Rumpum Advertisement

हैदराबाद भर्सेज कोलकता : दुवैको लक्ष्य आईपीएल अंक तालिकाको तेस्रो स्थान

Neuro Revised Adv
Koshi Dashain ad
हैदराबाद भर्सेज कोलकता : दुवैको लक्ष्य आईपीएल अंक तालिकाको तेस्रो स्थान

विराटनगर, २ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज अंकतालिकाको तेस्रो स्थानको टोली कोलकता नाइट राइडर्स र चौथो स्थानको टोली सनराइजर्स हैदराबाद आज शेख जायद रंगशालामा भिड्दैछन् ।

महत्वपूर्ण दुई अंक हात पार्न यी दुवै टोली दोस्रो राउण्ड रोबिन लिगको आ–आफ्नो दोस्रो खेल दिउँसो ३ः४५मा खेल्दैछन् । कोलकताले २०२० आईपीएलका आठमध्ये चार खेलमा जित निकालेको छ भने हैदराबाद तीन खेलमा मात्रै सफल भएको छ ।

जारी आईपीएलको आठौं खेलमा कोलकतासँग शेख जायद रंगशालामा नै हैदराबाद स्तब्ध बनिसकेकोले पनि यी दुईको आज हुने दोस्रो भेट निकै प्रतिस्पर्धात्मक हुनेछ । हैदराबादभन्दा कोलकता दुई अंकले अघि रहेपनि नेट रन रेटमा पछि रहेको कारण यदि आजको खेल हैदराबादले आफ्नो पक्षमा पार्ने हो भने ऊ कोलकतालाई पछि पार्दै आईपीएल अंकतालिकाको तेस्रो स्थानमा उक्लेनछ ।

तर यदि आजको खेलमा कोलकताले जित निकालेमा उसले चौथो स्थानको टोलीभन्दा चार अंकको स्पष्ट अग्रता लिनेछ । किनकि, कोलकता समान आठ अंक भएका चेन्नई र राजस्थान दुवैले आईपीएलमा आ–आफ्ना नौ खेलिसकेका छन् भने पुछारमा रहेको पञ्जाबको आठ खेलबाट चार अंक मात्रै छ ।

यी दुईले एकअर्काविरुद्ध हालसम्म १८ पटक खेलिसकेका छन्, त्यसमध्ये कोलकताले ११ खेलमा बाजी मारेको छ भने हैदराबाद सात पटक मात्रै सफल भएको छ । जारी संस्करणको पहिलो भेटमा कोलकतासँग हैदराबाद पराजित भइसकेको भएपनि आईपीएलका पछिल्ला दुई संस्करणका पाँच भेटको हेड–टु–हेडमा हैदराबाद अघि छ ।

पाँचमध्ये तीन खेलमा जित निकालेको हैदराबाद आजको खेल जित्दै हेड–टु–हेड र अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

अघिल्लो संस्करणको आईपीएलमा समान १२ अंक बटुले पनि नेट रन रेटका आधारमा कोलकतालाई पछि पार्दै हैदराबाद शीर्षमा चारभित्र पर्न सफल भएको थियो । २०१८ आईपीएलको उपविजेता हैदराबादले दोस्रो क्वालियफायरमा कोलकतालाई नै हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

त्यसैले हेड–टु–हेडमा अघि रहे पनि पछिल्ला खेलहरुमा हैदराबादसामु चल्न नसकिरहेको कोलकता आज यी सबैको बदला लिने दाउमा हुनेछ । तर यी दुईमध्ये आजको खेलमा को सफल हुने हो ? यसको जवाफ शेख जायदमा हुने खेलको नतिजाले दिनेछ ।

अनुभवी कप्तान डेविड वार्नरले सम्हालिरहेको हैदराबादमा राशिद खान, केन विलियमसन, मनिष पाण्डे, जोनी बेयरस्टो, टी नटराजन जस्ता कुशल खेलाडी छन् । यीबाहेक खलिल अहमेद, प्रियम ग्राग, अभिषेक शर्मा र अब्दुल समाद जस्ता युवा खेलाडी पनि छन् । युवा जोश, कुशल खेलाडी र उत्कृष्ट कप्तानले सम्हालिरहेको भए पनि हैदराबादले आफूलाई फर्ममा भने उतार्न सकिरहेको छैन ।

कप्तान वार्नर, बेयरस्टो र पाण्डे मात्रै जारी आईपीएलमा हैदराबादका लागि दुई सयभन्दा बढी रन बनाउने खेलाडी हुन् । विलियमसनले एक सय ५२ र युवा खेलाडी प्रियम ग्रागले एक सय दुई रन बनाउनुबाहेक अन्य खेलाडीले आफ्नो खातामा एक सय रनसमेत जोड्न सकिरहेका छैनन् ।

जारी आईपीएलमा आठ खेल खेलिसकेको हैदराबादले पहिले ब्याटिङ गर्दा पनि दुई सय रनको लक्ष्य दिन नसक्नुले उसको ब्याटिङ सुस्त भएको पुष्टि गर्छ । ब्याट्सम्यान खासै चल्न नसके पनि हैदराबादले बलरहरूबाट भने गतिलो साथ पाइरहेको छ । लेगब्रेक बलर राशिद खान र पेशर टी नटराजन हैदराबादका लागि बलिङका मुख्य हतियारहरू हुन् ।

यी दुईबाहेक खलिल अहमद र सन्दीप शर्माको बलिङ पनि गज्जबको छ । आठ खेल खेलिसकेका खानले हैदराबादका लागि सर्वाधिक १० विकेट लिएका छन् भने नटराजनले नौ, अहमदले आठ र शर्माले चार विकेट लिएका छन् । बलिङले सम्हालिरहेको हैदराबादले आज कोलकतासँग कस्तो प्रदर्शन गर्ने हो त्यो हेर्न लायक हुनेछ ।

सोचेअनुरुप प्रदर्शन गर्न नसकेकाले आलोचित बनेका दिनेश कात्र्तिकले कप्तानी इयोन मोर्गनलाई सम्हालेपछि कोलकताले आज आफ्नो दोस्रो खेल खेल्दैछ । मिड–सिजन पछिका नयाँ कप्तान मोगर्नले सम्हालेपछिको पहिलो खेलमा मुम्बईसँग पराजित भइसकेकाले पनि आजको खेललाई लिएर कोलकता केही दबाबमा हुनेछ ।

आठ खेलमा चार जित र चार हार सहितको मिश्रित नतिजा निकालेको कोलकताको प्लेइङ एलेभेनमा खेलाडी छनोटमै मुख्य समस्या देखिएको छ । तर कप्तान परिवर्तनसँगै कोलकताको यस समस्याको समाधान हुने हामी अपेक्षा गर्न सक्छौं । शुभमन गिल र कप्तान इयोन मोर्गन कोलकताका लागि सर्वाधक रन बनाउने दुई खेलाडी हुन् ।

गिल आठ खेलमा दुई सय ७५ र समान खेलमा दुई सय १४ रन बनाएर मोर्गन आईपीएल खेलिरहेका छन् । यी दुईबाहेक नितेश राना एक सय ५५, राहुल त्रिपाठी एक सय ४४, प्याट कुमिन्स एक सय २६ र दिनेश कात्र्तिकले एक सय १२ रनको योगदान टोलीलाई दिएका छन् ।

जारी आईपीएलमा कोलकताका लागि सर्वाधिक विकेट लिन सफल खेलाडी हुन् वरुण चक्रवर्ती, शिवम मावी र आन्द्रे रसेल । यी तीन खेलाडी जारी आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीको क्रमशः २२औं, २८औं र २९औं स्थानमा छन् ।

ब्याटिङ चल्दा बलिङ चल्न नसक्नु कोलकताको मुख्य समस्या बनिरहेको छ । कोलकताका लागि विकेट लिन सफल आठ बलरमध्ये तीन खेलाडी मात्रै स्पिनर हुन् ।

फास्ट बलरको मात्रै भरमा आईपीएल खेलिरहेको कोलकतालाई कुशल स्पिनरको खाँचो भए पनि मिड–सिजन ट्रान्सफर विन्डोमा समेत उसले कुनै स्पिनरलाई अनुबन्ध गरेन । अघिल्लो खेलमा हैदराबादविरुद्ध सात विकेटको जित निकाले पनि आजको खेलमा कोलकताले कस्तो खेल्ने हो ? त्यो खेलको नतिजाले बताउनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ