अनुकुल रहेकाले अघिल्लो वर्षभन्दा कम उत्पन हुँदैन, उत्पादन बढ्छ ।’

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश १ मा ३ लाख २० हजार १ सय ३४ हेक्टरमा धान रोपाइँ भएको थियो । त्यसमा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि निर्देशनालयाले जनाएको छ ।

प्रदेश १ मा यो वर्ष ३ लाख ३२ हजार ९ सय १७ हेक्टरमा धान रोपाइँ भएको छ । निर्देशनालयको अनुसार प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर धान खेतियोग्य जमिन रहेको छ ।