Rumpum Advertisement
Dazzu

विराटनगरमा संक्रमण तीव्र, परीक्षण रिपोर्ट सुस्त

विराटनगरमा संक्रमण तीव्र, परीक्षण रिपोर्ट सुस्त

विराटनगर, ४ कात्तिक । ‘हामी विराटनगरवासीहरुको समेत योगदानमा २४ घन्टामै पीसीआर रिपोर्ट आउँछ भनेर मेसिनसमेत किनेर दिइयो, तर ६ दिनमा नि रिपोर्ट आउँदैन । हामी पदवालाको छिटो दिने, सर्वसाधारणको निको भएपछि कि मरेपछि आउँछ सरकार !’

प्रदेश १ का सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतकले फेसबुकमा लेखेजस्तै पीसीआरको रिपोर्टका लागि झण्डै सात दिन कुर्नुपर्ने अवस्था छ । परीक्षणका लागि स्वाब दिएकाले निको भएपछि कि मृत्यु भएपछि मात्र रिपोर्ट पाउने अवस्था बनेको छ । कोशी अस्पताल र प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला पनि तुरुन्त रिपोर्ट दिन सक्ने अवस्था नरहेको बताएका छन् ।

परीक्षणको रिपोर्ट चाँडो नपाउँदा कोरोना संक्रमणको पीडासँगै सर्वसाधारणले मानसिक यातना भोग्नु पर्ने अवस्था रहेको छ । कोरोनाको आशंकामा स्वाब दिएका सर्वसाधारणले समयमा रिपोर्ट नपाउँदा मानसिक यातना सहनु पर्ने अवस्था छ । परीक्षणका लागि स्वाब दिएकाले रिपोर्ट नआएसम्म अन्योलमा बस्नुपर्ने अवस्था हुन्छ ।

तीव्ररुपमा संक्रमण फैलिरहेको अहिलेको अवस्थामा पीसीआर परीक्षणको रिपोर्ट तत्काल दिने अवस्था नरहेको प्रयोगशालाहरुले बताएका छन् । समयमा रिपोर्ट नपाउँदा संक्रमण फैलाउन सहयोग पुगेको छ ।

अहिले प्रदेश १ मा दैनिक ४ सयको हाराहारीमा संक्रमित थपिने गरेका छन् । प्रदेश प्रयोगशाला, कोशी अस्पताल विराटनगर, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, न्युरो अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालले पीसीआर परीक्षण गर्छन् । यसमा सरकारी प्रयोगशालाको रिपोर्ट आउन समय लाग्ने गरेको छ ।

अस्पतालमा स्वाबको चाप धेरै हुनु र परीक्षणमा पोजेटिभ बढी देखिएकाले रिपोर्ट आउन ढिलो भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास बताउँछन् । ‘धेरैजनाको पोजेटिभ आइरहेकाले समूहमा (पुल) परीक्षण गर्ने अवस्था छैन । एक–एकजनाको परीक्षण गर्नु पर्छ,’ उनले भने, ‘त्यसमाथि गाउँपालिका र अन्य जिल्लाबाट पनि परीक्षणका लागि स्वाब आइरहेकाले समयमा रिपोर्ट दिन कठिन भएको हो ।’ स्याम्पल टेष्टको ५१ प्रतिशत बढी पोजेटिभ केस भेटिन थालेपछि समूहमा परीक्षण गर्न छाडेको उनले बताए ।

कोशी अस्पतालले दैनिक तीन सयको हाराहारीमा मात्र परीक्षण गरिरहेको उनले बताए । अस्पतालको फिबर क्लिनिकमा १ सय ५० जति स्वाब संकलन हुने र विराटनगर महानगरपालिकाबाट २ सय ५० जति आउने गरको उनले बताए । अटोमेटिक एक्ट्रयाक्सन मेसिनको किट नहुँदा हातैले काम गर्नु पर्ने अवस्था रहेको डा. दासले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले संक्रमितको संख्या धेरै भएकाले पुल परीक्षण गर्न नसक्दा रिपोर्ट आउन ढिलाइ भएको बताए । संक्रमण दर उच्च भएसम्म विद्यमान साधनस्रोत परिचालन गरेर तत्कालै रिपोर्ट दिन सक्ने अवस्था नरहेको उनको तर्क छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि संघ सरकारले पठाएको किट सकिएको र धरान उपमहानगरपालिकाले दिएकोबाट काम भएकाले त्यहीँको मात्र परीक्षण गरिरहेको उनले बताए । अहिले साधनस्रोतको अभाव हुँदै गएकाले संक्रमितको नजिकमा रहेकाहरुको मात्र परीक्षण गर्नु पर्ने अवस्था आएको उनले बताए ।