Rumpum Advertisement

विराटनगर र धरानका कोभिड अस्पताल भरिए, लक्षणसहितका संक्रमितलाई बेड पाउन मुस्किल

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगर र धरानका कोभिड अस्पताल भरिए, लक्षणसहितका संक्रमितलाई बेड पाउन मुस्किल

विराटनगर, २ कात्तिक । लक्षणसहितका कोरोना संक्रमित बढेपछि अस्पतालमा बेड पाउन मुस्किल पर्न थालेको छ । कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालको बेड भरिएका कारण नयाँ संक्रमितलाई बेड पाउन मुस्किल पर्न थोलेको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, न्यूरो अस्पताल, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले कोभिड १९ अस्पताल सञ्चालन गरिरहेका छन् । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाले कोभिड १९ अस्पताल सञ्चालन गरिरहेको छ ।

लक्षणसहितका संक्रमित बढेपछि पाँचवटै अस्पताल लगभग भरिएका छन् । अझ आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि बेड पाउन ठूलो संघर्ष गर्नुपर्छ । संक्रमित बढेका कारण एसियाटिक होटल आइसोलेसन पनि भरिएको छ ।

लक्षणसहित बिरामी एक्कासी बढेपछि अस्पतालले गम्भीर लक्षण देखिएका तथा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितलाई मात्रै भर्ना लिन थालेका छन् ।

विराटनगको न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले सञ्चालनमा ल्याएको कोभिड अस्पतालले लक्षण देखिएका संक्रमितको मात्र उपचार गर्दै आएको छ ।

अस्पतालमा ४० बेडको जनरल आइसोलेसन, ७ वटा आईसीयू र २ भेन्टिलेटर बेड छ ।

कोभिड अस्पतालका फोकल पर्सन सुरेश आचार्यका अनुसार अस्पतालका बेड, आईसीयू तथा भेन्टिलेटर खाली छैनन् ।

अस्पतालमा आएका संक्रमितमा धेरैजसो ज्वरो, खोकी, झाडावान्ता, कमजोरी लगायतका लक्षण छन् । अस्पतालमा रहेका संक्रमितमध्ये वृद्ध अवस्थाका तथा पहिलादेखि नै मधुमेह, रक्तचाप तथा मृगौलाका समस्या भएकाहरु छन् ।

संक्रमितको संख्या बढ्दै गएका कारण अस्पतालले केही बेड थप गर्ने तयारी गरेको उनले बताए । तर, गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै गए अस्पतालले नै धान्नै नसक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकृत आनन्द लामिछाने केन्द्रमा गाह्रो भएपछि आउने संक्रमितको संख्या बढिरहेको बताउँछन् ।

उपचार केन्द्रमा एचडीओ, आईसीयू र अक्सिजन बेड खाली छैनन् । जनरल आइसोलेसमा पनि दुईदेखि ३ बेड मात्र खाली छ । अस्पताल भर्ना भएका संक्रमितमा केही न केही लक्षण देखिएका छन् ।

‘अस्पतालले अक्सिजन कम भएका बिरामीलाई उपचार गर्न कठिन हुन थालेको छ,’ उनले भने, ‘अक्सिजन बेडमा भएको बिरामी डिस्चार्ज हुनेबित्तिकै बेड प्याक भइसकेको हुन्छ ।’

अक्सिजन बेड खाली छ÷छैन भनेर सोध्ने धेरै रहेको उनले बताए । सबैको लिस्टिङ गराएर राखेकाले बेड खाली हुनेबित्तिकै संक्रमित भर्ना भइरहेको उनले बताए ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५१ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालको आईसीयूमा दैनिक ५ देखि ६ बिरामी रहने अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा भर्ना हुने संक्रमितमा सास फेर्न गाह्रो हुने समस्या बढी देखिने बताउँदै उनले आईसीयू र भेन्टिलेटर सधै प्याक रहने बताए ।

गम्भीर लक्षणसहितका संक्रमितको संख्या बढ्दै गए अस्पतालमा बेड नै नपाउने स्थिति आउने उनले बताए । ‘अहिलेको अवस्था धेरै जोखिमपूर्ण छ,’ उनले भने, ‘अब सक्दो उपचार, अक्सिजन, आईसीयू बेडलाई अपग्रेड गर्नुको विकल्प छैन ।’

मोरङको बुढीगंगा–२ टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सञ्चालन गर्दै आएको कोभिड वार्ड र आईसीयू भरिएको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।

नोबेल मेडिकल कलेजमा पनि अधिकांश आईसीयू बेड भरिएका छन् ।

कोरोना संक्रमितको उपचारका लागि विराटमा १२० बेड छुटयाइएको छ । जसमा ६ वटा भेन्टिलेटरसहितको आईसीयू । वीपीमा १०० बेडको छुट्टै अस्पताल सञ्चालनमा छ । जसमा १० वटा आईसीयू छन् । नोबेलमा ९ वटा आईसीयू २ वटा भेन्टिलेटरसहित ११८ बेड छ ।

न्यूरोमा ४९ बेड छन् । जसमा ७ आईसीयू, २ वटा भेन्टिलेटर छन् । कोशी कोभिड १९ उपचार केन्द्रमा रहेका ७० मध्ये १० वटा आईसीयू बेड छ । तीनवटा भेन्टिलेटरसहितको बेड छन् । एसियाटिक होटल आइसोलेसनमा ६० बेड छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ