Rumpum Advertisement
Dazzu

कुकरमा छिटो र मिठो खसीको मासु बनाउने सजिलो तरिका

कुकरमा छिटो र मिठो खसीको मासु बनाउने सजिलो तरिका

विराटनगर, ४ कात्तिक । नेपालीको महान चाड दसैँ नजिकिएसँगै धेरै बनाइने र खाने परिकारमध्ये एक हो, खसीको मासु ।

खसीको मासु बनाउने तरिका फरक–फरक हुन्छन् । खाना मिठोसँग बनाउन धेरै समय लाग्ने हुन्छ । दसैँको बेला फुर्सदले घरमा बसिरहनु भए पनि भान्सामा काम गर्नेहरूले परिवारसँग धेरै समय बिताउन पाउँदैनन् । तर, कुकरमा छिटो र मिठो खसीको मासु बनाई परिवारसँग बसेर खान सकिन्छ ।

खसीको मासु सबै उमेर समूहका मानिसलाई मन पर्ने परिकार हो । घरमा सजिलै कम समयमा कसरी पकाउने भन्ने चिन्ता लिइरहनु भएको छ भने, आउनुहोस् आज हामी कुकरमा खसीको मासु बनाउने तरिका सिकाउदैछौँ ।

चाहिने सामग्री : आवश्यकताअनुसार खसीको मासु, ४ देखि ५ वटा काटेको प्याज, लसुन र अदुवाको पेस्ट, नुन स्वादअनुसार, गरम मसला, खोर्सानीको धुलो, मिट मसला, बेसार, मसिनो गरी काटिएको धनियाको पत्ता, तोरीको तेल ।

बनाउने विधि : खसीको मासु काटेर एउटा भाँडामा राखेपछि अलिकति प्याज, लसुन अधुवाको पेस्ट, गरम मसला, नुन, खोर्सानी, बेसार र तोरीको तेल राख्ने । मासुमा सबै मसला छिर्ने गरी मोल्ने । ५ देखि १० मिनेटसम्म छोपेर राख्ने । त्यसपछि, ग्यासमा एउटा कुकर बसालेर तेल तताउने (पहिला पनि तेल हालिसकेको हुँदा कम तेल हाल्ने) ।

तातेको तेलमा बाँकी रहेको प्याज हालेर भुट्ने, प्याज हल्का रातो भएपछि मासुलाई राखेर मज्जाले भुट्ने । ५ देखि १० मिनेटसम्म बेलाबेला चलाउँदै मज्जाले भुट्दा तेल, मसला र मासु छुट्टिएपछि अलिकति पानी हालेर ६ देखि १० सिट्टी दिनु पर्छ । सिट्टी गएपछि मासु पाक्यो कि पाकेन भनेर हेर्ने । नपाकेको खण्डमा थप सिट्टी दिनुपर्ने हुन्छ ।

पाकिसकेपछि काटिएको धनिया पत्ता छर्किएर आफ्ना परिवारसँग बसेर मज्जाले खसीको मासुको स्वाद लिनुस् । यसरी पकाएको मासुमा कम मसला र तेल हालिने हुँदा तथा कुकरमा पकाएका कारण नरम हुने हुँदा वृद्ध तथा तेल कम खाने मानिसहरूको लागि पनि उपयुक्त हुन्छ ।