Rumpum Advertisement
Dazzu

रोनाल्डोले मेस्सीविरुद्ध खेल्न पाउलान् ?

रोनाल्डोले मेस्सीविरुद्ध खेल्न पाउलान् ?

विराटनगर, ५ कात्तिक । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण पुष्टि हुने स्टार खेलाडीमध्ये एक हुन् । इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डो संक्रमणमुक्त हुनेक्रममा छन् ।

अक्टोबर १३ मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पोजिटिभ भएका उनमा कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि ३५ वर्षीय रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना र खास प्रतिद्वन्द्वी लियोनल मेस्सीविरुद्ध खेल्नेमा शंका उत्पन्न भएको छ ।

युभेन्टसले बार्सिलोनासँग च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी बुधबार हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ । उनी सो खेलका लागि मैदान उत्रिने सम्भावना कमै छ । तर, युभेन्टस भने उनी मैदान फर्किनेमा आशावादी छ ।

उक्त खेलमा उपस्थित हुनका लागि रोनाल्डोलाई २८ अक्टोबरभन्दा एक साता अगाडि नै कोरोना संक्रमणमुक्त हुनुपर्छ । अर्थात्, आजसम्ममा उनी संक्रमणमुक्त भएको हुनुपर्छ ।

किनकि, यूईएफए र इटालियन स्वाथ्य मापदण्डअनुसार कोरोनामुक्त भइ एक साता क्वारेन्टाइन बसेपछि मात्र खेलाडीले खेल खेल्न पाउनेछन् । रोनाल्डोले शुक्रबारसम्म सेल्फ–आइसोलेशनमा बस्नुपर्नेछ ।