Rumpum Advertisement

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदै

Neuro Revised Adv
Koshi Dashain ad
आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदै

विराटनगर, २ कात्तिक । आज (आइतबार) दसैंको दोस्रो दिन देवी ब्रह्मचारिणी स्वरुपको पूजा गरी मनाइँदैछ ।

देशभर रहेका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा विगतमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीडलाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण त्यो सम्भव भएन । नवरात्र भर दुर्गा स्वरुपका विभिन्न पीठहरुका भक्तजनको घुइँचो लाग्ने गरेको थियो । घरघरमै तथा विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा आन्तरिक रुपमा देवी ब्रह्मचारिणी स्वरुपको पूजा गरिँदैछ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ। नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ ।

मनुष्य जीवनको बाल्यावस्थापछिको दोस्रो उमेर साधना र ज्ञानको समय हो । सीप, साधना, तालिम र ज्ञानार्जन गर्न भगवती ब्रह्मचारिणीको उपासनाबाट सहज हुने गर्दछ । त्यस्तै सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ ।

ब्रह्मचारिणी देवीलाई सिद्धान्त, कर्तव्यपालना र भक्तिभावको प्रतीक पनि मान्ने गरिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनीसमेत भनी देवीभागवत लगायतका पुराण र अन्य धर्मग्रन्थहरूमा बताइएको छ ।

शास्त्रहरूमा उनको वदन र वर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल पुष्प धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रह्मस्वरूप सङ्केत गर्दछ भने कमण्डलुले वरदान र आशीर्वादको अर्थ सङ्केत गरेको छ ।

घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रह्मचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरूको वाचन श्रवणको क्रम पनि जारी रहने गर्दछ ।

यसअघि हिजो (शनिबार) घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको थियो। देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गर्ने गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा गर्ने हिन्दु पराम्परा रहेको छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गाभवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । आज काठमाडौं उपत्यकामा रहेका नौवटा शक्तिपीठमा पूजा भइरहेको छ । राजधानीका तलेजु भवानी, गुह्वेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा पूजा भइरहेको हो ।

यसैगरी राजधानी बाहिरका सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरूमा पूजाआजा भइरहेको छ ।

यता हिन्दुहरुको महान चाड वडादसैं हिजो (शनिबार) बाट सुरु भएपछि विराटनगरका बजार तथा पसल व्यस्त हुन थालेको छ । नयाँ कपडा, खसीको जोहो, र किनमेल गर्नेहरुको घुइँचो बजारमा लागेको छ । कोरोना महामारी झन् तीव्र रुपमा फैलन सक्नेभन्दै सरकारले घरमै बसेर दसैं मनाउन आग्रह गरे पनि बजारमा चहलपहल र भीड रोकिएको छैन ।

विराटनगरको काली मन्दीर, सन्सारी माइस्थान, धरानको दन्तकाली लगायत मन्दिरहरुमा आन्तरिक रुपमा दसैंको पूजाआजा भइरहेको छ । हिन्दुहरुको महान चाड दसैं तराइका मधेशीमूलका जातजातिले पनि दुर्गा पूजाका रुपमा भव्य तरिकाले मनाउने गरेका छन् । तराइमूलका नेपालीहरुमा पनि घटस्थापनादेखि कोजाग्रत पूर्णीमा सम्मको अवधिमा नवदुर्गाको विशेष पूजाअर्चना हुने गरको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ