Rumpum Advertisement

रातको समयमा जोगवनीबाट विराटनगरसम्म तस्करी, लाखौं मूल्य बराबरको अवैध कपडा बरामद

Neuro Revised Adv
Koshi Dashain ad
रातको समयमा जोगवनीबाट विराटनगरसम्म तस्करी, लाखौं मूल्य बराबरको अवैध कपडा बरामद

विराटनगर, २ कात्तिक । सशस्त्र र नेपाल प्रहरीले मोरङका अलगअलग स्थानबाट लाखौं मूल्य बराबरका तस्करीका कपडालगायतका अवैध सामान नियन्त्रणमा लिएको छ ।

रातको समयमा तस्करी भइरहेको अवस्थामा कपडा, मटर र मदिरा लगायतका सामान बरामद भएका हुन् । बरामद भएका सामान १३ लाख मूल्य बढीको छ ।

सशस्त्र प्रहरी वल बोर्डर आउट पोस्ट (बीओपी) बखरीको टोलीले नौ लाख २१ हजार तीन सय रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेका छ ।

सशस्त्र प्रहरी वल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले विराटनगर महानगरपालिका–१६ केसलियाबाट शनिबार राति ११ः३० बजेतिर लिएको कपडा नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उखुबारी हुँदै बोरामा प्याक गरेर भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा कपडा फेला परेको हो ।

सशस्त्र प्रहरीलाई देखेपछि तस्करीमा संलग्नहरु कपडाका बोरा फ्यालेर भागेको प्रहरीले बताएको छ । बीओपी बखरीले शुक्रबार १ लाख ३८ हजार बराबरको कुर्तासलवार, टप्स लगायतका अवैध कपडा प्याक नियन्त्रणमा लिएको हो ।

इस्लामपुर र मटेरुवा नाका हुँदै भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, खाद्यान्न र चाबी बनाउने मेसिन बरामद गरेको छ ।

‘रातको समयमा कपडा तस्करी हुने गरेको पाइयो,’ उनले भने, ‘सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई पनि छल्न सजिलो हुने भएकाले तस्करले राति बढी अवैध ओसारपसार गर्ने गरेका हुन् ।’

कोरोनाका कारण नेपाल–भारत सीमा नाका बन्द रहे पनि लुकिछिपी तस्करी चलाउने गरेको पाइएपछि नियन्त्रण गर्न सशस्त्रको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ ।

मदिरा र कपडा बरामद

नेपाल प्रहरीले पनि विराटनगरलगायत मोरङका विभिन्न स्थानबाट तस्करीका कपडा, मटर र मदिरा बरामद गरेको छ । विराटनगर–८ जय नेपाल चोकबाट को२ह ७६७१ नम्बरको अटो टेम्पोमा भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान कपडा बरामद गरेको हो ।

कुर्ता सलवार सेट एक सय ६५ पिस, कुर्ती सिंगल छ सय आठ पिस र बच्चाको कपडा २६ पिस नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार एक लाख ८० हजार मूल्य बढीको तस्करीको कपडासँगै टेम्पो र चालक विराटनगर–१६ दरैयाका २६ वर्षीय दीपक दासलाई पनि नियन्त्रणमा लिएको हो ।

विराटनगर–१७ मटेरुवास्थित चुलियादेवी साहको घर नजिकैबाट १८ बोरा अवैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र र नेपाल प्रहरीले तस्करीका कपडा लगायतका सामान र टेम्पो तथा चालकलाई आवश्यक कारवाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाएका छन् ।

मोरङको जहदा गाउँपालिका–१ धुनी मोडबाट को२ह ३७९२ नम्बरको अटो टेम्पोमा लोड गरेर लगिँदै गरेको अवस्थामा अवैध मदिरा नियन्त्रणमा लिएको छ । टेम्पो चेकजाँच गर्दा २० काटुन फोर स्टार बियर, एक काटुन गोल्डेन ओके, १० काटुन उमंग नामक मदिरा र दुई बोतल सिग्नेचर बरामद गरिएको जानकारी एसपी खड्काले दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ