Rumpum Advertisement
Dazzu

ग्रामथानमा बन्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल

ग्रामथानमा बन्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल

विराटनगर, ५ कात्तिक । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टोलीले तयार पारेको गुरु योजनाबारे बुधबार सरोकारवालासँग अनलाइन छलफल गरिएको हो ।

छलफलमा आएका सुझावसहित समेटेर गुरु योजनालाई अन्तिम रूप दिइने खतिवडाले बताइन् । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा ईन्जिनियर शुभम कोइरालाले प्रस्तुति गरेका थिए ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरू निर्माण गरिने छ ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरी मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरूभन्दा स्तरीय बन्ने बताउँदै उनले जेष्ठ नागरिक ग्राम बेसहराहरूका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट सुुरु गरिएको बताए ।

जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने मन्त्री घिमिरेले बताए । छलफल कार्यक्रममा जेष्ठ नागरिक अभियानन्ताहरू मणि अर्ज्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्यलगायतको सहभागिता थियो ।