Rumpum Advertisement
Dazzu

गुणस्तर ऐनविरुद्ध काम गर्ने पचासी व्यावसायिक फर्म कारवाहीमा

गुणस्तर ऐनविरुद्ध काम गर्ने पचासी व्यावसायिक फर्म कारवाहीमा

काठमाडौँ, ६ कात्तिक । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारवाही गरेको छ ।

विभागले स्टान्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारवाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारवाही गरिएको जानकारी दिए ।

तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा–मासु पसल, १९ ग्यास सिलिन्डर उद्योग, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी पसल र १०३ अन्य फर्म छन् ।

अनुगमनका क्रममा नापतौल यन्त्र बिक्रीस्थलमा नराखेको, नापतौलसम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेकोलगायत कैफियत भेटिएको थियो ।

महानिर्देशक पुडासैनीले पाँचवटा फर्मलाई जिल्ला अदालतमा अभियोग दायर गरिएको बताए । अभियोग दायर गरिएकामा गोरखकाली ग्यास सेन्टर ढुंगेधारा, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर मानभवन, एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्सा छन् ।

स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को दफा २५ अनुरुप नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएका फर्ममाथिको कारबाहीलाई तीव्र बनाइएको विभागले जनाएको छ । रासस