Rumpum Advertisement

बंगलादेशसँगको खेलका लागि एन्फाले ३५ खेलाडीलाई प्रशिक्षणमा बोलायो

बंगलादेशसँगको खेलका लागि एन्फाले ३५ खेलाडीलाई प्रशिक्षणमा बोलायो

काठमाडौं, ५ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि यसअघि नै क्याम्पमा बोलाइएका ३५ खेलाडीलाई १२ कात्तिकमा क्याम्पमा डाकेको हो ।

सबै खेलाडीलाई दसैंलगत्तै एन्फामा रिपोर्ट गर्न भनिएको छ । फिफा विश्वकप छनोटका लागि प्रशिक्षणमा बोलाइएका खेलाडीलाई नै बंगलादेशको मैत्रीपूर्ण खेलको तयारीमा बोलाइएको छ ।

सबै खेलाडी काठमाडौंमा आएपछि पीसीआर परीक्षण हुनेछ । यसपटक पनि यसअघि कारवाहीका कारण क्याम्पमा नपरेका खेलाडी विमल घर्तीमगरसहित अरु तीन जना नपर्ने भएका छन् ।

बंगलादेशको मैत्रीपूर्ण खेल अगाडि नेपाली टिमले एक साता जति नेपालमा नै प्रशिक्षण गर्नेछ । त्यसपछि खेलको एक साता अगाडि टिम बंगलादेश जानेछ ।

ढाकामा हुने दुई वटा मैत्रीपूर्ण खेलअघि टिम एक साता त्यहाँ पुगेर बंगलादेश सरकारको नियमअनुसार आइसोलशनमा बसेर कोरोना परीक्षण गर्नेछ । त्यसपछि टिम प्रशिक्षणमा जानेछ ।

नेपालले बंगलादेशको बंगबन्धु रंगशालामा कात्तिक २८ र मंसिर एक गते दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोना भाइरसका कारण ६ महिनादेखि घरमा नै रहेका नेपाली फुटबलरले बल्ल प्रशिक्षण गर्न र खेल खेल्न पाउने भएका छन् ।

बंगलादेशसँगको खेललाई एन्फाले फिफा विश्वकप छनोटको तयारीका रूपमा लिएको छ ।

पछिल्लो पटक एन्फाले राष्ट्रिय खेलकुद परिषद्बाट सावधानीका साथ प्रशिक्षण गर्न र बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको थियो ।

नेपालमा कोरोनाको संक्रमण अझैपनि भयाभव भइरहेको अवस्थामा दुवै खेल ढाकामा खेल्ने पक्का भएको हो ।