Rumpum Advertisement

दसैंमा सुरक्षा सतर्कता, सीमा क्षेत्रमा विशेष निगरानी

Neuro Revised Adv
Koshi Dashain ad
दसैंमा सुरक्षा सतर्कता, सीमा क्षेत्रमा विशेष निगरानी

विराटनगर, २ कात्तिक । दसैंसँगै प्रदेश १ को राजधानी विराटनगरलगायत मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधि र यस वर्ष हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधि हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठानहरू तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढेको छ ।

सुनचाँदी पसल, सरकारी तथा गैर सरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिक स्थल र पसलहरूमा २४ घण्टा नै प्रहरीले सुरक्षा प्रदान गर्न थालेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

चाडपर्वका बेला आर्थिक गतिविधि धेरै हुने हुँदा चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको उनको भनाइ छ ।

विराटनगर क्षेत्रभित्र रहेका १४ वटा महत्वपूर्ण प्रतिष्ठानमा सुरक्षा प्रदान गर्न ९६ जना प्रहरीको अलग–अलग टोली परिचालन गरिएको छ ।

कोरोना संक्रमण तीव्र रूपमा बढिरहेका बेला सुरु भएका चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मोरङमा एक हजार दुई सय ३३ जना प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँ-ठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ । प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएको छ ।

मादक पदार्थ सेवन (मापसे)बाट हुने झै-झगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणलगायतमा प्रहरीले बढी जोड दिएको छ ।

एसपी खड्काका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिइ होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाएर काम थालिएको छ ।

सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले महत्व दिएको उनले बताए । उनले नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी हुने चोरी तस्करी नियन्त्रण गर्न ‘स्वीप अप्रेशन’ सञ्चालन गरिएको बताए ।

सीमा क्षेत्रमा भइरहेका मानवीय चहलपहल नियन्त्रण एवं रोकथाम गरेर तस्करीलाई शून्यमा झार्ने योजनाका साथ अप्रेशन चलाइएको खड्काको भनाइ छ ।

अप्रेशनका क्रममा अहिलेसम्म दुई सय १८ जनालाई नियन्त्रणमा लिइसकिएको छ । नियन्त्रणमा लिइएकालाई सम्झाईबुझाई गरेर आगामी दिनमा गल्ती नदोहोर्‍याउने शर्तमा छाडिएको जानकारी उनले दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ