Rumpum Advertisement

लामो दूरीका यातायातमा छैन भीड

Neuro Revised Adv
Koshi Dashain ad
लामो दूरीका यातायातमा छैन भीड

काठमाडाैं, २ कात्तिक । घटस्थापना सुरु भएपनि दसैंमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारीसाधनमा खासै भीडभाड देखिएको छैन ।

काठमाडौंबाहिर जाने मुख्य नाकाहरू कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भीडभाड देखिएन ।

सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको संख्या न्यून देखिएको छ ।

अघिल्ला वर्षहरूमा दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दासमेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो ।

तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरू सुनसान छन् । लामो दूरीमा यात्रा गर्ने सवारीसाधन नै न्यून देखिन्छन भने यात्रुहरूको संख्या पनि निकै कम छ । यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरूको भनाइ छ ।

सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरू बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरू नै बस चढ्न नमान्ने गरेको चालकहरू बताउँछन् ।

बसमा यात्रा गर्ने यात्रुहरू पनि असुरक्षित महसुस भएको बताएका छन् । सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरूको भनाइ छ ।

यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरू बताउँछन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरूले जो जहाँ छ त्यहिँ नै दसैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यस पटकको दसैंमा उपत्यकाबाट घर फर्किने मानिसहरू न्यून संख्यामा देखिएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ