Rumpum Advertisement

आईपीएलको ३४औं खेलमा दिल्ली र चेन्नई भिड्दै

Neuro Ad
आईपीएलको ३४औं खेलमा दिल्ली र चेन्नई भिड्दै

विराटनगर, १ कात्तिक । महेन्द्रसिंह धोनीले नेतृत्व गरिरहेको चेन्नई सुपर किंग्सले युवा कप्तान श्रेयस ऐयरको टोली, दिल्ली क्यापिटल्स्को आज सामना गर्दैछ । १३ औं संस्करणको आईपीएलको ३४ औं खेलमा यी दुई जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । आज बेलुका ७ः४५ बजे शारजाह क्रिकेट रंगशालामा हुने यी दुईबीचको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।

दुवै टोलीले पहिलो राउन्ड रोबिनका सात खेलपछि दोस्रो राउन्ड रोबिनमा समेत समान एक–एक खेल खेलिसकेका छन् । प्रारम्भिक सातमध्ये पाँच खेल जितेको दिल्लीले दोस्रो राउन्ड रोबिनको पहिलो खेलमा समेत जित निकालिसकेको छ । यता चेन्नई भने सुरुवाती सातमध्ये दुई खेलमा मात्रै विजयी भएको थियो । तर दोस्रो राउन्ड रोबिन लिगमा उसले आफ्नो विजयी यात्रा सुरु गरिसकेको छ ।

आईपीएल यात्रा मुम्बईलाई हराउँदै सुरु गरे पनि चेन्नईले दोस्रो जितका लागि पाँचौ खेल र तेस्रो जितका लागि आठौं खेलसम्म पर्खनुपरेको थियो । यस सिजन लयमा नदेखिएको चेन्नई आजको खेल जित्दै जारी प्रतियोगितामा पहिलो पटक लगातार दुई जित निकाल्न चाहन्छ । दिल्लीले भने प्रतियोगिताका सुरुवाती दुई खेलमा विजयी हुँदै आईपीएल यात्रा प्रारम्भ गरेको भए पनि तेस्रो र सातौं खेलमा भने पराजय भोगिसकेको छ । अघिल्लो संस्करणको आईपीएल क्वालिफायरबाट अघि बढ्न असमर्थ भएको दिल्ली यस सिजन उपाधि जित्ने दाउमा हुनेछ ।

अनुभवले पाका धोनीले युवा कप्तान ऐयरको टोलीलाई दोस्रो भेटमा के रोक्न सफल होलान् ? यसको जवाफ आजको खेलको नतिजाले दिनेछ ।

हेड–टु–हेड

आईपीएलमा हालसम्म यी दुईले एकअर्कावरुद्ध २२ पटक खेलिसकेका छन् । २२ खेलको नतिजा हेर्ने हो भने दिल्लीभन्दा चेन्नई निकै अघि छ । दिल्लीले चेन्नईविरुद्धका सात खेल मात्रै आफ्नो पक्षमा पार्न सफल भएको छ भने चेन्नईले दिल्लीसँगका १३ खेलमा बाजी मारेको छ । २०२० आईपीएलको यी दुईबीच भएको भेटको नतिजाबाहेक २०१८ र १९ आईपीएलमा यी दुईले खेलेका पाँच खेलेको नतिजाले पनि दिल्लीविरुद्ध चेन्नई हावी भएको देखिन्छ । पाँचमध्ये चेन्नईले चार खेल आफ्नो पक्षमा पारेको छ भने दिल्ली एक खेल मात्रै जितेको छ । जारी आईपीएलको पहिलो भेटमा चेन्नईलाई ४४ रनले पराजित गर्नुबाहेक दिल्लीले पछिल्लो पटक २०१८ आईपीएलको दोस्रो भेटमा चेन्नईलाई ३४ रनले पराजित गरेको थियो ।

शारजाहमा दिल्ली र चेन्नईको प्रदर्शन

आज खेल हुने शारजाह क्रिकेट रंगशालामा दिल्ली र चेन्नईमध्ये दिल्लीले बढी खेल खेलेको पनि छ र नतिजाको आधारमा सफल पनि छ । २०२० आईपीएलका दुई र २०१४ आईपीएलका दुई गरी चार खेल खेलिसकेको दिल्लीले तीनमा जित र एकमा हार भोगको छ । उता दिल्लीको आजको प्रतिद्वन्द्वी चेन्नईले भने शारजाहमा दुई खेल मात्रै खेलेको छ । जारी आईपीएलको आफ्नो दोस्रो खेल राजस्थानविरुद्ध यसै रंगशालामा खेलेको चेन्नई पराजित भएको थियो । २०१४ मा यसै रंगशालामा पहिलो पटक खेलेको चेन्नईले हैदरावादविरुद्ध पाँच विकेटको जित आत्मसाथ गरेको थियो ।

शारजाह क्रिकेट रंगशालामा एकअर्काविरुद्ध पहिलो पटक खेल्न लागेका यी दुवै टोली विपक्षी टिमलाई हराउँदै महत्वपूर्ण दुई अंक बटुल्न र इतिहास रच्न चाहन्छन् । तर दिल्ली र चेन्नईमध्ये शारजाहमा को सफल हुने हो ? यसका लागि आजको खेलको नतिजा हामीले पखर्नु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ