Rumpum Advertisement

परोपकार घाटमा संक्रमितको लास पर्खँदा रात छिप्पियो, सेनाको गाडी बिग्रँदा आफन्तलाई सास्ती

Neuro Revised Adv
Koshi Dashain ad
परोपकार घाटमा संक्रमितको लास पर्खँदा रात छिप्पियो, सेनाको गाडी बिग्रँदा आफन्तलाई सास्ती

विराटनगर, २ कात्तिक । विराटनगरको परोपकार घाटमा दैनिकजसो लास जलेकै हुन्छन् । बालक वृद्धा, महिला पुरुष सबैको शव दाह गर्ने स्थान परोपकार घाटमा आइतबार भने परिदृष्य फरक थियो ।

नियमित शव दाह गरिने स्थानभन्दा बाहिर दुुईवटा चिता तयार गरिएको थियो । सीमित आफन्त र छिमेकी घाटमा उपस्थित छन् । उनीहरू घाटमा शव आउला र आफन्तको अनुुहार अन्तिम पटक हेरेर सदाका लागि बिदा गरौंला भन्ने आशामा छन् । तर घण्टौंसम्म शव आइपुुग्ने अत्तोपत्तो थिएन ।

खोला किनारमा तयार गरिएको दुईमध्ये एउटा चिता विराटनगर–३ का ७५ वर्षीय रेग्मी थरका वृद्धका लागि हो । अर्काे चित्ता विराटनगर–४ जमुनगाछीका ८७ वर्षीय अधिकारी थरका वृद्धका लागि हो ।

दुवैको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो । अस्पताल र घरबाट घाटमा पुर्‍याउन अरुबेला १५ मिनेट लाग्ने हो गाडीमा तर नेपाली सेनाको शवदाह टोली नआउँदा आफन्तहरूले ब्यग्र प्रतीक्षा गर्नु परेको हो ।

एक आफन्त गुमाएको पीडा अर्काे घण्टौंसम्म घाटमा शव कुर्नुपर्ने अवस्थाले आफन्त भित्रभित्रै गलेका थिए ।

कोरोनाले मृत्यु भएकाहरूको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्छ । चित्ता बनाएर अन्तिम संस्कारका लागि आफन्त सेनाको प्रतीक्षामा बसेपनि टोली कति बेला आउने टुंगो थिएन ।

बिहान करिब ११ बजे बनाएको चित्ता रुँघेर बसेका युवक बसेका थिए । अस्पतालमा उनका बुबा सेनाको टोली आउने प्रतीक्षामा थिए । बिहान ४ बजे मृत्यु भएका वृद्धलाई नेपाली सेनाको टोलीले १२ बजे घाटसम्म पुर्‍याइदिने समय दिएको थियो ।

तर, साँझसम्म सेनाको शव व्यवस्थापन टोली नआएको मृतकका छोरा दीपेन्द्र रेग्मीले बताए । ‘हामी आफैँ लैजान्छौं भन्दा पनि दिँदैनन्, एकछिन–एकछिन भन्दै दिनभर रुँघाए ।’ रेग्मीले भने, ‘बिहान ४ बजे मृत्यु भयो । शव अस्पतालमै छ । घण्टौं बित्दा पनि अत्यष्टि गर्न पाइएन् ।’

आइतबार बिहान करिब ९ बजे नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–७ का ८२ वर्षीय वृद्धको मृत्यु भयो ।

मृत्युप्रश्चात आफन्तले अन्त्यष्टिका लागि हाटखोलास्थित परमबिश्रान्ती घाटमा चिता बनाए । नेपाली सेनाको टोलीले चाँडै शव ल्याइदिने बतायो । तर साँझसम्म शव घाटमा पुगेन । ‘एकै छिनमा आउँछ भन्दै थिए । तर ५–६ घण्टासम्म पनि ल्याएनन्,’ मृतक वृद्धका छोरा प्रज्वल आचार्यले भने, ‘दिउँसोदेखि हामी चिता रुँघेर बसेका छौं ।’

नेपाली सेनाको शव व्यवस्थापन टोलीले प्रयोग गर्दै आएको सवारी बिग्रिएका कारण शव व्यवस्थापन टोली समयमा नै आउन पाएन । जसका कारण आफन्त घाटमा चित्ता रुँघेर बस्न बाध्य भए ।

सेनाको शव व्यवस्थापन गर्ने टोली विराटनगरबाट करिब तीन घण्टा टाढाको दूरीमा रहेका कारण शव व्यवस्थापनमा बेलाबेला समस्या हुने गरेको छ । शव उठ्न ढिलासुस्ती हुँदा आफन्त गुमाउँदाको पीडामा रहेकाहरू झन् तनावमा बस्नु परेको छ ।

टाढीमा क्वारेन्टाइन

नेपाली सेनाले शव व्यवस्थापनका लागि छुट्टै टोली बनाएको छ । टोलीका लागि बनाइएको क्वारेन्टाइन भने विराटनगरबाट घण्टौं टाढाको दूरी छ । विराटनगरबाट करिब ८० किलोमिटर टाढा मिक्लाजुङको टाडीमा नेपाली सेनाको क्वारेन्टाइन छ । पहाडी क्षेत्रमा रहेको क्वारेन्टाइनबाट विराटनगर आइपुग्न करिब तीन घण्टा लाग्छ ।

आइतबार भने शव व्यवस्थापनमा प्रयोग हुने सवारी बिग्रिएका कारण समस्या भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । ‘शव व्यवस्थापनमा प्रयोग हुने गाडी बिग्रिएका कारण समस्या भएको हो,’ उनले भने, ‘गाडी बनिसकेको छ । आजै शव व्यवस्थापन हुन्छ ।’ शव व्यवस्थापनमा प्रयोग हुने गाडी एउटा मात्रै भएकाले बिग्रदा ढिलाइ भएको उनले बताए ।

शव व्यस्थापनमा खटिएका टोलीका लागि विराटनगरमा नै क्वारेन्टाइन बनाउनका लागि पहल भइरहेको नेपाली सेनाको सूर्यदल गण थलाहाका गणपति महेश बाटाले बताए । ‘क्वारेन्टाइन टाढा भएकाले आउन जान अलिक गाह्रो भएको हो,’ उनले भने, ‘विराटनगर आसपास क्वारेन्टाइन व्यवस्थापनका लागि प्रदेश सरकारलाई पत्र पठाएका छौं ।’ प्रदेश सरकारले स्थान उपलब्ध गराइदिए तत्काल शव व्यवस्थापन गर्ने टोलीलाई राखिने उनले बताए ।

सेनाको टोली २४सै घण्टा शव व्यवस्थापनमा खटिएको बताउँदै उनले शव व्यवस्थापनमा प्रयोग हुने गाडी बिग्रिएका कारण समस्या भएको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ