Rumpum Advertisement
Dazzu

पर्याप्त ‘भिटामिन डी’ पाउन कति समय घाममा बस्ने ?

पर्याप्त ‘भिटामिन डी’ पाउन कति समय घाममा बस्ने ?

विराटनगर, ३ कात्तिक । सूर्यको प्रकाश ‘भिटामिन डी’ को सबैभन्दा ठूलो स्रोत हो ।

शरीरका विभिन्न कार्य गर्नका लागि एक विशेष मात्रामा शरीरमा भिटामिन डीको आवश्यक पर्छ । सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भए पनि विश्वभरका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने, कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाबाट पर्याप्त पोषक प्राप्त गर्न नसक्ने हुँदा भिटामिन डीको अधिकतम मात्रा प्राप्त गर्न घाममा बस्न नै आवश्यक रहेको कुरा बुझ्न जरुरी छ । छालामा घामको प्रकाश पर्दा यसले कोलेस्ट्रोलबाट भिटामिन डी बनाउँछ । शरीरमा क्याल्सियम र फास्फेटको अवशोषणका लागि यो एकदम महत्वपूर्ण छ । साथै, यसले दाँत र हड्डी बलियो राख्न मद्दत गर्छ । भिटामिन डीको कमीले हड्डी तथा मांसपेशी कमजोर हुने, रिकेट्स र अस्टियोपोरोसिस जस्ता स्वास्थ्य समस्या निम्त्याउन ।

भेलेन्सियाको पोलिटेक्निक युनिभर्सिटी (युपीभी) का सौर्य विकिरण अनुसन्धानका समूहले गरेको अध्ययनका अनुसार वसन्त र ग्रीष्म ऋतुमा १० देखि २० मिनेट सूर्यको किरण प्राप्त गर्नु पर्याप्त हुन्छ । तर, भिटामिन डीको सिफारिस गरिएको मात्रा प्राप्त गर्नका लागि जाडोमा एक व्यक्तिले कम्तिमा २ घण्टा घाममा बस्नु पर्ने हुन्छ ।

जाडोमा १० प्रतिशत छाला मात्र सूर्यको किरणमा पर्ने हुँदा भिटामिन डीको पर्याप्त मात्रा प्राप्त गर्न लामो समय लाग्न सक्छ । गर्मी महिनामा शरीरको २५ प्रतिशत घाममा पर्ने हुँदा कम समय चाहिन्छ । साइन्स अफ टोटल इन्भाइरोमेन्ट नामक जर्नलमा प्रकाशित अध्ययनका निष्कर्षले अधिकतम भिटामिन डी प्राप्त गर्न घाममा बस्ने उत्तम समय बिहान १० देखि साँझ ३ बजेको बीचमा हुने देखाएको छ ।