Rumpum Advertisement

उल्लासविहीन दशैँ, सुनसान छन् मोरङका शक्तिपीठ

Neuro Revised Adv
Koshi Dashain ad
उल्लासविहीन दशैँ, सुनसान छन् मोरङका शक्तिपीठ

विराटनगर, १ कात्तिक । बडादशैँ सुरु भए पनि प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शक्तिपीठ एवं धार्मिक स्थलहरु सुनसान बनेका छन् ।

दशैँको पहिलो दिन आज (शनिबार) घटस्थापना हो । विगत वर्षहरुमा घरघरमा र शक्तिपीठहरुमा जमरा राखेर घटस्थापना हर्षोल्लासका साथ मनाइँदै आएको थियो । तर यस वर्ष विगतझैँ कुनै पनि रौनक छैन । सामूहिक जमरा राख्ने कार्यक्रम हुन सकेनन् । भक्तजनको घुइँचो लाग्ने मठमन्दिर तथा शक्तिपीठहरु सुनसान छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यस वर्ष दशैँ उल्लासविहीन बन्ने अवस्था आएको छ । चाडपर्वको अनुभूति हुनेखालका कुनै पनि गतिविधि हुन सकेका छैनन् । दशैँमा विशेष हर्कबढाई नहुने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण प्रशासनले सामूहिक भेला हुने सम्पूर्ण गतिविधिमा रोक लगाएको छ । विशेष गरी घटस्थापनादेखि विशेष चहलपहल हुने र श्रद्धालु भक्तजनको अत्याधिक भीड लाग्ने शक्तिपीठहरु सुनसान हुँदा दशैँ खल्लो बन्ने पक्का छ । पुजारीलाई नित्यकर्म गर्न बाहेक मन्दिरमा अन्य व्यक्तिको प्रवेश पूर्णतया बन्द गरिएको छ ।

मोरङ प्रशासनले नियमित पूजापाठबाहेक मानिसहरु जम्मा हुने गरी उत्सव, भजन किर्तन बलि लगायतका कार्य नगर्न भनिसकेको छ । चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले मानिसहरु जम्मा हुने गरीका उत्सव लगायतका कार्यक्रम नगर्न निर्देशन जारी गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

स्वागतद्धार बनाउँदै विगतमा दुर्गा मन्दिरहरु साजसजावट गरी पूजापाठको लागि तयारी अवस्थामा राख्ने गरिए पनि यस वर्ष कोरोना कहरले सबै स्थगित भएका छन् । विराटनगरको मेन रोडमा रहेको काली मन्दिर, रानी मिल्स एरियामा रहेको माँ दुर्गा मन्दिर लगायत विभिन्न स्थानमा मूर्ति बनाएर सामूहिक रुपमा गरिँदै आएका दुर्गा पूजा गर्न प्रशासनले रोक लगाएको छ ।

हरेक वर्ष घटस्थापनादेखि विराटनगरको काली मन्दिरमा दशैँ महोत्सव लाग्ने गर्दथ्यो । दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि घटस्थापनादेखि काली मन्दिरहरुमा सुरु हुने नौरथा यस वर्ष रोकिएको छ । कोरोनाका कारण दशैँ महोत्सव नगर्ने निर्णय व्यवस्थापन समितिले गरेको छ ।

मन्दिरमा पुजारीले पूजापाठ गर्ने बाहेक अन्यको उपस्थिति नहुने काली मन्दिर व्यवस्थापन समितिका सदस्य गोपालप्रसाद गुप्ताले बताए । उनका अनुसार मन्दिर परिसरमा पशुपंक्षीको बलिको कार्यक्रमहरुमा समेत रोक लगाइएको छ । यहाँ घटस्थापनाको दिन जमरा राखेर नवरात्री भरी दुर्गा माताको पूजाआजा गरिँदै आएको थियो । तर सर्वसाधारणको भीडभाड हुँदा कोरोना फैलने भएकाले रोक लगाइएको छ ।

यसपटक मन्दिर पुग्ने भक्तजनले भौतिक दूरी कायम गर्दै भुँइतलाबाटै देवीको स्मरणगर्दै पूजापाठ गरी फर्किनुपर्ने सदस्य गुप्ताले बताए । मन्दिरले आन्तरिकरुपमा भने दशैँको धार्मिक विधि विधान अनुसारका सबै कार्यक्रमहरु आयोजना गर्ने मुख्य पुजारी विष्णुहरि दाहालले बताए ।

मोरङ रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा प्रदेश सरकारले प्रदेश स्तरीय फूलपाती बढाईका कार्यक्रम गत वर्षदेखि सुरु गरेको थियो । घटस्थापनादेखि दैनिक हजारौंको सहभागिता रहने मन्दिरमा यो वर्ष भीडभाड हुने छैन । स्वास्थ्य सावधानी अपनाएर आउनेलाई मात्र मन्दिर दर्शनका लागि प्रवेश दिइने व्यवस्थापन समिति अध्यक्ष सञ्जीवकुमार श्रेष्ठले बताए ।

उनले भने,‘ दर्शन गर्न आउनेले सामाजिक दूरी कायम गर्नुपर्ने छ ।’ पालो गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताए । उनका अनुसार विगत वर्षहरुको तुलनामा दर्शन गर्न आउनेको संख्या अहिले नगन्य छ ।

फूलपाती बढाईका लागि प्रदेश सरकारसँग छलफल भइरहेको उनले बताए । हरेक वर्ष गरिँदै आएको १००८ कलश यात्रा, झाँकी र भजन शन्ध्या नहुने व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए । मन्दिर र सेनाको टोलीबाहेक सर्वसाधारणले दिने पशुपंक्षी बलिमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ ।

सबै जसो मठ मन्दिर एवं शक्तिपीठमा सामूहिक जमरा राख्ने, सामूहिक रुपमा दुर्गा माताको दर्शन, बिहान र बेलुकी गरिने भजन किर्तन, प्रर्साद चढाउने, वितरण गर्ने, टीका लगाउने, मन्दिरमा पण्डितद्वारा गरिने पाठ, बोका, हाँस तथा अन्य कुनै पनि जीवजन्तुका बलि, महिलाहरुद्वारा मातालाई खुइचा चढाउने तथा जमरा बितरण गरिने जस्ता कार्यक्रमहरु नहुने भएका छन् । साधारण पूजा र आरती बाहेक कुनै पनि प्रकारका विशेष कार्यक्रमहरु नगर्ने निर्णय भएको मन्दिर व्यवस्थापन समितिहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ