Rumpum Advertisement

फर्ममा फर्किएको पञ्जाब तेस्रो जितको खोजीमा, मुम्बईको लक्ष्य अंक तालिकाको शीर्ष स्थान

Neuro Revised Adv
Koshi Dashain ad
फर्ममा फर्किएको पञ्जाब तेस्रो जितको खोजीमा, मुम्बईको लक्ष्य अंक तालिकाको शीर्ष स्थान

विराटनगर, २ कात्तिक । युनिभर्सल बोस क्रिस गेलको आगमनसँगै पुनः फर्ममा देखिएको किंग्स एलेभेन पञ्जाबले आज आईपीएलको ३६औं खेलमा मुम्बई इन्डिन्ससँग दुबई रंगशालामा खेल्दैछ ।

बेलुकी ७ः४५ बजे हुने खेलमा मुम्बई शीर्ष स्थानमा उक्लने दाउमा रहँदा पञ्जाब भने नवौं खेलमा तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । आफ्नो नवौं खेल खेल्न लागेका यी दुई टोलीको जारी आईपीएलको प्रदर्शनमा आकाश जमिनको फरक छ ।

आठ खेल खेलिसकेका यी दुईमध्ये मुम्बई ६ खेलमा जित निकाल्दै १२ अंकसहित दोस्रो स्थानमा छ । यता, समान आठ खेल नै खेलेको पञ्जाब भने चार अंकसहित तालिकाको पुछारमा छ । मुम्बई २०२० आईपीएलमा चेन्नई र बैंग्लोरसँग मात्रै पराजित भएको छ भने पञ्जाबले दुई जित निकाल्ने क्रममा दुवै पटक बैंग्लोरलाई हराएको छ ।

जारी आईपीएलको तेह्रौं खेलअन्तर्गत शेख जायदमा यी दुवै टोली पहिलोपटक भिडेका थिए । सो खेलमा मुम्बई ४८ रनले विजयी भएको थियो । मुम्बईले दिएको एक सय ९१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पञ्जाब एक सय ४८ रनमै समेटिएपछि मुम्बईले खेल आफ्नो पक्षमा पारेको थियो ।

मुम्बईसँगको खेलपछि लगातार तीन खेलमा पराजित भएको पञ्जाबले बैंग्लोरलाई आठ विकेटले हराउँदै प्रतियोगितामा पुनरागमनको संकेत गरिसकेको छ । आजको खेल पञ्जाबले जित्ने हो भने उ कम्तिमा पनि छैटौं स्थानमा उक्लनेछ ।

प्रतियोगितामा नौ खेल खेलिसकेका चेन्नई र राजस्थानको तुलनामा नट रन रेट बढी भएकाले पञ्जाब आजको खेल जित्दै अंकतालिकामा स्थान सुधार गर्न चाहन्छ । यता, दिल्लीभन्दा एक खेल कम खेलेको मुम्बई पनि आजको खेलबाट पञ्जाबसँग दुई अंक खोस्दै शीर्ष स्थान कब्जा गर्ने दाउमा रहनेछ ।

तर यी दुईमध्ये आजको खेलमा कसले बाजि मार्ने हो त्यसका लागि भने हामीले खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

आईपीएलमा यी दुईले हालसम्म एकअर्काविरुद्ध २५ खेल खेलिसकेका छन् । २५ मध्ये मुम्बईले २४ खेल आफ्नो पक्षमा पार्दा पञ्जाब भने ११ पटक मात्रै सफल भएको छ । यी दुईबीच पछिल्ला तीन संस्करणमा भएका पाँच भेटका नतिजाले पनि मुम्बईलाई बलियो स्थितिमा देखाउँछ ।

पाँचमध्ये चार खेल जितेको मुम्बई पछिल्लो पटक २०१९ आईपीएलको पहिलो भेटमा पञ्जाबसँग आठ विकेटले पराजित भएको थियो ।

अघिल्लो संस्करणको च्याम्पियन मुम्बई यस संस्करणमा पनि निकै फर्ममा देखिएको छ । आईपीएलका सफल कप्तान रोहित शर्मा नेतृत्वको मुम्बईले बलिङ, ब्याटिङ र फिल्डिङमा आफूलाई सफल सावित गरिरहेको छ ।

मुम्बईका हरेक खेलाडी आफूले पाएको जिम्मेवारी पूरा गर्ने विषयमा अब्बल देखिएका छन् । ब्याट्सम्यानहरूले उत्कृष्ट ब्याटिङ गरिरहँदा बलरहरूले पनि उस्तै दमदार प्रदर्शनी गरिरहेका छन् ।

विकेट किपर ब्याट्सम्यान क्विटन डी कक दुई सय ६९, कप्तान रोहित शर्मा दुई सय ५१ र सूर्यकुमार यादव दुई सय ४३ रन बनाएर आईपीएल खेलिरहेका छन् भने इशान किशन, हार्दिक पाण्डेय र किरोन पोलार्डले एक सय पचासभन्दा बढी रन बनाएर मुम्बईलाई योगदान दिइरहेका छन् ।

यस्तै बलरद्वय जसप्रित बुमराह र ट्रेन्ट बोल्टले मुम्बईका लागि आठ खेल खेल्दै समान १२ विकेट लिइसकेका छन् । विपक्षीको इनिङ्स धराशायी बनाउन जेम्स प्याटिन्सन, राहुल चाहर र क्रुनाल पाण्डेले पनि २३ विकेट लिइसकेका छन् । कुशल खेलाडीले भरिपूर्ण मुम्बई कप्तान शर्माको नेतृत्वमा सही तरिकाले अघि बढिरहेको भए पनि आजको खेलमा विष्फोटक ब्याट्सम्यानले भरिएको पञ्जाबसामु के पुरानै नतिजा दोहो¥याउन सफल होला त ? यसको लागि हामीले आजको खेल हेर्नुपर्ने हुन्छ ।

प्रतियोगिताकै सर्वाधिक रन बनाउने दुई खेलाडी हुन्, पञ्जाबका कप्तान के एल राहुल र ओपनिङ ब्याट्सम्यान मयांक अग्रवाल । राहुल चार सय ४८ रन बनाउँदै आईपीएल खेलिरहेका छन् भने अग्रवालले तीन सय ८२ रन बनाइसकेका छन् ।

यी दुईबाहेक पञ्जाबका तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् निकोलस पूरान । आठ खेल खेल्दै दुई सय १८ रन बनाएका पुरान जारी आईपीएलमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी हुन् ।

तर मुम्बईविरुद्धको खेलमा यी तीन आक्रामक ब्याट्सम्यानभन्दा बाहेक थप एक खेलाडी पनि आज पञ्जाबको जर्सिमा मैदानमा हुनेछन् । आईपीएल इतिहासमा नै सर्वाधिक छक्का र एकै इनिङ्समा सबैभन्दा धेरै रन बनाउने क्रिस गेल आज मुम्बईविरुद्ध खेल्दै हुनेछन् । बैंग्लोरविरुद्धको अघिल्लो खेलबाट मात्रै जारी सिजनको आईपीएलमा डेब्यू गरेका गेलले पहिलो खेलबाट नै आफ्नो क्षमता देखाइसकेका छन् ।

आक्रामक ब्याटिङ गर्ने गेलको उपस्थितिले पञ्जाबलाई केही राहत दिनेछ भने मुम्बईमाथि दबाब सिर्जना गर्नेछ । पहिलो खेलमा नै पाँच छक्का र एक चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेलिसकेका गेल आज मुम्बईको टाउको दुखाइको विषय बन्ने पक्का छ ।

ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे पनि पञ्जाब बलिङ र फिल्डिङमा चुकिरहेको छ । पञ्जाबका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्, मोहम्मद शामी । आठ खेल खेल्दै १२ विकेट लिएका शामी जारी आईपीएलमा सर्वाधिक विकेट लिने सातौं खेलाडीसमेत हुन् ।

शामीबाहेक पञ्जाबका लागि अन्य खेलाडीले आठभन्दा बढी विकेट सकिरहेका छैनन् । आठ खेलमा रवि विश्नोइले आठ, ६ खेलमा सेल्डन कोटरेलले ६, मुरुगन आश्विनले तीन खेलमा ६ र समान तीन खेलमै अर्शदिप सिंहले चार विकेट लिनुबाहेक अन्य बलरले खासै प्रदर्शन गर्न सकिरहेका छैनन् ।

बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट रहेको मुम्बईले ब्याटिङमा मात्रै सफल भएको पञ्जाबविरुद्ध कस्तो खेल्ने हो हामी सबैको चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ