Rumpum Advertisement

सतनारान

Neuro Revised Adv
Koshi Dashain ad
सतनारान
पेशल आचार्य

यसपटक पनि सतनारानले श्यामबाबुलाई तोकिएको अधिया बुझाउन सकेन ।

ऊ मालिकको घरतर्फ जाँदै छ । घर अगाडिको पैनी नै पैनी हिँडेर ऊ मूल नहरमा निस्कन्छ । नहरमा एउटा सानोसानो बजारजस्तै मानिसहरूको भीड लागेको छ । दुईतिरका बाटाहरू आएर नहरको पुलैमा ठोकिन्छन् । त्यहाँ एउटा गुम्तीमा सानो किराना पसल राखिएको छ । अर्को पसल उत्तरतिर फर्केको घरमा छ । त्यो घर काठको बार्दलीवाला छ जहाँ औषधिको सानो पसल छ । कहिलेकाहीँ खोप कार्यक्रम हुँदा त्यहीँबाट खोपका सुविधाहरू दिइन्छ । त्यसैले मानिसहरू त्यो दबाइ घरमा कहिले कम हुँदैनन् पनि ।

निकै मानिसहरू त्यहाँ जम्मा भएका रहेछन् । केटाकेटी, अधबैँसे र कामकाजी पनि । सतनारानले देख्यो । भिखरु धान बेच्न आएको रहेछ । उसले दुई मन तीस किलो धान बेचेर दोकानबाट तीन किलो चिनी, एक लिटर खाने धारा तेल, पन्ध्र रुपैयाँको मसला, दुई पोका वाइवाइ चाउचाउ, एकपोका आयो नुन र दुई पुरिया वलवान् छाप सुर्ती किन्यो । महादेवा क्याराम खेल्दैछ–ससाना केटाहरूसँग । रतिदेव डोरी बाटिरहेछ । उसकी आमाचाहिँ नातिनीका टाउकामा भएका लिखा टिपिरहिछे । कारी काका मजाले चप्पलमा बसेर सुर्ती माडिरहेका छन् ।

कारी महतो सतनारानका गाउँले काका हुन् । तिनी सो गाउँका परिश्रमी किसान हुन् । वर्षको एक–डेढ सय मन धान भित्र्याउँछन् । उनका दुई भाइ छोराहरू थिए । अहिले दुवै आआफ्नो अंश भाग लिएर छुट्टिसकेका छन् । जेठो बद्री र कान्छो वलराम बाबुजस्तै आफ्नै खेती किसानीमा रमाएका छन् ।

सतनारानले सम्झ्यो । कारी काका जीवितै भएकाले उसका दुवै छोराहरूले हलोकोदालो गरेर समयमै आफूलाई किसानीमा जमाए । अहिले उनीहरू आफैँ पनि खान पुर्‍याएर मंसिरमा असी–नब्बे मन धानै फलाउँछन् । अझ त्यसमा गेहूँ र तोरी/मुसुरीको हिसाबै छैन । बद्रीकी घरवाली तरकारी लगाउँन र बेचबिखनमा असाध्यै सिपालु छे । कान्छो बलराम जेठो दाइ बद्रीभन्दा अलिअलि अल्छी हो तर उसले पनि जब सादीवादी गरिलियो तब उसको पनि खेतीको राम्रै मेलो लागेको छ ।

सतनारानले आफू र कारी काकाको जीवनलाई तुलना ग¥यो । कारी काकाजस्तै मिहिनेती थिए– उसका बाबु । उनको नाम थियो किसनदेवा । तिनी सप्तरीको बरमझियाबाट सुनसरीको बबियाझोरामा बसाइँ आएका थिए । सोर सालको रौदीमा तिनी सुनसरी आए पनि उनका लागि त्यो ठाउँ बालुवासरी भएथ्यो । हम्मेहम्मे परेको थियो तिनलाई परिवारको गाडा गुडाउँन । त्यसबेला तराईमा औलोको खूब डर थियो । मानिसहरू मोरङ र सुनसरीलाई औलिया ठाउँ भन्ने गर्थे । एक रूपैयाँको अन्नले बाँचुन्जेलसम्म खान–लाउन र मरेपछि किरिया गर्न पनि पुग्थ्यो भन्थे– बूढापाकाहरू । सर्प र बिच्छीका बिगबिगीले मानिसहरू तराईलाई त्राहीत्राही भन्ने गर्थे । हुन पनि त्यही त्राहीत्राहीबाट तराई भएको हो भन्थे– उसबेला अलिअलि जानेबुझेका मानिसहरू ।

किसनदेवा बबिया आउँदा उसँग दुई छोरा र एउटी स्वास्नीबाहेक अरू केही पनि थिएनन् । उसले आएकै साल एक हल साना बहर किन्यो । त्यही साल सिम्पाने केदारको खेती बटियामा गर्‍यो । उसले किनेका बहर अर्को सालदेखि दिन बिराएरै भए पनि जोत्नेखालका भए । उसका छोराहरू पनि बढ्दै गए । बहरलाई छोराहरूले नै दाए । सधाए । त्यसो भएपछि उसलाई अब हलो समाउनु पर्ने झन्झट छोराहरूमा सरेकाले केही होलो भयो ।

मंसिरमा तराईका खलियानमा घुमेका गोरुझैँ घुम्दै जाँदा समय पनि आफ्नै रफ्तारमा बित्दै गयो । किसनदेवा असाध्यै मिजासिलो थियो । जातको ऊ मेहता हो । तराईमा कोइरीलाई मेहता भनिन्छ । उसको जमानामा उनीहरूलाई कोइरी नै भन्थे– मानिसहरू । उसलाई पनि कोइरी भनेको उतिसारो चित्त दुख्दैनथ्यो । एकप्रकारले राम्रै लाग्थ्यो । पहिचान पनि र जातीय संस्कारको भेद पनि । उसले आफ्ना केटाकेटीहरूलाई पढाउनु पर्छ । तिनीहरू पढेर असल र ठूला हुन्छन् भन्ने पनि ज्ञान सँगालेको थिएन । हुन त त्यसबेला तराईमा भएको पन्ध्र सालको संसदीय चुनावले मानिसहरूमा थोरै चेतना ल्याएको थियो तर त्यो चेतना किसनदेवाका लागि भने आफ्नो हुन सकेन ।

किसनदेवा सबै कुरामा ठिक थियो तर उसको गाँजा खाने बानी नराम्रो थियो । सप्तरीमा छँदा गाँजा खाँदैनथ्यो । कहिलेकाहीँ यसो फागुतागुमा भाङ् र शिवरात्रीमा घोट्टा भने पिएको थियो । गाँजा खाने बानी बबिया आएपछि उसले सिकेको हो, साथीभाइको सङ्गगतमा परेर । सुवालाल उसको कान्छो भाइ थियो । त्यो मस्तारामखालको मानिस थियो । उसले किसनदेवालाई गाँजा खान सिकाएको हो । अलिपछि सुवालाल गाँजा धेरै भएरै मर्‍यो पनि । त्यसपछि किसनदेवालाई पनि आफू मरिन्छ कि भन्ने डरले जोडसँग च्याप्यो । लागेको बानी भएकाले उसले कम त गर्‍यो तर चटक्कै छाड्नचाहिँ सकेन ।

अर्को वर्ष किसनदेवा पनि सुवालालकै बाटाको पथिक भयो । अर्थात् किसनदेवा मर्‍यो । किसनदेवा मर्दा सतनारान केवल पन्धै्र वर्षको थियो तर उसले आफ्नो जात बिरादरीका सबै कुराहरू सिकेको हुनाले आमाको शोकलाई बढ्न दिएन । यसरी सतनारानका काँधमा पन्ध्रै वर्षमा अभिभावकत्व ग्रहण गर्ने परिस्थिति आएको थियो । उसले बाबुको मृत्युको पीडालाई एक प्रकारले बिस्तारै–बिस्तारै पचायो ।

गरिबका छोराहरू सुरूमा चरुवा हुन्छन् र उमेर छिप्पिँदै गएपछि हरूवा हुन्छन् । ऊ पनि चरुवाबाट हरूवामा बढुवा भयो । उता बहरहरू पनि क्रमशः छक्कड हुँदै पुर भए । सतनारानको आफ्नो भन्नु पन्ध्र कठ्ठा जग्गा मात्रै थियो । त्यो पनि बाबुले थुकतेल गरी जोडेको ।

उसले बाबु मरेको अर्को साल बिहे ग¥यो । उसको ससुराली सुनसरीकै पूर्वकुशाहा हो । उसले बिहे गरेकी केटीले वलैले आफ्नो नाममात्र लेख्न सक्थी । उसले त्यसको पढाइसढाइ केही पनि हेरेन । केवल खेतीपाती र घरधन्दा गर्नसक्ने घरवाली चाहिएकाले उसले आफैंले हेरेर बिहे ग¥यो । बिहेको भोजमा उसका छिमेकीहरू अलिअलि रिसाए पनि । किनकि उसले भनेजसरी तिनीहरूलाई भोज खुवाउन सकेको थिएन । उसको मनमा बाबु भएको भए राम्ररी भोजभोजाइन गर्ने थिएँ भन्ने लागेको थियो । आमा विधवा भएकीले केही भन्नसक्ने स्थितिमा थिइनन् । भएको एउटा दाजु पहिले नै भिन्न भइसकेको थियो । भाइबहिनी सानै थिए । सतनारानलाई कस्ताकस्तो खल्लो लाग्यो ।

अर्को साल सतनारानको धान उधुमै फल्यो । बिहेमा उसलाई ससुरालीले एउटा पाडी दिएका थिए । त्यो बिहे भएकै महिनामा बाली भयो । बहर र पाडीको मलले उसले पन्ध्र कठ्ठा खेत मल्यो । पानी पनि त्यो साल राम्रै पर्‍यो । भद्वा वर्षाले सतनारानलाई मजाले नै साथ दियो । उसले मंसिरमा आफ्ना जम्मै कुलकुटुम्बलाई बोलाएर फेरि सादीको बाँकी भोज ख्वायो । त्यसबेलामा उसले तिनीहरूलाई बढ्ता महत्व दिएको थियो जो उसको सादी भएको साल भोज खान पाएनौं भनेर च्याँठ्ठिएका थिए । यसपटक भने तिनीहरूको रिस र इख मर्ने गरी सतनारानले भोज खुवायो । टन्नै ।

गाउँ हो । काम गरे पनि कुरा गरिन्छ । काम नगरे पनि कुरा काटिन्छ । यस्तो लाग्छ, गाउँ कुरा गर्नैका लागि बनेको हो । सतनारानको मनले त्यसै भन्यो । उसलाई कतिले त यसरी जिस्क्याए –‘रे ! सतनारान तोहोर पोहोरै साल सादी भेल रहे । केहेन अख्नी भोजभोजाइन ?’

‘तोरा सम्त्ती बढ भेइलो । ज्वूइज खिला न भोजैभोज । तखिनके मरल साइस अख्नि आइल आँस ।’ कारी काकाले त बीचोबीच मुहैबाट सो पनि भने हाले ।

सहने बानी परेको थियो– सतनारानलाई । उसले केही भनेन । कहिलेकाहीँ हिँउदमा घुर ताप्दा भने बिस्तारी आफूले मनले खाएका मानिसहरूलाई भन्ने गथ्र्यो– ‘सम्त्ती बैढ भ्याके भोज नही दियल वाई । तखिनका पैसातैसा नै रहे तब भोज नहिदियल सकल । यिम्री धानो भेले तब ख्वायल भोज । हमर गल्ती कि छे ? सप्टा लोक हम्रे गाइर देइछे । हम्रा निक नै लागल ।’

यसरी भन्दा कसैले उसको भनाइमा हाँ मा हाँ मिलाए । उसलाई भने भोज नदिएको भए पनि हुन्थ्योजस्तो लाग्यो । तर कारी उनै काकाले मुखै फोरेर भनेका थिए– ‘आफन्तहरूलाई भोज खुवाएन भने ती कुनै बेला पनि काम लाग्ने छैनन् ।’ विचरा सतनारान भर्खरभर्खर व्यवहारमा परेकाले ‘हो’ भन्यो । खुवायो । यसै त उसलाई यसपटकको भोजमा पनि लगानी गर्नुपरेको थियो । उसले तीन हजारको त बजारबाट सामानतामान नै खरिद गर्‍यो । त्यसको हिसाबकिताबै छैन– जो घरबाट निकालिएको थियो । चामल, गेहूँ, रहरको दाल आदि ।

जे होस् सतनारानले भोज खिलायो । यसपटकको भोजमा पनि मानिसहरूले अलिअलि नाकनिक गरे । तर पोहार सालजस्तो होइन ।

हिउँदका साना दिनहरू बितेर बर्खा लाग्यो । सतनारान फेरि अब हलो समाउन थाल्यो ।

०००

अर्को साल सतनारानकी छोरी जन्मिई । त्यसपछि क्रमशः दुईटा छोराहरू भए । अब उसलाई राम्रै गरी व्यवहारले छोप्यो ।

उसको बिहे गरेको तीन वर्षमा कान्छो भाइको पनि उसले रिनपान गरी बिहे गरिदियो । कान्छाको ससुराली मध्यहर्षाही भन्ने गाउँमा थियो । कान्छाकी केटी अगि रोगीरोगी खालकी थिई । सादीको बेलामा त्यो कुरा सतनारानलाई थाहा भएन । उसले गाउँकै आफ्ना दियादीहरूको विश्वासमा कान्छाकी केटी खोजेको थियो । त्यहाँ उसलाई उसको सोझोपनको फाइदा उठाएर ठगिएछ । सतनारानले त्यो कुरा थाहा पाएपछि उसलाई भित्रैदेखि गाउँलेहरूसँग रिस उठ्यो तर कसैका सामु पनि पोखेन । उसलाई रिस र खैनीको टर्रो स्वाद एउटै लाग्यो । बिस्तारी पैनीमा थुकिदियो ।

अर्को साल सतनारानलाई खानै पुगेन । उसले आफ्नो गाउँमा अधियामा खेत दिनसक्ने मानिसको नाम सम्झ्यो । कोही पनि उसको मनमा आएर टक्क अड्किएनन् । उसले उत्तरतिर भएको पहाडियाहरूको टोलका मानिसहरूलाई पनि सम्झ्यो । त्यहाँ पनि निकै थिए– जग्गावालाहरू । ती सबै आफैं आफ्ना खेत खनजोत गर्थे । उसले आफूले मनले खाएकाहरूलाई गएर भेट्यो । त्यसमा उसले श्यामबाबु, प्रेमप्रसाद, खेमराज, नन्दराज, टेकनाथ, यादव, नारान खर्दारलगायत सबैसँग बातचित गर्‍यो । कसैले अहिले खेत अधियामा नदिने, कसैले अर्को साल छोरीको बिहे भएकाले जग्गा बिक्री गर्नुपर्ने र कसैका छोराहरू जागिरमा काठमाण्डू बस्ने भएकाले अधियामा होइन ठेक्कामा दिने कुरा गरेर उसलाई त्यसै फर्काइदिए । यावत् स्वार्थी भनाइका साथ उसलाई खेती गर्न नदिने भएको कुरा सबैले अजमाएपछि ऊ एकछिन त बेसुरो बन्यो । अन्तमा उसले श्यामबाबुको तीन बिगाहा खेत कमाउन पायो । उसलाई धानको पूरै अधिया र गेहूँचाहिँ उसले जति फलाए पनि दुचार मन दिने सर्तमा खेत दिइयो ।

जुन दिन श्यामबाबुले उसलाई खेत दिने भएका थिए । त्यो दिन सतनारान असाध्यै खुसी भयो । उसले बिहीबारे हाटबाट घरमा जिलेबी किनेर ल्यायो । सबैलाई खुवायो । उसले भन्यो– ‘यो खेत कमाउन पाएकोमा खुसियाली हो । अब अर्को सालदेखि हामी सबै जहान मिलेर खूब मिहिनेत गर्नुपर्छ ।’ (यी जिलेबी खुसीयाली के हई । अब हम् सब मिल्के खेतीखोला करब, बहुत धान उब्जाइब तब अपनके बढियाँ हैत) ।

सबै जहानले हाँ मा हाँ मिलाए ।

उसकी घरवाली सीता धेरै खुसी भई । उसले गाउँकै डिहीबार भगवतीलाई सिरुवा मेलाताका दुईटा फूलघोडा चढाउने भनेर भाकल पनि गरी ।

सतनारानका बहरहरू जवान भए अब । त्यही साल भैंसीको थोरे पनि ब्यायो । उसले नहरवाला पसलमा दूध उठौनामा दिइहाल्यो । उसले उधुमै गरेर सकेजति मिहिनेत ग¥यो । केही समय त उसलाई तकदिरले पनि साथ दियो । उसका ससाना भुराहरू पनि अब छेउकै स्कुलमा जान थाले । समय सुल्टो घडीको सुई चलेझैँ बित्दै गयो ।

होचो कदको थियो– सतनारान । कालो वर्णको लगभग कृष्ण नै भने पनि हुने उसलाई । घरको चौकोठभित्र देवीघर बनाएको थियो उसले । ऊ माछामासु केही छुँदैनथ्यो । घाँटीमा कन्ठी बाँधेको थियो । चोखोनितो र आफ्नो पुर्खाको धर्मलाई उसले पालना गरेको थियो । उसको शिलस्वभावअनुसार उसका बुबा किसनदेवाले त्यसबेलै उसको नाम राखेका थिए– सत्य नारायण । तर यो नामलाई तिनीहरूको ठेटी मिसिएको मैथिली भाषाले ‘सतनारान’ भनेको थियो । सतनारानलाई आफ्नो नाम ‘सत्य नारायण’ भन्ने पनि थाहा थिएन । नामसँग उसलाई के मतलब ! उसलाई त परिवार पाल्नुपर्ने चटारोले कामसँग मात्र मतलब थियो । यतिचाहिँ सत्य हो कि ऊ ‘सत्य’ कुरालाई एकरत्ति छोड्दैनथ्यो ।

तिनीहरूको डिहीबार्नीलाई मान्ने चलन थियो । उसको बाबुकै पालादेखि उनीहरू सलहेश महाराज र डिहीबार देवीलाई धेरै श्रद्धा गर्थे । जबजब उसलाई व्यक्तिगत आपत्विपत्को महसुस हुन्थ्यो ऊ डिहीबार देवीको सामु पस्रेर केही न केही दुःखपुकारा गरिहाल्थ्यो । त्यसैले उसकी घरवाली उसको प्रभाव र अह्रोटमा परेर धार्मिक हुन बानी परेकी थिई । गरिबीको जाँतोलाई सतनारान र सीताले पालैपालो गरी घुमाए । उनीहरू अब क्रमशः अधबैँसे हुँदै जान थाले ।

छिमेकी कारी काका अलिअलि चेतना भएकाले उनले सानो छोरो बलरामलाई मात्रै भए पनि पढाए । त्यो बलाहा स्कुलमा पढ्थ्यो । त्यहाँ उसले दस कक्षासम्म पढ्यो । त्यसपछि त्यो साथीभाइको लहैलहैमा लागेर केही वर्ष दिल्ली र पञ्जाब गयो । उसको पढाइ छुट्यो । कारी काका वलराम दिल्ली जाँदा निकै रिसाए तर कान्छाले निकै पैसा कमाएर ल्याएकाले तिनले सतेरझोरा फाँटमा दस कठ्ठा जमिन थपे ।

सतनारान मात्र सप्तरीमा जन्मेको हो । उसका भाइबहिनी सबै त्यही बबियामा जन्मेका हुन् । हुन त सतनारानको एउटा दाजु पनि छ तर त्यो पहिलेदेखि नै बाबुसँग भिन्न भएर छिमेकमै बसेको छ । ऊ सतनारानकी जेठी आमापट्टिको दाजु हो । ऊ खेतीपाती केही पनि गर्दैन । जब चाइनाले सुनसरीमा नहर बनायो त्यसैबेलादेखि उसले नहरको पाले काम पाएकाले खेतीपाती सबै अरूलाई जिम्मा लगाएर आफू जागिरमा रमायो ।

०००

सतनारान फेरि यथार्थमा आयो । उसले यतिबेर आफूलाई सम्झनामा डुबाएको रहेछ ।

खैनी किन्न ऊ नहरवाला पसलमा गएको थियो । उसलाई आज बाबुको सम्झना आयो । उसको बाबु पनि यसरी नै खान पुगेको धान उबरपाबरमा बेच्ने गथ्र्यो । भिखरुले धान बेचेको देखेर उसको भित्री मनले भन्यो पनि– ‘आफूलाई पनि यसरी धान बेच्ने निकै मन छ तर के गर्नु ? यसपालि त मालिकको अधिया पनि तिर्न नपुग्लाजस्तो छ ।’

निकैबेर विनाकाममा सतनारान अल्मलियो र घर फर्कियो ।

साँझमा उसले देवीको पूजा गर्‍यो । उसको भित्री मनले भन्यो– ‘अब यहाँबाट लौकहीतिर बसाइँ सर्नुपर्छ ।’ उसका कारी काकाका ससुराली लौकहीमा थिए । त्यहाँ जोत्ने खेत र घडेरी पनि सस्तो थियो । उसले घरबाली सीतासँग सल्लाह गर्‍यो । उसले स्वीकृति दिई । भाइ कान्छाले अलिअलि विरोध जनायो । बहिनीको त्यही साल बिहे गरी लौकही नै दिएको थियो । उसलाई बहिनी ज्वाइँ रवियाले लौकहीमा जानका लागि खूब करकर गरेको थियो ।

वैशाखमा सतनारान लौकही बसाइँ सर्‍यो ।

त्यहाँ उसले बबियावाला पन्ध्र कठ्ठा जग्गा बेचेर दुई बिगाहा धनहर खेत किन्यो । दुई कठ्ठा घडेरीमा आफ्ना घरमन्दिर सबै सजायो । यसपाला उसकी बुहारी भारी जिउकी थिई । आमा लगभग असी काट्न लागेकी थिई । उसका अनुहारमा पानी नपरेर गर्भे हिलो सुकेको खेतजस्ता मुजा परेका धर्साहरू थिए । कपाल तराईबाटै देखिने धुमिल छायामा हाँसेका हिमालका हिउँझैँ सेताम्मे भैसकेका थिए ।

सतनारान आफैं पनि अब पचास लागिसकेको छ । यसपटक उसलाई नयाँ गाम नयाँ ठाम अनौठो अनुभव हुँदैछ । उसले पहिलाको जस्तो जोसजाँगर देखाउन त सकेको छैन तर आफ्नो जेठो छोरो र भाइको वल मद्दतले यसपटक राम्ररी खेती लगाउने कल्पना गरेको थियो । लगायो पनि ।

यस पटकको साउन बौलाएर बर्सियो । केके कसोकसो भयो । मानिसहरू जलवायु परिवर्तनका कुरा गर्थे तर ऊ त्यस्ता कुरा केही बुझ्दैनथ्यो । उसलाई भने खालि रोपाइँ र खाउरकै चिन्ता थियो । उसले यसपालि निकै करियाकामत धान लगाएको थियो । त्यसै भेगबाट उसका एकजना चिनेका नेता मधेसी जनाधिकार फोरमबाट समानुपातिकमा सभासद पनि भएका थिए । ऊ तिनबाट यदाकदा आर्थिक सहयोग पाउँथ्यो । त्यसैले ऊ लौकही आएकोमा खुसी नै थियो ।

जसोतसो साउन पनि गयो । सबै किसानहरू खुसी भए ।

देशमा परिवर्तनका साथ भर्खर माओवादीको सरकार बनेको थियो । रेडियो र टेलिभिजनले कोसीको बाढी र फुट्न लागेको बाँधका बारेमा अटुटरूपमा समाचार दिइरहेका थिए । भान्टाबारीदेखि पश्चिम कुशाहाहुँदै राजावाससम्मका स्परहरूमा कोसीले धक्का दिँदै गएकाले इनरुवादेखि भान्टाबारीसम्मका मानिसको आँखामा निँद थिएन । मानिसहरू रातमा सुत्दैनथे ।

भदौ दुई गते देख्दादेख्दै कोसी हान्ने अर्नाझैँ गर्दै लौकहीदेखि भान्टाबारीसम्म छताछुल्ल हुने गरी फुट्यो । दिउँसै भए पनि निकै गाउँ बगे । रातकोजस्तो क्षति हुन पाएन भनेर रेडियोले फलाके पनि धेरैका परिवारै बगे । खेत बग्यो । भकारी बग्यो । रोपो बग्यो । डिहीबार र सलहेशका थान बगे । मालजाल बगे । बूढाबूढी र केटाकेटीको कन्तबिजोग भयो । त्यसै बाढीले सतनारानकी बूढी आमा पनि भनेन । भारी जिउकी भाइबुहारी पनि भनेन । हुर्केका छोराछोरी पनि भनेन । सीता पनि बगी । सतनारानको ‘सत’ र ‘नारान’ सबै बगे । यो लामो जीवनमा सम्झना लिनका लागि खाली एउटा अभागी सतनारान मात्र बँच्यो ।

भिखनका सबै बगे । मात्र एउटा बाख्रो बाँचेछ । ललन काकाका अठारजना सबै बाढीमा स्वाहा ! पानवालाका माइबाप बाँचे, छोराछोरी गुम भए । सुरेन्दरका ऊ आफूबाहेक सबै बालुवामा भेटिए– उत्ताना परेका । फुसका घर सबै बगे । जिलेवीका रूख सबै ढले । बाँसबिटीका जरै उखेलिए । पिच सडक चरक्चरक् गर्दे चिरा परे । धेरै थोक बगे । अपार जनधनको क्षति भयो । जति नोक्सान भयो भनियो त्योभन्दा पनि धेरै भावना र सम्झनाका सन्दर्भमा नोक्सानी भयो । कोसीको कहरमा सतनारानको कहर जोडियो । अब के गर्ने भन्ने उसले सोच्नै सकेन । ऊ छक्क पर्‍यो ।

केराको दाम्चाको नाउ बनाएर सतनारान आफ्नी घरबाली सीता, आमा कौशल्या र छोराछोरी देवु र ममतालाई कराईकराई समुद्रजस्तै कोसीको बाढीमा खोजिरहेको थियो– ‘रे सीता ! मैया गे ! देवा हो देवा ! रे ! ममता, कै ठाम छे तुँ सब ? क्याला नै बोलैछी ? सीता !, मैया गे !, देवा !, ममता !, अइठाम् हम असगरे कि करब ? चारैदिसा प्यानैपाइन छे । तँु सब कुछो नै बोलैछी ।’

दिनभरि त्यसैगरी सतनारानले आफ्ना परिवारका सदस्यहरूलाई खोज्यो । खोजिरह्यो । भोलिपल्ट सदरमुकामको इनरुवा अस्पताल पुर्‍याउँदा डाक्टरहरूले उसलाई जाँच पडताल गरेपछि रिपोर्टमा लेखे– ‘म्याड डिजिज फर कज अफ डिप स्याडो ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ