Rumpum Advertisement
Dazzu

खेतको बाटो गएर भारतीय बजारमा किनमेल

खेतको बाटो गएर भारतीय बजारमा किनमेल

नवलपरासी, ५ कात्तिक । दशैँ सुरु भएसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सिमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ ।

कोभिड १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मुख्य नाका बन्द गरे पनि सहायक बाटो र खेतको बाटो भएर नेपालीहरू किनमेलका लागि भारतीय बजार गइरहेका हुन् ।

सस्तो मूल्यमा दैनिक उपभोग्यका सामानलगायत चाडपर्वका लागि आवश्यक किनमेल गर्न नेपालीहरू कोरोना महामारीको जोखिमलाई समेत बेवास्ता गर्दै भारतीय बजार पुग्ने गरेका हुन् । सिमानासँग जोडिएका नजिकका भारतीय बजारमा अहिले किनमेल गर्ने नेपालीको घुइँचो लाग्ने गरेको छ ।

सामान किन्न, औषधोपचार गर्न तथा नाता सम्बन्धका कारण सीमा क्षेत्रका बासिन्दा दैनिकजसो निस्फिक्री ओहोरदोहोर गर्ने गरेका हुन् ।

चाडपर्वमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामान किन्न, जिल्लाको सुनवल, बर्दघाट, भूमही, परासीसहित नवलपुर र नारायणगढबाट सवारीसाधन रिर्जभ गरी मानिसहरू किनमेलका लागि भारतीय बजार ठुटीबारी जाने गरेको सीमा क्षेत्र महेशपुरका पत्रकार ध्रुवनारायण बानियाँ बताउँछन् ।

मुख्य नाका महेशपुरबाट ओहोरदोहोर गर्न नपाए पनि नजिकैका खेतको बाटो हुँदै मानिसहरूको बाक्लो आवातजावत भइरहेको छ । खेतको बाटो प्रयोग गर्दा स्थानीयवासीले लगाएको धानबालीसमेत नष्ट भएको छ ।

खेतलाई बाटोको रूपमा प्रयोग गर्दा आफूले लगाएको दुई कठ्ठाको धानखेती नै नष्ट भएको पाल्हीनन्दन–२ का धर्मेन्द केटवको गुनासो छ ।

अहिले सहायक र खेतको बाटो ओहोरदोहोर गर्नेलाई व्यवस्थित गर्न स्थानीयवासी लागिपरेका छन् । टाढाबाट त्यहाँ पुग्ने सर्वसाधारणलाई खेतको बाटो देखाउने र उनीहरूका सवारीसाधनको सुरक्षा र पार्किङको व्यवस्थापनमा समेत स्थानीय युवाहरू खटिएका हुन् ।

अन्सारी साइकल स्टेन्ड, रवी साइकल स्टेन्डलगायतको नामबाट केही शुल्क लिएर साइकल, मोटरसाइलक, निजी कारलगायत पार्किङ गरेवापत क्रमशः १५, २५, १०० का दरले शुल्क उठाए पनि उनीहरूले सरकारलाई कर भने तिरेका छैनन् ।

भारतीय बजारमा पुग्नका लागि सहायक र खेतको बाटो पनि उनीहरूले नै देखाउने गरेका छन् ।

शुल्क लिएर पार्किङ गर्न कुनै पनि संस्थालाई स्वीकृति नदिएको भन्दै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले उक्त कार्य तत्काल रोक्न लगाउने बताए । चाडपर्वका कारण भारतीय बजारमा जाने नेपालीलाई सम्झाई–बुझाई गर्दा पनि रोक्न नसकिएको उनको भनाइ छ ।

सीमाक्षेत्रबाट भारतीय बजारमा बाक्लो ओहोरदोहोर हुन थालेपछि कोरोनाको जोखिम पनि बढ्दै गएको छ ।

सस्तो पाइने भएकाले चाडपर्वका लागि लत्ताकपडा किन्न भारतीय बजार ठूटीबारी आएको सुनवलकी कल्पना सुनार बताउँछिन् ।

नेपालमा चाडपर्वको उल्लास सुरु हुन नपाउँदै भारतीय बजारमा नेपालीको घुइँचो लाग्न थालेकाले भारतीय व्यापारी उत्साहित भएका छन् ।

लामो समयसम्म बन्दाबन्दीपछि खुलेका नेपाली बजारमा सामान महँगो रहेको भन्दै नेपाली उपभोक्ता भारतीय बजारमै आकिर्षत भएको उनको भनाइ छ ।

जिल्लाको महेशपुर, विष्णुपुरा, रगरगञ्ज, पडरी, भुजहवा, बसहिया, बलिनगर, झुलनीपुरलगायत नाका क्षेत्रमा खेतको बाटो प्रयोग गरेर ओहोरदोहोर गर्नेको संख्या बढ्दो छ ।

सस्तो पाइने लोभमा भारतीय बजार गएका नेपाली आफू ठगिएको पत्तो नै पाउँदैनन् तर नेपाली बजारमै सस्तो र गुणस्तरीय सामान पाइन्छ भनेर उपभोक्तालाई विश्वास दिलाउन नसक्दा हरेक वर्ष नेपाली भारतीय बजारमा पुग्ने गरेका हुन् ।

भारतीय बजारमा चहलपहल बढ्दै गर्दा नेपाली बजार भने सुनसान जस्तै छन् । चाडपर्व आए पनि अधिकांश नागरिक भारततर्फ जाँदा व्यापार न्यून रहेको स्थानीय व्यवसायी बताउँछन् ।

नेपाली उपभोक्ता भारतीय बजारमै निर्भर हुने र सहजै आवातजावत गर्न पाएकाले पनि सीमा क्षेत्र र सदरमुकाम परासी क्षेत्रका व्यवसाय फस्टाउन नसकेको स्थानीयवासी शम्भु उपाध्याय बताउँछन् ।

भारतमा नेपाली उपभोक्ता कसरी ठगिन्छन् भनेर चेतना जगाउन आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली बताउँछन् ।

भारतीय व्यापारीले एउटा सामानमा मूल्य घटाएजस्तो देखाएर अन्य सामानबाट नेपालीलाई ठग्ने गरेको उनको भनाइ छ । रासस